हलेसी तुवाचुङ नगरपालिकाका सम्भावना र चुनौती

इबन राई

हलेसी तुवाचुङ नगरपालिकाले जनप्रतिनिधि पाएको वर्ष दिन पूरा भइसकेको छ । ११ वडा समेटेर बनेको नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले वर्ष दिनमा अल्पकालीन र दीर्घकालीन काम थालेका छन् । अल्पकालीनमध्ये कतिपय काम पूरा भइसकेका छन् । कतिपय काम हुँदै छन् । दीर्घकालीन कामसमेत तीव्र गतिमा हुँदै छ । विशिष्ट विशेषता बोकेको हलेसी तुवाचुङ नगरपालिकामा वर्ष दिनभित्र पूरा भएका अल्पकालीन काम र दीर्घकालीन योजनाबारे आलेखमा समेट्ने प्रयास गरेको छु । नगरपालिकाले गरेका सबै काम र योजना आलेखमा समेट्न नसके पनि प्रतिनिधिमूलक काम र योजनाबारे चर्चा गर्ने प्रयत्न गरेको छु ।

सर्वसुलभ स्वास्थ्यसेवा

स्वास्थ्यभन्दा ठूलो सम्पत्ति अरू हुनै सक्दैन । बाँच्न पाए हाँस्न सकिन्छ भन्ने भनाइमा त्यत्तिकै सत्यता छ । उक्त भनाइ दृष्टिगत गर्दै नगरपालिकाले स्वास्थ्य सेवामा विशेष ध्यान दिएको छ । नगरपालिकाका ११ वटै वडामा बर्थिङ सेन्टर स्थापना गरिएका छन् । स्थानीय स्रोत, साधन र जनशक्ति परिचालन गरेर नगरपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्ने हलेसी–तुवाचुङ नगरपालिका नेपालकै पहिलो र नमुना नगरपालिका बनेको छ ।

बर्थिङ सेन्टर स्थापनापछि सम्बन्धित वडाका सुत्केरीले अकालमा ज्यान गुमाउनुपर्ने छैन । जहाँ नियमित गर्भजाँच र सुरक्षित प्रसूति गराइन्छ । आर्थिक वर्ष २०७४/०७५ मा नगरपालिका ११ वडामा २ सय ९४ जनाको प्रसूति गराइएको थियो । जसमध्ये हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ मा १, वडा नम्बर २ मा १७, वडा नम्बर ३ मा ३३, वडा नम्बर ४ मा २, वडा नम्बर ५ मा ८०, वडा नम्बर ६ मा ४, वडा नम्बर ७ मा २०, वडा नम्बर ८ मा ५३, वडा नम्बर ९ मा १, वडा नम्बर १० मा २६ र वडा नम्बर ११ मा ५७ जनाको प्रसूति गराइएको थियो ।

नगरपालिकाले विपन्न तथा असहाय परिवारका पाठेघर खसेका महिलाको नगरपालिकाबाहिर गएर स्वास्थोपचार गराउनुपर्ने भएमा पाँच हजार रुपैयाँ गाडीभाडा व्यवस्था गरेको छ । त्यतिमात्रै होइन, नगरवासीको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य शिविर सञ्चालन गरिएका छन् । त्यसलाई निरन्तरता दिइनेछ । नगरपालिकाका स्वास्थ्य जनशक्ति प्रयोग गरेर प्रत्येक साता प्रत्येक गाउँबस्ती पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्न निर्देशन दिएको छु । सकेसम्म वडासचिव र वडाप्रतिनिधिलाई घरघरै पुगेर स्वास्थ्य शिविर सञ्चालन र वृद्धभत्ता वितरण गर्न अनुरोध गरेको छु । नसके टोलटोलसम्म त पुग्नैपर्छ । त्यहाँ पुग्दा उच्च रक्तचाप नाप्ने, प्राथमिक उपचार गर्ने तरिकासम्म सिकाउन सके स्थानीय लाभदायी हुनेछन् । त्यतिबेला वडाबाट दिइने सिफारिस उनीहरूलाई घरमै दिँदा पलासको फूलमा सुगन्ध भेटेसरह हुनेछ ।

खुसीको कुरा जानकारी गराउँछु, नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माण गर्ने भएको छ । नगरस्तरीय अस्पताल १५ देखि २५ शय्याको हुनेछ । अस्पतालका लागि जग्गा खोजिरहेका छौं ।

शैक्षिक सुधार

हलेसी तुवाचुङ नगरपालिकाले शैक्षिक सुधारका लागि प्राथमिकतासाथ काम थालेको छ । नगरपालिकाले शिक्षा नियमावली जारी गरिसकेको छ । शिक्षामा पर्याप्त जनशक्ति नभएकाले शिक्षा नियमावली कार्यान्वयन गर्न समस्या परेको हो । निकट भविष्यमै नगरपालिकाले जिल्ला शिक्षा अधिकारी (उपसचिव) स्तरीय दरबन्दी पाएपछि उसले बनाएको शिक्षा नियमावली कार्यान्वयन गर्न सहज हुनेछ ।

हामी गुणस्तरीय शिक्षाको पक्षपाती हौं । अबको शिक्षा जीवनोपयोगी, व्यावहारिक र आत्मनिर्भर बन्नेखालको हुनुपर्छ । त्यही उद्देश्य प्राप्तिका लागि नगरपालिकाले शिक्षा नियमावली जारी गरेको हो ।

शिक्षक–शिक्षिकालाई सधैंजसो पढाऊ–पढाऊ भन्नुपर्ने बाध्यता नयाँ होइन । सधैं त्यसो भनिरहन सकिँदैन । उनीहरूलाई दायित्व र कर्तव्यबोध गराउनुपर्नेछ । नगरपालिकाले सर्वप्रथम शिक्षक–शिक्षिका र अभिभावकलाई पढाउँछ । सचेत गराउँछ । शिक्षा नियमावली कार्यान्वयनपछि औसत सिकाइका आधारमा विषयगत शिक्षक–शिक्षिकालाई तलब निकासा गरिन्छ । शिक्षक–शिक्षिकाको गोठाला गर्न सकिँदैन । उनीहरू विद्यालय जाऊन्, नजाऊन् तर उनीहरूले पढाएको विषयमा विद्यार्थीले औसत उपलब्धि हासिल गर्यो कि गरेन ? गर्यो भने तलब पायो, गरेन भएन तबल नपाउने शिक्षा नियमावली जारी गरिएको छ । शिक्षक संघ, संगठनमात्रै होइन, शिक्षक महासंघसम्बद्ध प्रतिनिधिसँगको सामूहिक छलफलपछि नियमावली जारी गरिएको हो ।

औसत उपलब्धि हासिल गरेको आधारमा तलब निकासा गर्ने नियमावली जारी गरे पनि समस्या समाधान हुने देखिँदैन । एकले र अर्को विद्यालयका परीक्षार्थीको कापी जाँज्दा औसत सिकाइ उपलब्धि हासिल गर्न सक्ने देखिन्छ । त्यस कार्यमा एक विद्यालय र अर्को विद्यालयका शिक्षक–शिक्षिकाबीच मिलेमतो देखिने नै भयो । त्यसलाई निप्टारा लगाउने उपाय पनि छन् । तसर्थ, परीक्षा व्यवस्थित, मर्यादित बनाउन नगरपालिकाभरिका विद्यालयको नगरस्तरीय परीक्षा गराइन्छ । प्रश्नपत्र त्यसरी नै तयार पारिन्छन् । उत्तरपुस्तिका त्यसरी नै जाँचिन्छन् । त्यसका साथै समपरीक्षणसमेत गरिन्छ । त्यसलाई यसरी प्रभावकारी बनाइनेछ ।

प्रविधिको चकचकीले संसार एउटा सानो गाउँजस्तो भइसकेको छ । प्रविधि आत्मसात् गर्दै नगरका प्रत्येक विद्यालयको तल्लो तहदेखिकै विद्यार्थीलाई प्रविधिमैत्री बनाइनेछ । सर्वप्रथम नगरका प्रत्येक विद्यालयमा इन्टरनेट जोडिनेछ । त्यसका लागि प्रत्येक वडामा वाइफाइ जोडिनेछ । प्रत्येक विद्यालयमा बिजुली पुर्याउनुपर्नेछ । कम्प्युटर नभएका विद्यालयमा नगरपालिकाले नै उलब्ध गराउनेछ ।

शिक्षामा अस्वस्थ प्रतिस्पर्धा चलेको प्रस्टै देखिन्छ । पल्लो गाउँको विद्यालयमा पाँच कक्षासम्मको पढाइ हुन्छ भने वल्लो गाउँकाले हाम्रोमा ६ कक्षासम्म पढाइ किन नगर्ने भन्ने होडबाजी देखिन्छ । त्यसो गर्नु नराम्रो होइन तर समस्यारहित हुनुपर्छ । त्यसो गर्नेमध्ये कतिपय विद्यालयका कुनै पनि कक्षामा विद्यार्थीको औसत संख्या पुगेको देखिएन । विद्यालय सञ्चालनका लागि स्रोत, साधन र शिक्षकको कुरा त धेरै परको भयो । कक्षा बढाउनुमात्रै उपलब्धि होइन ।

कतिपय आधारभूत विद्यालयमा तीन शिक्षक दरबन्दी रहेको पाइयो । त्यतिले पुग्दैन । राहत र निजी स्रोतबाट शिक्षक राखेर काम चलाइएको छ । त्यस्तो शिक्षा सिकाइले कस्तो शैक्षिक जनशक्ति उत्पादन होलान् ? समीक्षा गर्नैपर्ने भएको छ । तसर्थ, यथाशीघ्र आवश्यक पूर्वाधार र शैक्षिक जनशक्ति नपुगेका विद्यालय खारेज गरिन्छ । शिक्षक अनुपातमा विद्यार्थी संख्या नपुगेका विद्यालय ‘मर्ज’ गरिनेछ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हात्तीढुंगेमा रहेको सहकला प्रावि खारेज गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे वडाध्यक्ष तथा सामाजिक शाखा अध्यक्षसमेत रहेका किशोरकुमार बस्नेतको अध्यक्षतामा नगरपालिकाका एक कर्मचारी, शिक्षक महासंघसम्बद्ध प्रतिनिधिसमेत रहनेगरी कार्यदल गठन गरिएको छ । कार्यदलले नगरभित्रका ८७ विद्यालयका शैक्षिक, भौतिक र जनशक्ति आवश्यकता अध्ययन गर्दै छ । कार्यदलको अध्ययनपछि ‘अपग्रेड’ र खारेज गर्नुपर्ने विद्यालय पहिचान हुन्छ ।

सर्वदलीय पार्टी प्रतिनिधि हुँदा पहुँचवाला राजनीतिककर्मी, विद्यालय व्यवस्थापन समिति र शिक्षकको मिलेमतोमा विद्यालयलाई भर्तीकेन्द्र बनाइएको थियो । निजी स्रोत शिक्षकका नाममा नियुक्ति गर्दा कतिपय शिक्षक अलपत्र परेका छन् । स्रोत–साधन पहिचान नगरी त्यसो गर्दा उनीहरू अलपत्र परेका हुन् । विद्यार्थी अनुपातका आधारमा आवश्यक छ भनेमात्रै निजी स्रोतका शिक्षक राखिनेछ होइन भने अवकाश दिइनेछ ।

हिजोआज शिक्षकलाई हेर्ने दृष्टिकोण फरक छ । मैले पढ्ने र पढाउने दुवै काम गरेको छु । म पढ्दा शिक्षकलाई साँच्चिकै गुरुका रूपमा हेरिन्थ्यो । सामाजिक सम्मान लोभलाग्दो थियो । हिजोआज शिक्षकलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा आकाश–पातालको फरक छ । केही शिक्षकका आचरणले समग्र शिक्षकलाई नकारात्मक रूपमा हेर्न थालिएपछि जनप्रतिनिधि टुलुटुलु हेरेर बस्न सक्दैनन् ।

नगरपालिकाले शिक्षकको मर्यादा, शिक्षाको साख जोगाउन, शिक्षण पेसा मर्यादित बनाउन अभियान थालिसकेको छ । नगरपालिकाभित्र रहेका विद्यालयको प्रधानाध्यापकलाई बोलाएर छलफल गरेको छ । उसले तीन विद्यालयलाई नमुना विद्यालय घोषणा गरिसकेको छ । त्यही कार्यक्रमअन्तर्गत राम्रा शिक्षक र विद्यालय व्यवस्थापन समितिसम्बद्धलाई सम्मान गरिएको सर्वविदितै छ । हलेसी तुवाचुङ नगरपालिकाका पाँचदेखि १२ वर्षका बालबालिका विद्यालयभित्रै रहेका छन् । यो झन् खुसीको खबर हो ।

गुणस्तरी शिक्षा र दक्ष जनशक्ति उत्पादन नभएसम्म नगरपालिका समृद्ध बन्न सक्दैन । जतिसुकै विकास निर्माणको कुरा गरे पनि दक्ष जनशक्ति भएन, विचार, क्षमता र चेतनशील भइएन भने संरचनाले मात्रै काम गर्दैन । नाराले आगो बाल्न सकिँदैन । आगो बाल्ने इन्धन नै चाहिन्छ ।

पर्यटन प्रवद्र्धन

हलेसी तुवाचुङ नगरपालिका पर्यटकीय हिसाबले लोभलाग्दो छ । १ नम्बर प्रदशकै लोभलाग्दो पर्यटकीयस्थलमध्ये हलेसी तुवाचुङ नगरपालिकामा रहेको त्रिधार्मिकस्थल हलेसी पनि एक हो । हलेसी ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पर्यटकीयस्थलको नमुना मानिन्छ । हलेसी प्राकृतिक रूपमा जति सुन्दर र अद्भुत छ, धार्मिक र सांस्कृतिक सहअस्तित्वका हिसाबले पनि उत्तिकै उदाहरणीय छ । विश्वमै हलेसीमात्र यस्तो धार्मिक, सांस्कृतिक केन्द्र होला, जहाँ तीन धर्मावलम्बीले एकले अर्कोको सम्मान गर्दै साझा रूपमा पूजापाठ र श्रद्धा गर्छन् ।

मुलुकका स्थानीय तहमध्ये पर्यटकीय हिसाबले हलेसी तुवाचुङ नगरपालिका प्रचुर सम्भावना भएकामध्येमा पर्छ । समृद्ध हलेसीका लागि हलेसी एकीकृत गुरुयोजना निर्माणकार्य थालिएको छ । गुरुयोजना निर्माणका लागि जनप्रतिनिधिभन्दा पुरातात्विक, सांस्कृतिक, इतिहासलगायत विभिन्न विषयविज्ञको अवधारणाबाट निर्मित गुरुयोजना व्यावहारिक, वैज्ञानिक र प्रभावकारी हुन्छ । उक्त गुरुयोजना कार्यान्वयन गर्न त्यत्तिकै सजिलो हुन्छ भनेर कायदल गठन गरिएको हो । कार्यदलमा विषयविज्ञलाई समेत समेटिएको हो । कार्यदलले काम थालिसकेको छ ।

गुरुयोजना निर्माण र कार्यान्वयन गर्न आफैंमा जटिल र चुनौतीपूर्ण छ । हामीलाई थाहा छ– नगरपालिकाको आफ्नोमात्रै मानवीय जनशक्ति, स्रोत, साधन र प्रविधिले गुरुयोजना निर्माण र कार्यान्वयन सम्भव छैन । तसर्थ, नगरपालिकाले गठन गरेको कार्यदललाई विस्तार गर्दै लगिनेछ । विस्तार गरिँदै लगिने कार्यदलमा विषयविज्ञलाई समावेश गरिनेछ ।

त्यतिमात्रै होइन, स्थानीयको प्रत्यक्ष सहभागितामा गुरुयोजना निर्माणसम्बन्धी व्यापक छलफल गरिनेछ । स्थानीयको पेसा, व्यवसायको सुरक्षा गर्न नगरपालिका आँखा चिम्लेर बस्दैन । त्यसका लागि सरकारी तथा गैरकारी संघ–संस्था र व्यक्तिविशेषलाई लगानीका लागि आह्वान गरिनेछ । लनानीमैत्री वातावरण निर्माण गर्दै थ्रीपीपी मोडेलमा काम गरिनेछ । एकीकृत गुरुयोजना निर्माणपछि कार्यान्वयन गर्दै अघि बढिनेछ ।

गुरुयोजना निर्माण र कार्यान्वयनसम्बन्धी उच्चस्तरीय कार्यदल गठन गरिनेछ । प्रदेशस्तरीय कार्यदल र केन्द्रीयस्तरको कार्यदलमा प्रदेश र केन्द्रका उच्चस्तरीय सर्वदलीय, सर्वपक्षीय, विषयविज्ञ र स्थानीयलाई समेत समेटेर आयोगसमेत बनाइनेछ ।

नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्न डीपीआरसहित काम थालिएको छ । समग्र हलेसी क्षेत्र ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक हिसाबले ज्यादै लोभलाग्दो थलो हो । यहाँ हलेसीगढी, च्यास्मीगढी र खाम्तेलगढी छन् । ती गढीहरू ४०० वर्षभन्दा पुराना हुन् । पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्नेक्रममा गोरखाली सेनासँग किराती राजाहरू पराजित भएपछि तीन गढी भग्वानशेष हुन पुगेका हुन् । इतिहासको स्मरण गर्न ती गढीहरू हेर्न सकिन्छ ।

यसैगरी, किरात राईहरूको कपडा सभ्यता सुरुवात गर्ने तयामा र खियामाले तान बुनेको तुवाचुङडाँडाबाट सगरमाथा र रातिको समय सप्तकोसीको भीमनगर क्षेत्र हेर्न सकिन्छ । वाम्बुले राईले पवित्र थलो मान्ने भुम्जुडाँडाबाट तराई, हिमाल, दूधकोसी र सुनकोसीको संगमस्थल आँखैअगाडि देख्न सकिन्छ । हलेसी तुवाचुङ नगरपालिका–९, सल्लेमा प्राकृतिक पोखरी छ । खोक्चिलिपाले धनुकाँड हानेर पानी निकालेको विश्वास गरिने सल्लेपोखरी अनौठोमध्येको पनि अनौठो पोखरी हो । पानीको मुहानविना डाँडामा रहेको पोखरीलाई दूधकोसीको नाइटो पनि भन्ने गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रहेको ताराखसे, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा रहेको सत्यश्वर गुफा, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा रहेको गुप्तेश्वर गुफा, सुत्केरी ढुंगा र हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीआसपासमा १४ गुफा रहेका छन् । हलेसी तुवाचुङ नगरपालिका पर्यटकीय हिसाबले त्यत्तिकै सशक्त रहेको छ । नगरपालिकाभित्र रहेका पर्यटकीयस्थलको प्रवद्र्धनमात्रै गरे हलेसी तुवाचुङ नगरपालिका उदाहरणीय बन्न सक्छ ।

कृषि–कर्म

हलेसी तुवाचुङ नगरपालिका सुख्खाग्रस्त क्षेत्र हो । सुख्खा क्षेत्र भन्दैमा आत्तिइहाल्नुपर्दैन । समस्याले समाधान पनि ल्याएको हुन्छ । सुख्खा क्षेत्रलाई सजाउन र व्यवस्थापन गर्ने इच्छाशक्ति चाहिन्छ । सुख्खा क्षेत्र अध्ययन गरेर माटोसुहाउँदो खेतीपाती गर्न सकिन्छ । त्यसलाई सघाउ पुर्याउन नगरपालिकाले कृषिमा एक करोड रुपैयाँ लगानी गरेको छ ।

नगरपालिकासँगको समन्वय र साझेदारीमा विभिन्न गैरसरकारी संघ–संस्थाले कृषिमा काम गरिरहेका छन् । विगतमा ठुल्ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थाले गरेका काम भत्ता र प्रचारमुखीमात्रै भए । त्यसलाई दृष्टिगत गर्दै नगरपालिकाका सबै क्षेत्रमा लगानी गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थालाई परियोजना मागेका छौं । हाम्रो अवधारणामा काम गर्नेलाई अनुमति दिनेछौं । विगत हेर्ने हो भने कुल १४ लाख बजेटमध्ये १२ लाख रुपैयाँ तालिम, गोष्ठीमा सकेर दुई लाख किसानलाई राहत दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थालाई स्वागत गरिँदैन ।

नगरवासीलाई कृषिमा आकर्षित गर्नुपर्छ । सुख्खा क्षेत्र भए पनि यहाँ कोदो, मकै, धान, कोसेबाली, फलफूल, मौसमी तथा बेमौसमी तरकारी उत्पादन भएकै छन् । उत्पादनको सम्भावना त्यत्तिकै छ । तर पनि कृषिमा आकर्षण छैन ।

कृषिमा आकर्षण नभएपछि नगरवासी वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीबाट फर्केका कतिपय कृषिकर्ममा लागेका छन् । तर, उनीहरूद्वारा उत्पादित उत्पादनले बजार पाएको छैन । बजार नपाएपछि उनीहरू निराश देखिन्छन् । लगानी डुबेपछि निराश हुनु अस्वाभाविक होइन । त्यसपछि पुनः वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तो अवस्था नआओस् भनेर नगरपालिकाले प्रत्येक किसानद्वारा उत्पादित उत्पादन किनिदिने वातावारण मिलाउनेछ ।

हाम्रो कृषि प्रणाली हलो–कोदालोमै सीमित छ । हलो–कोदालोले नयाँ प्रविधि आत्मसात् गर्दै अघि बढेका तराईका किसानसँग प्रतिस्पर्धा गर्नुपर्छ । हलो–कोदालोबाट उत्पादित उत्पादनले मेसिनबाट उत्पादित उत्पादनसँग प्रतिस्पर्धा गर्दा मूल्य फरक पर्छ । तसर्थ, स्थानीयभन्दा तराईबाट ल्याइने तरकारीलगायत अन्य उत्पादन सस्तो पर्छ । त्यतिबेला तराईका किसानसँग नगरपालिकाका किसानले प्रतिस्पर्धा गर्नै सक्दैनन् । त्यसलाई दृष्टिगत गर्दै तराईबाट ल्याइने उत्पादनलाई करको दायरामा ल्याएर मूल्य समायोजन गरिनेछ । त्यसो गरियो भने आफ्नै गाउँठाउँको चिसो हावापानीमा उत्पादित उत्पादनको खोजी हुन्छ । त्यसको महत्व बढ्छ ।

नगरपालिकाका ११ वडामा उत्पादित सम्पूर्ण उत्पादनको जिम्मा नगरपालिकाले लिनेछ । नगरपालिकाका ११ वटै वडामा संकलन केन्द्र सुरु गरिएको छ । बेच्छु भन्नेले त्यहाँ लगेर बेच्न सक्नेछन् । त्यसपछि मागेर, बाँडेर खाने परम्परा त्याग्दै स्थानीयलाई व्यावसायिक बन्न सघाउँछ ।

नगरपालिकाले गत आर्थिक वर्षमा युवा उद्यमी कोष बनाएको थियो । साँच्चिकै युवा उद्यमी तथा किसान बन्न चाहनेलाई ऋण अनुदान दिन थालिएको छ । सो कोषले आर्थिकसहित प्राविधिक सहयोग पनि गर्दै आएको छ । युवा उद्यमीमा माग अत्यधिक छ ।

विकासनिर्माण विस्तार

नगरपालिकाका सबै वडामा नगरस्तरीय सडक निर्माण भइसकेका छन् । अब स्तरोन्नति गर्नुपर्नेछ । त्यस्तै नगरका प्रत्येक टोलबस्तीलाई ग्रामीण सडकले जोडिएको छ । जोडिँदै छ । त्यसकोसमेत स्तरोन्नति गर्नु छ ।

विकासनिर्माणसम्बन्धी योजनाबद्ध काम गर्न ‘कन्सलटेन्सी’ नियुक्ति गरिएको छ । विकासनिर्माणका काम प्रक्रियागत र व्यवस्थित ढंगले गर्न ‘कन्सलटेन्सी’ नियुक्ति गरिएको हो । अब डीपीआर तयार गरेरमात्रै विकासनिर्माण थालिन्छ । सडक खनिन्छन् । पहिले–पहिले सडक निर्माण गरेर सर्वे लागत निकालिन्थ्यो । अब उपभोक्ता समिति गठन गरेर, सर्वे लागत निकालेपछि मात्रै सडक खनिन्छन् । अन्य विकासनिर्माण पनि त्यसरी नै गरिन्छन् । कुनै पनि काम थाल्नुअघि प्राविधिकले लागत निकाल्छ । त्यसपछि नगरले र स्थानीयले कति बेहोर्ने निश्चित गरेपछि निर्माणकार्य थालिन्छ ।

सुख्खाको सदुपयोग

सरकारले हलेसी तुवाचुङ नगरपालिकाका सात वडालाई सुख्खा क्षेत्र घोषणा गरेको थियो । बाँकी चार वडालाई समेत त्यहीअन्तर्गत राखिने भनेर नगरपालिकाले निर्णय गरिसकेको छ । त्यसका लागि सम्बन्धित निकायमा पहल गरिरहेको छु । हलेसी क्षेत्र वृहत् खानेपानी अयोजना अध्यक्ष म आफैं छु । सुख्खा क्षेत्र घोषणा गर्नुपर्छ भन्नेदेखि उपभोक्ता समिति गठन, सर्वे सकेर डिपिआर तयार पार्दासम्म म प्रत्यक्ष संलग्न छु ।

हलेसी क्षेत्र वृहत् खानेपानी अयोजनाको पहिलो चरणमा मेन लाइन र दोस्रो चरण वितरण लाइनको टेन्डर लागिसकेको छ । मेन लाइन भनेको दूधकोसीबाट पानी तानेर पम्प स्टेसनमा ल्याइनेछ । हामीसँग दुई पम्प स्टेसन छन् । त्यसमध्ये महादेउबेंसीबाट हलेसीको काभ्रेमा पानी तानिनेछ । त्यहाँबाट ग्राभिटी गरेर चार वडामा वितरण गरिन्छ । चार वडामा हलेसी, दुर्छिम, मंगलटार र बडहरे पर्छन् ।

दोस्रो चरणमा बाहुनीडाँडा, डिकुवा र च्यास्मिटार पर्छन् । सल्ले, अर्खौले, धितुङ र राजापानी छुटेको छ । छुटेका चार वडालाई समेत जोडिनेछ । काम तीव्र गतिमा भइरहेको छ । पत्येक पम्प स्टेसनमा सडक निर्माणकार्य जारी छ । प्रत्येक पम्प स्टेसनमा विद्युत् पुर्याउनु छँदै छ । हलेसी तुवाचुङ नगरपालिका प्रमुखको कार्यकालभित्रै नगरका ११ वडामा एक घर, एक धारा पुर्याउनेछु । यो मेरो ‘ड्रिम पोजेक्ट’ हो ।

सहज सेवाप्रवाह

हलेसी तुवाचुङ नगरपालिका नयाँ नगरपालिका हो । नयाँ भएकाले नगरपालिकाको भौतिक संरचना र कर्मचारी पर्याप्त छैन । भौतिक संरचना र कर्मचारी पर्याप्त नभए पनि नगरपालिकाले सेवाप्रवाह सहज बनाउन पछि परेको छैन ।

सेवाप्रवाह सहज बनाउन नगरपालिकाले प्रत्येक वडामा नागरिक बडापत्र राख्ने भएको छ । नगरपालिकामा समेत बडापत्र राखिनेछ । बडापत्रमा उल्लिखित सेवाप्रवाह गर्न आनाकानी र ढिलाइ गरे कर्मचारीलाई कारबाही र सेवाग्राहीलाई क्षतिपूर्ति दिइनेछ । तर, सेवाग्राहीले बडापत्रमा उल्लिखित कागजात बोकेको हुनुपर्नेछ । आवश्यक कागजात हुँदासमेत तोकिएको समयमा काम भएन भने सेवाग्राहीले सिकायत गर्नसाथ कर्मचारीलाई कारबाही गरिनेछ ।

जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध सुमधुर बनाइनेछ । एक हातले ताली बज्दैन । एक हातले ताली बजाउन सकिएला तर त्यो अर्थपूर्ण हुँदैन । जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध अर्थपूर्ण बनाउन कुनै कसर बाँकी राखिने छैन ।

(लेखक, हलेसी तुवाचुङ नगरपालिका मेयर हुनुहुन्छ ।)

[email protected]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार