एउटै खुकुरीको १ लाख

रामबहादुर थापा

बागलुङ । हेर्दै अजंगको खुकुरी । तौल ३५ किलो । मूल्य ९९ हजार ९९९ । एउटै खुकुरीको मूल्य एक लाख तोकिएपछि खुकुरी हेर्नेको भीड लागेको छ । कालीगढ मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन ।
स्थानीय सीपअनुसार खुकुरी बनाउन आठ दिन लागेको कालीगढ विकले बताए । ३८ वर्षीय विकले १३ वर्षको उमेरदखि उक्त पेसा अपनाउँदै आएका हुन् । सात वर्षदेखि बुर्तिवाङ बजारमा ‘बुर्तिवाङ आरन सेवा’ सञ्चालन गर्दै आएका उनले भने, ‘मेला तथा महोत्सव हुँदा ‘स्टल’ राख्छु । एउटा महोत्सवमा जाँदा करिब एक लाख रुपैयाँसम्म कमाइ हुन्छ ।’ छिमेकी जिल्ला गुल्मी, पाल्पातिर हुने मेला, महोत्सवमा समेत उनी स्टल लिन्छन् ।
आगन्तुक लोभ्याउनेगरी बनाइएको खुकुरी किन्नेभन्दा हेर्ने बढी हुन्छन् । सोख र पैसा भएकाले सजावटका लागि ठूलो खुकुरी किन्ने गर्छन् । ‘ठूलो र महँगो खुकुरीको विशेष माग हुँदामात्र बनाएर बेच्छौं,’ कालीगढ विकले सुनाए, ‘देख्नेले अनौठो मानेर उक्त खुकुरीबारे जिज्ञासा लिने गरेका छन् ।’
फलामलाई आरानमा गालेर घनले पिट्दै खुकुरीको रूप दिन कडा मिहिनेत लागेको उनको भनाइ छ । उनलाई व्यवसायमा श्रीमती सरिता विकले साथ दिँदै आएकी छन् । मेला–महोत्सवमा आफ्नो उत्पादन लिएर जाँदा विक दम्पतीसँगै जान्छन् । उनको व्यवसायमा ६ जना कालीगढले रोजगारी पाएका छन् ।
सबै खर्च कटाएर मासिक एक लाख आम्दानी हुने गरेकोमा उनी खुसी छन् । ‘आरान हाम्रो पुख्र्याैली पेसा हो,’ उनले थपे, ‘अहिले आरानलाई सुधारेर व्यावसायिक बनाएको छु ।’ उनका बुवा पदमबहादुर विक पनि गाउँमा आरनकै काम गर्छन् । उनको पुख्र्यौली थलो ढोरपाटन नगरपालिका–६ अधिकारीचौर हो ।
‘बुवालाई सघाउँदा काम सिकें,’ उनले गौरव गरे, ‘व्यावसायिक रूपमा गर्नुपर्छ भनेर म बजार झरें ।’ आरान व्यवसायबाटै आर्जनले ढोरपाटन नगरपालिका–२ बुर्तिवाङमा उनले घर बनाएका छन् । उनका दुई छोरा र दुई छोरी अध्ययन गर्छन् । आफ्नो पुख्र्याैली सीप र पेसालाई सम्मानपूर्वक अँगालेर उनी सफल व्यवसायी बनेका छन् ।
बडिगाड गाउँपालिकामा पहिलोपटक आयोजना गरिएको ‘बडिगाड महोत्सव तथा पौंदी न्वागी मेला’ मा घरेलु तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सव मंसिर ९ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार