बदलिँदै बोझेओडार

तेजकुमार राई

हलेसी तुवाचुङ नगरपालिका खोटाङमा रहेको बोझेओडार झट्ट हेर्दा नौलो लाग्दैन । यसको आकार–प्रकार पनि खास देखिँदैन । ओडारको वास्तविकता नियाल्न बाहिरी आवरणलाई मात्र हेरेर पुग्दैन । यसको वास्तविकता बुझ्न गुफाभित्रै छिर्नुपर्छ । तीजको अवसर पारेर च्यास्मिटार माविमा अध्यापनरत शिक्षक, वडासचिव दीपक रिजालसहित बडहरे स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरूसँग ओडार अवलोकन गर्यौं । ओडार साँच्चै भ्रमणयोग्य र नगरपालिकाको सम्भावित पर्यटकीयस्थल रहेछ भन्ने लाग्यो ।

बोझेओडारबारे दृश्यावलोकनमात्र गरेर नहुने रहेछ । हामीले मात्र होइन, कतिपय नगरवासीले बुझ्नुपर्ने र हामीसँग भएका स्रोत पहिचानबारे बुझाउन आवश्यक छ । ओडारबाहिर एउटा कर्णश्वरको मन्दिर रहेको छ ।

तेजकुमार राई

२०७० मा स्थापित मन्दिरको संरक्षण र सम्बद्र्धननिम्ति हीराबहादुर विकको अध्यक्षतामा १६ सदस्यीय समिति गठन भइसकेको छ । समितिले यसको शोभा बढाउन र पर्यटकीय स्थल बनाउन आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आवश्यक छ ।

आर्थिक वर्ष २०७२/०७३ मा दलित समुदायका निम्ति छुट्ट्याइएको १८ हजार रुपैयाँसमेत मन्दिर निर्माणमा खर्चिएको थियो । कर्णश्वर मन्दिर निर्माणका लागि व्यापारी तथा व्यवसायीसँग समेत चन्दा संकलन गरिएको थियो । मन्दिर संरक्षण सम्बद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे वडाध्यक्ष किशोर बस्नेतले समेत वडा कार्यालयका तर्फबाट एक लाख रुपैयाँ छुट्ट्याएका थिए । जननिर्वाचितबाट सालिन्दा पैसा छुट्टिने हो भने बोझेओडारजस्ता पर्यटकीय स्थलको प्रवद्र्धन हुनेछ । ‘त्यसो गर्न सके हलेसी दर्शन गर्ने दर्शनार्थी सबैभन्दा पहिले बोझेओडार घुम्ने थिए,’ बोझेओडार प्रावि प्रधानाध्यापक केदारप्रसाद पौडेल भन्छन्, ‘बोझेओडार एकैछिन अल्मलिए स्थानीय लाभान्वित हुने थिए ।’

बोझेओडार उत्पत्तिकालमा महादेव मृगको रूप धारण गरेर बोझेमा चर्दै गर्दा राक्षसले मृगलाई देख्यो । राक्षसले मृगलाई आक्रमण गर्यो । आक्रमण गरिसकेपछि राक्षस र महादेव लडाइँ गर्नेक्रममा यही ओडारमा महादेवको कान पतन भएकाले ओडारमा रहेको मन्दिरलाई कर्णश्वर नाम राखिएको हो भन्ने भनाइ छ । बोझेओडाँडा भासिनेक्रममा उक्त ठाउँमा भासिएको ठाउँ सानो रहेको र भित्र ठूलो र फराकिलो छ । ओडारभित्र १५० देखि २०० जना एकैपटक अटाउँछन् ।

ओडारभित्र गाई, गणेश र पार्वतीको मूर्तिका साथै धेरै प्रकारका आकृति रहेका छन् । ओडारको भित्री भागमा महादेव केही समय बसेको कुर्सीजस्तो आकार देखिन्छ । भित्री भागबाट माथितिर आकाशमा समेत पूर्व र उत्तर दिशातर्फ महादेव निस्केर गएको ठाउँ अझै छ । यहाँ रहेका कतिपय आकृति त्यत्तिकै लोभलाग्दो देखिन्छन् । ओडारभित्र उत्पत्तिकालमा ठूलो पोखरी थियो । सो पोखरीमा हीरा खानी रहेको किंवदन्ती छ । ओडारमुनी अर्को गहिरो गुफा छ । जुन ठाउँमा जान डोरी र चहकिला प्रकाश भएको लाइट व्यवस्था गर्नुपर्छ । त्यसभित्र अत्यन्तै चिसो हावा चल्ने भएका कारण कतै भित्र पानी बगेको पो हो कि भन्ने अनुमान गर्न सकिन्छ ।

बोझेओडारको (कर्णश्वर मन्दिरमा) विशेषगरी शिवरात्रि, बालाचतुर्दशी, कृष्ण अष्टमी र तीजमा समेत भव्य मेला लाग्छ । हामीमाझ लुकेर रहेका यस्ता प्राकृतिक स्रोत तथा साधन पहिचान गर्न सके हलेसी तुवाचुङ नगरपालिकामा अर्काे सम्भावित पर्यटकीय स्थल थपिन सक्ने सम्भावना उत्तिकै छ । ओडारबाट माथितिरको भाग पूरै चट्टानैचट्टान छन् ।

हलेसी दर्शन गर्न आएकालाई राजमार्गको मात्र होइन, महादेव हिँडेको डाँडैडाँडा पनि हिँडाउन सके पलासको फूलमा सुगन्ध भेटेसरह हुने थियो । बोेझेडाँडा हुँदै मयाङ्खु, दुर्छिम, गुराँसेडाँडा र गुर्दुमडाँडासम्म महादेव भाग्दै हिँडेको ठाउँलाई ‘महादेव ट्रेल्स’ का रूपमा विकास गर्न सके कति जाती हुन्थ्यो । जहाँबाट सुनकोसी र दूधकोसीको समेत एकैचोटि दृश्यावलोकन गर्न गराउन सकिन्छ । यहाँ आइपुगेकालाई उहाँको यथार्थता बताउँदै विशेष गाइड व्यवस्था गर्न पाए कतिपयले रोजगारीसमेत पाउने थिए ।

हामीसँग भएका प्राकृतिक स्रोत र साधन भनेको समय र जादुको छडीजस्तो तुरुन्त निर्माण गर्न नसकिएला । तर, कुन–कुन उपयुक्त र कुन–कुन अलि सम्भावनाभन्दा टादा छ, त्यस्तालाई वर्गीकरण गरी बोझेओडारजस्तो सम्भावना बोकेको ठाउँलाई प्राथमिकतामा राख्न सकिन्थ्यो कि ? किनकि हलेसी महादेव गुफाको जन्म बोझेओडारको कर्णश्वर मन्दिरबाट भएको हो । यस्ता सम्पदा संरक्षण गर्न सबैको ध्यान जान जरुरी छ । बोझेओडार सम्बद्र्धनका निम्ति तत्काल गुफाभित्र जाने खुड्किलो, त्यसका साथै मन्दिरभित्र बत्ती व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार