सम्झनामा इतिहासको दुर्लभ साक्षी

प्रथम र दोस्रो विश्वयुद्ध । सबैलाई एकपटक सोच्न बाध्य तुल्याउने रक्तरञ्जित इतिहास । शौभाग्य भनौं वा दुर्भाग्य, गोर्खा सैनिक इतिहासका यी रक्तरञ्जित अध्यायका साक्षी बन्न पुगे । प्रथम विश्वयुद्धका भुक्तभोगी गोर्खा सैनिक अब यस धर्तीमा छैनन् । दोस्रो विश्वयुद्ध देख्ने–भोग्नेहरू अझै जीवित छन्, त्यो पनि औंलामै गन्न सकिनेजति मात्र । उनीहरू डाँडामाथिको घामजस्ता छन् । आज हो कि भोलि, कुनै भरोसा छैन । उनीहरू एकपछि अर्को गरी अस्ताउँदै छन् ।
दोस्रो विश्वयुद्धको दुर्लभ साक्षीमध्येका एक क्याप्टेन बखानसिंह दुरा केही दिनअघि यस संसारबाट बिदा हुनुभयो । उमेरले एक शताब्दीमा टेक्दै गर्दा २०७० साल भदौ २० गते उहाँ यस धर्तीबाट सदाका लागि अस्ताउनुभयो । लमजुङ जिल्लाको दुराडाँडास्थित भाँगुगाउँमा जन्मनुभएका उहाँ केही वर्षदेखि पोखरामा बस्दै आउनुभएको थियो ।
नेपाली समाजले इतिहासको एउटा दुर्लभ साक्षी गुमायो । यससँगसँगै उहाँको लगभग ८० वर्ष लामो दाम्पत्यजीवनको अध्याय पनि अन्त्य भयो । फौजी सिन्दुर पहिरिएर पहिलो छुट्टीमा घर आउँदा उहाँले मैखु दुरालाई सिन्दुर पहिर्याइदिनुभएको थियो । त्यतिबेला बेहुलाको उमेर २० वर्ष थियो भने बेहुलीको उमेर दुरा मात्र १२ वर्ष । अहिले मैखु दुरा ९२ वर्षकी हुनुहुन्छ ।
अहिले क्याप्टेन बखानसिंह दुराका १४ पनाति, १८ पनातिनी, तीन खनाति र तीन खनातिनीसहित ८७ जना शाखा–सन्तान छन् । उनीरूको नसामा बखानसिंह दुराको रगत जीवित छ । आठ दशक लामो दाम्पत्य जीवन बिताउन र खानाति–खनातिनीसम्मलाई काखमा खेलाउन उहाँले पाउनुभयो । यो चानचुने कुरा होइन । उहाँको जस्तो शौभाग्यपूर्ण जीवन अबका दिनमा कमैले भोग्न पाउलान्, ‘लेट म्यारिज्’ र कम सन्तान जन्माउने चलनले गाँजेको वर्तमान घडीमा ।
वि.सं १९७१ साल मङ्सिर १० गते उहाँ लमजुङ जिल्लाको दुराडाँडास्थित भाँगुगाउँमा जन्मनुभएको थियो । उहाँ सन् १९३३ अप्रिल १२ तारिखमा भारतको गोरखपुरमा १८ वर्षको उमेरमा भर्ती हुनुभयो । त्यसपछि हालको पाकिस्तानस्थित अटवाबाज तालिमकेन्द्रमा पल्टनिया बुट बजार्न पुगेका थिए ।
सन् १९३९ । दोस्रो विश्वयुद्धको नरसंहारकारी आगो सल्किंदै थियो । पल्टनमा लडाइँको तयारीसम्बन्धी तालिम चल्दै थियो । यत्तिकैमा लडाइँको शंखघोष भयो । उहाँ तत्कालीन ब्रिटिस–इन्डियाको तर्फबाट विभिन्न स्थानमा मर्ने र मार्ने खेलमा खटिनुभयो । यसै मेसोमा सन् १९४५ मा उहाँ जापानसँगको लडाइँमा बर्मामा खटिनुभयो । त्यतिबेला जापानी सैनिकले हानेको बमको टुक्राले उहाँको बायाँ कोखामा निशाना लगायो । उहाँको आन्द्रा–भुँडी बाहिर निस्क्यो । उहाँको सहकर्मीले त्यसलाई पुनः पेटभित्र हुलिदियो । उहाँ पाँच दिनसम्म बेहोश हुनुभयो । बेलायती सेनाका कर्णेल जेपी क्रस, जो नेपालमा बस्छन् को मुखबाट यस्ता जिउ सिरिङ हुने वर्णन सुन्न पाइन्छ ।
युद्ध जारी रहेको अवस्थामा उहाँलाई तत्कालै अस्पताल पुर्याउने व्यवस्था हुन सकेन । केही दिन शिविरमै घाइते शरीर लिएर बसेपछि उहाँलाई ढाका (बंगलादेश) स्थित अस्पतालमा भर्ना गरियो । उपचारपछि निको भएर लडाइँमा जाने बेलामा एक्स–रे गर्दा पेटमा बमको छर्रा बाँकी रहेको भेटियो । डाक्टरको सल्लाहअनुसार अपरेशन गरेपछि उहाँले तीन महिना अस्पतालमै बिताउनुभयो । त्यसपछि उहाँ तन्दुरुस्त हुनुभयो । लडाइँमा पुनः सामेल हुने तयारी गर्दै गर्दा दोस्रो विश्वयुद्ध सकिएको घोषणा भयो । उहाँ युद्धको विभीषिकाबाट बाँच्नुभयो । उहाँको मुखबाट युद्ध र फौजीजीवनसँग गाँसिएका यस्ता संस्मरण शृंखलाबद्ध सुन्न पाइन्थ्यो ।
दोस्रो विश्वयुद्धताका उहाँको तलब १६ भारतीय रुपियाँ थियो । उहाँको त्यतिबेलाको खर्चको फाँटवारी पनि कम रोचक छैन । उहाँले एक ठाउँमा भन्नुभएको छ, ‘१६ रुपियाँमध्ये १२ रुपियाँ परिवारलाई दिइन्थ्यो, तीन रुपियाँ छुट्टीका लागि काटिन्थ्यो भने एक रुपियाँ मात्र हामीले पाउँथ्यौंं ।’
उहाँको पल्टनिया गफ निकै चाखलाग्दो हुन्थ्यो । गाउँघरमा मारुनी र सोरठी नाचेर पल्टनमा पुगेका गोर्खाली ठिटा ‘नाइट क्लब’मा तालमा ताल मिलाउन, नाच्न नजान्दा बेढंगे देखिन पुगेको, पानीजहाजमा हप्तौं यात्रा गर्दा फौजी जवान ‘मोशन सिकनेस’ले इन्तु न चिन्तु भएको, छुट्टीमा घर फर्कंदा ‘ट्रान्जिट क्याम्प’मा ‘लैनछोकडी’को नगदमुखीमा मायामा भुलेर लाहुरेहरू रित्तो खल्ती लिएर घर फर्किएको, गाउँका सोल्टिनीले दिएको सम्झना–कोसेलीको पोको बोकेर पल्टने ठिटाहरू आँसु पुछ्दै हाजिर हुन गएको आदि । अब हत्तपत्त सुन्न नपाइने तत्कालीन समयको फौजी संस्करणका यी कहानी आपैंmमा दुर्लभ विषय बनेका छन् ।
सन् १९४७ मा अंग्रेजको साम्राज्यवादी पन्जाबाट मुक्त भएपछि भारतीय सैनिक बन्ने कि बेलायती सैनिक बन्ने भन्नेबारे उहाँका साथीसंगीबीच बहस चल्यो । यसक्रममा उहाँले बेलायतको अधीनमा बस्ने निधो गर्नुभयो । बेलायती सैनिक बनेपछि बर्माबाट उहाँ मलाया (मलेसिया)को सुनगाइ पटानी भन्ने स्थानमा पुग्नुभयो । उहाँले थुपै्र पदक र मानपद्वी थाप्ने उहाँलाई श्रद्धासाथ हेर्ने मानिसको कुनै कमी छैन । बेलायती सेनाका ९२ वर्षीय कर्णेल जेपी क्रसको विचारमा क्याप्टेन बखानसिंह दुरा जंगीसेवा र समाजसेवाको प्रतिमूर्ति हुनुहुन्छ ।
२४ वर्षको पल्टनिया जीवनको थुपै्र उतारचढाव पार गरेपछि उहाँ सन् १९५७ मा सैनिक सेवाबाट सेवानिवृत्त हुनुभयो । उहाँले सन् १९६० देखि १९६८ सम्म पक्लिहवामा ‘असिस्टेन्ट रिक्रुटिङ अफिसर’ (एआरओ) का रूपमा काम गर्नुभयो । यसक्रममा उहाँले रोटो र भोटोको खोजीमा भौंतारिएका गाउँबस्तीका थुप्रै बेरोजगार युवालाई बेलायती सेनामा भर्ती गराउनुभयो । यद्यपि राजनीतिक वृत्तमा गोरखा भर्ती केन्द्रको पक्ष र विपक्षमा थुप्रै बहस भएका छन् ।
एआरओको जिम्मेवारी पूरा गरेपछि उहाँ पूर्ण रूपमा समाजसेवामा होमिनुभयो । वि.सं २०२४ तिर उहाँ तत्कालीन रत्नदेवी गाउँ पञ्चायतको कार्यवाहक प्रधानपन्च समाजको सेवा लाग्नुभयो । उहाँ स्थानीय विद्यालय सर्वोदय मावि (च्यानपाटा), देवी सदन प्रावि (तुर्लुङकोट) र सरस्वती सदन मावि (ठूलोस्वाँरा) को सञ्चालक समितिमा रहेर शिक्षा सेवामा सरिक हुनुभयो ।
वि.सं २०३९ सालमा रत्नदेवी गाविस टुक्रिएर पुरानकोट गाउँ पञ्चायत र सिन्दुरे गाउँ पञ्चायत बनेपछि उहाँ सिंदुरे गाउँ पञ्चायतको प्रधानपन्च हुनुभयो । त्यसपछि उहाँ गाउँठाउँको विकासमा जुट्नुभयो । राजनीतिक पद लिएर पनि राजनीति नगरीकनै समाजसेवामा जुट्नुभयो । उहाँ पाटीपौवादेखि बाटोघाटोसम्मको स्थानीय आवश्यकताअनुरूपका विकास निर्माण कार्यमा जुट्नुभयो भने त्यस क्षेत्रमा उहाँ निःस्वार्थी र कर्मठ समाजसेवीका रूपमा चिनिनुहुन्छ ।
समाजसेवामा दुरा समुदायको इतिहास खोज्ने, शाहवंशीय राजसंस्था स्थापनासँग गाँसिएको लमजुङको दुराडाँडास्थित ऐतिहासिक स्थल सिन्दुरेढुंगाको उत्थान र विकास, सिन्दुरेढुंगामा फुटबल मैदान निर्माण, राणाशासनको अवशेषका रूपमा रहेको बेठबेगारीप्रथा हटाउनेलगायतका लोकहितैषी कार्यमा उहाँको उल्लेखनीय भूमिका रह्यो ।
उहाँको निधनबारे आमसञ्चारमाध्यम बेखबरजस्तै भए । भनिन्छ, ‘‘बेलायतका सडकमा ‘वार भेट्रान’ बाटोमा हिंड्ने हरेक व्यक्तिले श्रद्धापूर्वक ‘स्यालुट मार्ने’ चलन छ ।’ तर, यहाँ इतिहास रचयिताको मृत्युको खबरसम्म पनि नआएको घटनालाई अनौठो मानिंंदैन । इतिहास रचयिताकै इतिहास नलेखिने अवस्था विडम्बनापूर्ण अवस्था हामीकहाँ छ । दोस्रो विश्वयुद्धको रक्तरञ्जित इतिहासका यस्ता दुर्लभ साक्षीसँग भएका फौजी विरासतलाई जोगाएर राख्नु र उहाँहरूप्रति श्रद्धाले शिर झुकाउनु हाम्रो धर्म नै हो ।

(गोरखापत्रबाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार