गौतमबुद्धकै पालादेखि कराते

मनोज गिरी

हतियार प्रयोग नगरी, खालीहात र खालीखुट्टाको माध्यमबाट खेलिने खेल सितोरियो कराते हो । यो खेल मार्शल आर्टसभित्रको अर्को खेल हो । यो खेलको सुरुवात जापानबाट भएको हो भने नेपालमा थानेश्वर राई (हलेसी तुवाचुङ नगरपालिका–१० नवलपुर, अर्खौले खोटाङ) ले सुरु गरेका थिए । त्यसबेला अहिलेजस्तो करातेलाई मान्यता दिइएको थिएन । राईले भूमिगत तरिकाले लुकीलुकी खेल्न सिकाउँथे । अन्ततः उनले नेपालभरि कराते विस्तार गरेरै छाडे ।

करातेको उपयोगिता

यो खेल आत्मरक्षाका लागि खेलिन्छ भने यसले मानिसलाई स्वस्थ राख्न सघाउँछ । कराते एकखालको योगाभ्यास पनि हो । योगाभ्यास गर्ने मानिस जसरी स्वस्थ, तन्दुरुस्त हुन्छन्, त्यस्तै यो खेल खेल्नेहरू पनि स्वस्थ र तन्दुरुस्त हुन्छन् । आत्मरक्षा र स्वास्थ्यसँगसँगै यो खेल पहिचान र नामका लागि पनि खेलिन्छ । खेलकुद संस्कृतिले मानिस–मानिसबीचको सम्बन्ध जोड्न मद्दत गर्छ । यो आमखेलाडीका लागि एकताको प्रतीक हो भन्दा अत्युक्ति नहोला । नेपालमा मान्यता पाए पनि यसलाई व्यावहारिक बनाउन सकिएको छैन ।

भियतनामलगायत देशमा करातेलाई अनिवार्य रूपमा समावेश गरिएको छ । प्रत्येक विद्यालयमा यो खेललाई एउटा विषय बनाएर पढाइन्छ । अर्थात् विषयगत प्रशिक्षक नियुक्ति गरेर विद्याथीलाई तालिम दिइन्छ । नेपालमा त्यस्तै गर्न जरुरी छ । तालिमप्राप्त भइसकेपछि कुनै समस्या र अप्ठ्यारो सामना गर्न ऊ सक्षम हुन्छ । त्यतिमात्रै होइन, सेना, प्रहरीमा जागिरका लागि सक्षम बन्छन् ।

स्वास्थ्यका लागि कराते

कराते खेलाडी प्रायः स्वस्थ हुन्छन् । योगगुरु बाबा रामदेव भन्छन्, ‘योगाभ्यास गर्ने मानिसले कहिल्यै डाक्टरी उपचार गराउनुपर्दैन । उपचारका लागि अस्पताल धाइरहनुपर्दैन । प्रत्येक रोगको निदान योगाबाटै सम्भव छ ।’ त्यसैले स्वास्थ्यको दृष्टिकोणले कराते अपरिहार्य मानिन्छ ।

सुरक्षाको दृष्टिकोणले कराते

भगवान् गौतमबुद्धकै पालादेखि करातेको अभ्यास गरिएको इतिहास पढ्न पाइन्छ । तत्कालीन समयमा भगवान् गौतमबुद्धले आफ्नो शिष्यलाई पढाउँदै गर्दा अर्थात् उपदेश दिँदै गर्दा त्यो ठाउँमा त्यतिबेला केही डाँका आएर खुबै दुःख दिन्थे । तपस्यास्थलमा आएर उनको तपस्या भंग गर्ने प्रयास गर्थे । त्यसो भएपछि बुद्धले आफ्नो शिष्यलाई उनीहरूबाट बच्न सुरक्षासम्बन्धी अभ्यास गराएको इतिहास पढ्न पाइन्छ । त्यसबाट बुद्धकै समयमा सुरक्षाका लागि कराते अभ्यास सुरु गरिएको रहेछ भन्ने बुझिन्छ । त्यसैले कराते शान्ति सुरक्षाका लागि पनि उपयोगी मानिन्छ ।

अनुशासनका लागि कराते

खेलाडी स्वभावैले अनुशासित हुन्छन् । उनीहरूलाई अनुशासनमा राख्ने माध्यम कराते पनि हो । कराते अभ्यास गरेको पहिलो दिन नै नयाँ खेलाडीलाई प्रशिक्षकले अनुशासनबारे प्रशिक्षित गराउनैपर्छ । पहिलो दिन झैझगडा नगर्ने, अन्याय अत्याचार नगर्ने, अन्यायमा परेकालाई न्याय दिलाउन मद्दत गर्ने, सामाजिक कार्यमा अगाडि बढ्ने बढाउने र समाजमा अनुशासित भएर बस्नुपर्छ भनेर सिकाइन्छ । सिकाइरहिन्छ । तसर्थ, कराते खेलको माध्यमबाट अनुशासन अभ्यास सुरु हुन्छ ।

नाम र पहिचानका लागि कराते

खेलकुदले सम्बन्धित व्यक्ति र राष्ट्रको पहिचान र नाम दिन्छ । चाहे त्यो जुनसुकै खेल होस् । विश्वका शक्तिशाली देशलाई पनि चाहे त्यो आणविक होस् या आर्थिक रूपमा कमजोर होस्, शक्तिशाली मानिएका देशलाई पनि कमजोर मानिएका देशले खेलकुदको माध्यमबाट पराजय गरेको इतिहास छँदै छ । त्यसैले कराते व्यक्ति र राष्ट्रको नाम र पहिचानका लागि महत्वपूर्ण मानिन्छ । स्वास्थ्यका लागि कराते, राष्ट्रका लागि कराते, आत्मरक्षाका लागि कराते ।

(गिरी, हलेसी सितोरियो कराते क्लब प्रशिक्षक हुन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार