१४ हजार घरमा स्याउ बगैँचा भएको जुम्लाबाट १७ करोडको स्याउ निर्यात


जुम्ला । जुम्लाबाट यसपटक १७ करोड रुपैयाँको स्याउ निर्यात भएको छ । जिल्लाबाट आर्थिक वर्ष २०७५÷०७६ को भदौदेखि कात्तिकसम्म व्यापारीले १७ करोड बढीको स्याउ निर्यात गरेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका अनुसार जिल्लामा झण्डै तीन हजार ४०० टन स्याउ उत्पादन भएकामा दुई हजार ३०० टन स्याउ निर्यात भइसकेको छ । आठ स्थानीय तहबाट स्याउ निर्यातका लागि ३०० व्यापारीले अनुमति लिएका थिए ।

स्थानीय तहले प्रतिकिलो स्याउ निर्यातको ५० पैसाका दरले कर लिएको छ । व्यापारीले सरदरमा प्रतिकिलो ५० रुपैयाँका दरले कृषकबाट स्याउ खरिद गरेका हुन् । यहाँ उत्पादित स्याउ काठमाडौँ, सुर्खेत, विराटनगर, पोखरालगायत देशका प्रमुख सहरमा निर्यात गरिन्छ ।

प्रतिकूल मौसमका कारणले यस वर्ष स्याउ उत्पादन सोचेअनुसार नभएको स्याउ सुपरजोनका वरिष्ठ कृषि अधिकृत टीकाराम शर्माले बताए । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लाको तीन हजार ४५० हेक्टर जमिनमा स्याउ खेती गरिन्छ । गत वर्ष तीन हजार ७०० टन स्याउ निर्यात भएको थियो । जुम्लाका कुल १८ हजार घरधुरीमध्ये १४ हजार घरमा स्याउका बगैँचा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार