भुम्जुमा १२ लाख लिटर क्षमताको पानीट्याङ्की

दीपेन्द्र राई

च्यास्मिटार (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका मेयर इबन राईले च्यास्मिटारको भुम्जुमा १२ लाख लिटर क्षमताको पानीट्याङ्की बनाइने बताएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको भुम्जुमा बन्न लागेको पानीट्याङ्की निर्माणस्थल र च्यास्मिटारमा भण्डारण गरिएका निर्माणसामग्रीको अवलोकनक्रममा मेयर राईले भुम्जुमा चार–चार लाख लिटर क्षमताको तीन पानीट्याङ्की बनाउन लागिएको जानकारी गराए ।

भुम्जुमा रहेको टेलिकमको टावरनजिक पानीट्याङ्की निर्माण गरिनेछ । हलेसी सुख्खा क्षेत्र पम्पिङ आयोजना अध्यक्षसमेत रहेका उनले ट्याङ्कीमा संकलित खानेपानी हलेसी तुवाचुङ नगरपालिका १, २, ३ र ४ नम्बर वडावासीलाई दैनिक वितरण गरिने सुनाए ।

दूधकोसीको लुलिमाबेंसीबाट लिफ्टिङ गरेर भुम्जुमा निर्माण गर्न लागिएको पानीट्याङ्कीमा पानी जम्मा गरिनेछ । लुलिमाबेंसीबाट लिफ्टिङ गरेर छैटौं स्टेपमा भुम्जुमा खानेपानी पुर्याइनेछ । आयोजना सम्पन्नपछि हलेसी तुवाचुङ नगरपालिकाका डिकुवा, बाहुनीडाँडा, च्यास्मिटार र बडहरेवासी लाभान्वित हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार