सोल्टिनीले धोका दिएपछि लाहुरे

मान तबेबुङ (नाजम) ले १८ वर्ष ब्रिटिस आर्मीमा काम गरे । उनले भर्ती भएकोे सुरुवाती दिनमा केटीलाई पठाएको पत्रको जवाफ आउँदा सजाय भोग्नुपर्यो । भर्ती भएर पहिलोपटक जाँदा हङकङलाई भस्मे फाँडेको ठुटाजस्तो देखेका उनले जागिरको अन्त्यतिर इराकमा सद्दाम हुसेलाई सत्ताच्यूत गराउने अभियानको अग्रमोर्चामा रहेर काम गरे । मान तबेबुङले मनुता काम्बाङसँग लाहुरे कथा यसरी सुनाए :

ताप्लेजुङको लिङ्खिम गाविसमा २०३० सालमा मेरो जन्म भयो । परिवारको एक्लो छोरो । म सुखसँग हुर्कें । त्यतिबेला गाउँमा पढ्ने चलन थिएन । मलाई पनि कक्षा ५ पुग्दै स्कुल बन्द गराउने भए तर मानिनँ । गाउँमा पढ्नेलाई खासै मन पराउँदैनथे । तर, मलाई पढ्नुपर्छ भन्ने लाग्थ्यो । त्यसैले १२ कक्षासम्म पास गरें ।
त्यो बेला बजार जाने, धान नाच्ने चलन थियो । हामी चेली–माइती मिलेर बजार जान्थ्यौँ । दुई/तीन दिन उतै बास हुन्थ्यो । घर आउँदा कहिलेकाहीं दुई÷तीन छाक भोकै पनि बस्नुपथ्र्यो । तर पनि बजार भनेपछि हुरुक्कै ।
म उमेरमा साह्रै राम्रो थिएँ रे । हुन त अहिले पनि ठिकै छु । पल्टन जाने मन थिएन । तर, के गर्नु जुन सोल्टिनी मन पराउँथें उनलार्य लाहुरेले टपक्कै टिपेर लैजान्थे । लाहुरे भनेपछि सोल्टिनीहरू मानिहाल्ने । त्यसमा मलाई साह्रै मन परेको एउटी थिइन् । उनले पनि मन पराएकी थिइन् । तर, खोइ के भयो उनले पनि लाहुरेलाई रोजिन् । त्यसपछि साह्रै दुःखी भएँ । अनि म पनि आर्मी बन्छु भनेर लागिपरें । गल्ला पास पनि भएँ । त्यसपछि हिल सेलेक्सन हुँदै सेन्टर सेलेक्सनमा पनि पास भएँ ।

सोल्टिनीले धोका दिएपछि लाहुरेमात्रै भइनँ, इतिहास बुझ्ने मौका पाएँ । छोरीहरूको भविष्य सुनिश्चित गर्न सके अझ धेरै गर्ने उमेर छ । त्यसैले कोहीसँग केही गुनासो छैन ।

सन् १९९४ बाट सुरु भयो आर्मी जीवन । तीन दिनसम्म पोखरामै राखे । आधारभूत कुरा सिकाए । दुःखलाग्दो कुरा मैले साह्रै माया गरेर पालेको कपाल पनि काट्नुपर्यो । त्यो बेला साह्रै नमीठो लाग्यो । तर, अर्कोतिर म पनि अब कमाउँछु भन्ने सोचेर खुसी पनि थिएँ ।
तीन दिन पोखरा बसाइपछि ठुल्ठूला बसमा बसेर काठमाडौँ पुगियो । त्यो बेला हाम्रो पल्टनको भाग्य नै भन्नुपर्छ लेडी डाइना नेपाल भ्रमणमा आएकी रहेछिन् । उनलाई प्रत्यक्ष देख्ने मौकामात्र पाएनौँ, हात मिलाउने सौभाग्य पनि पायौँ । उनी साँच्चिकै राम्री, प्रतिभाशाली, वास्तवमै परीजस्तै थिइन् । त्यही बेला उनले ब्रिटिस गोर्खा नेपाल (बिजिएन) ललितपुर, जाउलाखेलमा एउटा पीपल रोपेकी थिइन् । त्यो अहिले ठूलोे रूख भएको छ । म नेपाल आउँदा जहिले हेर्न पुग्थेँ ।
त्यहाँ बस्दाको एउटा रमाइलो प्रसंग पनि छ । हाम्रो पूरै पल्टनलाई त्यही बस्ने व्यवस्था थियो । हामीलाई राखेको कोठाबाहिर बार्दली थियो । त्यसकै पारिपट्टि सिभिल नागरिक (सर्वसाधरण) बस्ने घर थियो । त्यो घरमा दुई÷तीनजना बहिनी बस्थे । हामी मादल बजाउँदै रमाइलो गथ्र्याैं । उनीहरू रमाइलो मानेर हेर्थे । हामी झन् रमाइलो गथ्र्यौं । त्यसैक्रममा हामीले उनीहरूलाई चिट्ठी लेखेर ढुंगामा पोको पारेर फाल्न थाल्यौँ । उनीहरू पनि त्यसैगरी उत्तर पठाउँथे ।
एक दिन उताबाट निकै ठूलो ढुंगा पोको पारेर फाले । हामीले समाउन सकेनौँ र त्यो सिधै गएर झ्यालको सिसामा बजारियो । त्यसपछि हाम्रो पूरै पल्टनले त्यसको सजाय भोग्नुपर्यो । भर्खर–भर्खर टुसाएको मायापिरती ध्वस्त भयो ।
काठमाडौँबाट ट्रेनिङका लागि हामी हङकङ जाने भयौँ । हाम्रा लागि पूरै बोइङ प्लेन नै रिजर्भ भयो । हामी त मादल बजाउँदै गयौं । तर, म गाडीमा त मात लाग्ने मान्छे, झन् प्लेनमा त झन्डै बिरामी नै परँे । पुग्ने बेलामा एक साथीले हङकङ पुगियो है भनेको सुनें। उठेर हेरेको त पूरै हाम्रो गाउँको भस्मे फाँडेर आगो लगाएपछि रहेको रूखको ठुटाजस्तै देखेँ । मनै अमिलो भयो छि ! यस्तो पो हङकङ, तर बिस्तारै ती ठुटा बढ्दै गएर आकाश छुने बिल्डिङ घर पो बन्यो । त्यसपछि रमिता हेर्दै हामी पुग्यौँ– ट्रेनिङ फिल्डमा ।
डरलाग्दो गुरुजीहरू हेर्दै पसिना छुट्यो । त्यहीमध्ये द्रोण गुरुङ भए हाम्रा गुरुजी । ज्यान हेर्दै डरलाग्दो त्यसमाथि उनी तर्साउने स्वभावका थिए । उनी भन्थे, ‘म भर्खरै टाइनसँग भिडेको थोरैले मात्र हारेको ।’ हामी साँच्चिकै होला भन्ठान्थ्यांै ।
त्यहाँ पनि गाउँमा जस्तै सेल्लोक्वा न्याउली कराउँथ्यो । साह्रै नमीठो लाग्थ्यो । विरह चलेर आउँथ्यो । बीचमा समुद्र नभए भागेर जान्थेजस्तो लाग्थ्यो । तर के गर्नु, बीचमा थियो सात समुद्र । ट्रेनिङकै क्रममा एक दिन सुटिङ प्राक्टिसमा मेरो फाइरिङ गर्ने पालो थियो । म भुइँमा सुतेर हान्न लागेको थिएँ । गुरुजीलाई केमा चित्त बुझेन खोइ ? मेरो खुट्टा कुल्चिदिए । साह्रै चित्त दुख्यो । डाँको छाडेर रोएपछि उनले तेरै लागि हो मन नदुखा भनेर सम्झाए । यस्तै तीतामीठा अनुभवसँगै नौ महिने ट्रेनिङ पूरा भयो ।
हामी पर्फेक्ट आर्मी भयाँै । त्यसपछि सबैलाई आ–आफ्नो विभागमा जानुपर्ने भयो । पल्टनमा सबै भन्दा प्यारो लाग्ने साथीसँग छुट्नुपर्दा नरुने कोही थिएन । अचम्मको कुरा त कडा स्वभाव भएका गुरुजीको पनि आँखा रसाएको देख्दा पहिलोपटक यिनीहरू पनि मान्छे नै रहेछन् जस्तो लागो ।
म कालो पल्टन भनेर चिनिने १० जीआरमा परेँ, त्यहीं कसम खाएँ । हङकङ त्यो बेला पनि ब्रिटिस सरकारको अधिनमा थियो । चिनियाँ हङकङ पस्ने कोसिस गर्थे । हामीले उनीहरूलाई रोक्न बोर्डर सुरक्षामा तैनाथ रहनुपथ्र्यो । त्यहीक्रममा एक दिन एउटी बूढी आमा पारिबाट वारि तर्न खोज्दै थिइन् । दुई चिनियाँ आर्मी अफिसरले ती बूढी आमालाई नराम्रोगरी पिटेको देख्दा साह्रै नराम्रो लाग्यो ।
हाम्रो पल्टन युके सर्यो । युकेमा म भुसेनामा कार्यरत थिएँ । त्यसमा पनि भुसेनाको स्पेसल अफिसर स्नाइपर सेक्सनमा काम गर्थें । हामीले कुनै पनि लडाइँ हुँदा अगाडि गएर उनीहरूबार सम्पूर्ण जानकारी हासिल गर्नुपथ्र्याे ।
इराकमा सद्दाम हुसेनलाई सत्ताच्यूत गर्ने मिसनमा हाम्रो १ सय ५ जनाको गोर्खा पल्टन र गोराको वान रोयल आरिस पल्टन सम्पूर्ण तयारीसाथ त्यहाँ पुग्यो । त्यो बेला हरपल मनमा डर पनि लाग्थ्यो । हरेकपटक पाथिभरा देवीलाई सम्झन्थेँ । अरू साथीहरू पनि भागवान्लाई प्रार्थना गर्थे । लडाइँ नहोस् भनेर कामना गर्थे ।
कुनै पनि आर्मीले लडाइँ होस् भन्ने चाहँदैनथे । कसैलाई नोक्सान पुगोस् भन्ने सोच्दैनथे । तर, सुरक्षा उसको जिम्मेवारी हो । मैले इराक टेक्दा त्यहाँ विचित्रको उराठलाग्दो संसार देखेँ । तेल गाउँमा बगेको खोलाजस्तै बग्दोरहेछ । तर, त्यस्तो ठाउँको जनता भने मागेर खाने, बाटोको फोहोर खाने कुरा खाने । जताततै तेलको नाली गोली हानेर फुटाएको अनि आगो लगाएर आगोको मुस्लोको कालो धूवाँले पूरै आकाश नै कालो देखिने । बाटोमा बिजुलीको खम्बा ढलेका, लडाकुको जुत्ता, हेल्मेट अनि भुस्याहा कुकुर जलेको देखेर साँच्चिकै विरक्त लाग्दो समय अहिले पनि सम्झिँदा निराश हुन्छु ।
चौबीसै घन्टा समाचार सुनेर बस्थौँ । यो सबै रोकियोस् भन्ने चाहन्थ्यौँ । त्यहाँका लडाकु धेरैजस्तो त सानो उमेरका हुन्थे । उनीहरूलाई पैसाको लोभ देखाएर प्रयोग गरेका थिए । देख्दै मायालाग्दो । जेहोस् अन्त्यमा जित हाम्रो भयो ।
म पहिलेदेखि नै गीत गाउन मन पराउँथे । पछि पल्टनमै हुँदा मेरीे जीवनसाथीले गीत गाएर एल्बम निकाल्ने हौसला दिइन् । त्यसैले एउटा एल्बम पनि गरेँ । दुई छोरी र श्रीमतीसँग अहिले खुसीसाथ बसेको छु । सन् २०१२ मा रिटायर्ड भएँ । अहिले विभिन्न संस्थामा काम गर्छु ।
सोल्टिनीले धोका दिएपछि लाहुरेमात्रै भइनँ, इतिहास बुझ्ने मौका पाएँ । छोरीहरूको भविष्य सुनिश्चित गर्न सके अझ धेरै गर्ने उमेर छ । त्यसैले कोहीसँग केही गुनासो छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार