१ वर्षमा १ लाख कोसा केरा बेच्ने लक्ष्य

दीपेन्द्र राई

बाहुनीडाँडा (खोटाङ) । बाहुनीडाँडा, कदुवा (खोटाङ) का फौदसिं कार्कीले १८ महिनाअघि पाँच सय बोट केरा रोपेका थिए । हिजोआज कार्कीको केरा बगानमा दैनिक एक सयदेखि डेढ सय कोसा केरा पाकिरहेका हुन्छन् । लसी व्यापारीसमेत रहेका उनले त्यही केराबाट लसी बनाएर बेच्ने गरेका छन् ।

दुई वर्षअघि उनले परीक्षणका लागि ५० बोट केरा रोपेका थिए । केरा संसारको सबै ठाउँमा पाइने फल हो भनेर विकिपिडिया (एक स्वतन्त्र विश्वकोश) मा उल्लेख छ । परीक्षणका लागि रोपेको केराले आस जगाएपछि उनले पाँच सय बोट केरा रोपेका हुन् । त्यतिबेला ९० हजार रुपैयाँजति लगानी गरेर रोपेको केराले उत्पादन दिन थालेपछि उनी कम्ती खुसी छैनन् । मिहिनेतको फल फलेपछि नरमाउने किसान को होलान् र ।

बाहुनीडाँडाको लुलिमाबेंसीमा रहेको बाँझो खेत खनजोत गरेर केरा रोप्दासम्म ९० हजार रुपैयाँ खर्च भए पनि लगानी र मिहिनेतले आम्दानी दिन थालेको छ । ‘अब पाँच सय बोट केरा थप्दै छु,’ उनले भावी योजना सुनाए, ‘एक वर्षमा एक लाख कोसा केरा बेच्ने उद्देश्य लिएको छु । उद्देश्य पूरा नभइन्जेल केरा थप्दै जान्छु ।’

सम्बन्धित किसानमात्रै मिहिनेती भएर नपुग्ने उनको भनाइ छ । ‘नमुना किसानका लागि हलेसी तुवाचुङ नगरपालिकाबाट आर्थिक सहयोग पाए धेरै काम गर्न सकिन्थ्यो,’ उनले भने, ‘सुलभ कृषि कर्जाका लागि नगरपालिकाले सहजीकरण गरिदिए मजस्ता किसान लाभान्वित हुने थियौं ।’

त्यतिले मात्रै पुग्दैन । त्यसो भए के गरिदिनुपर्छ त ? ‘हलेसीबाट हप्तैपिच्छे प्राविधिक ल्याएर मैले रोपेको केरा देखाउन सक्दिनँ,’ उनको अपेक्षा छ, ‘नगरपालिकाले निःशुल्क प्राविधिक सुविधा दिए मजस्ता किसान लाभान्वित हुने थियौं ।’
फौदसिं कार्कीले आफ्नै बलबुताले केरा खेती गरिरहेका छन् । केरामा केही समस्या देखिए कृषि प्राविधिक विशेषज्ञको सल्लाह लिन चितवनमा टेलिफोन गर्छन् । त्यतिले मात्रै समस्या समाधान हुँदैन । अनि वागबानीतिर धाउँछन् । वागबानीको अध्ययन अवलोकन गर्छन् ।

किसानलाई प्राकृतिक विपत्तिले दुःख दिनु अस्वाभाविक होइन । हावाहुरी चल्यो भने लगाइएका बालीनाली सखाप पार्छ । हावाहुरी चल्नसाथ उनको निद्रा भंग हुन्छ । हावाहुरीले केरा ढालिदिन्छ । ‘समाधानको उपाय पनि छ,’ उनले सुनाए, ‘इन्सुरेन्स गर्न चाहेर पनि पाएको छैन । इन्सुरेन्स गर्नमात्रै पाए पनि घाटैघाटा सहन पर्दैनथ्यो ।’

गाउँठाउँमा बजार अभाव छँदै छ । बजार व्यवस्थापनका लागि नगरले पहल गर्नुपर्ने उनको ठम्याइ छ । सम्भव भए त नगरले नै किसानको उत्पादन बजारसम्म पुर्याउन निःशुल्क यातायात व्यवस्था गरिदिनुपथ्र्यो ।

केरा किसानका रूपमा परिचित उनले एकताका तरकारी खेतीसमेत गरेका थिए । हिजोआज केरा खेती गर्छन् । लसी व्यापारीका रूपमा परिचय बनाएका उनले दैनिक १० हजारको लसी बेच्दै आएका छन् । उनले केरा खेती थालेपछि एकजनालाई प्रत्यक्ष र चारजनालाई अप्रत्यक्ष रूपमा रोजगारी दिएका छन् । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाएकालाई उनले सालिन्दा तीन लाख रुपैयाँ पारिश्रमिकै लागि छुट्ट्याउनुपर्छ ।

‘गलेको बेला पाकेको केरा’ भन्ने नेपाली उखान प्रचलित छ । गलेकालाई पाकेको केरा खुवाउन उनी लागिपरेका छन् । केरामा भिटामिन ‘ए’ र ‘बी’ पाइने बताइन्छ । पाकेको केरामा क्यान्सरविरुद्ध लड्ने शक्ति हुन्छ भन्ने गरिएको छ । केरा बेचेर लखपति बनेको, गहना बेचेर केरा खेती, विदेशबाट फर्केर केरा खेती शीर्षाकृत समाचार बेलाबखत पढ्न, सुन्न पाइएकै छ । केराको महत्व दर्शाउन केरा महोत्सवसमेत हुने गरेको छ ।

केराबाट मःमः, पकौडा, रोटी, खीर, फिङ्गर चिप्स, चिप्स, चिल्ली र अचार पनि बनाइन्छ भन्ने केरा किसान फौदसिं कार्कीले सुनेकामात्रै हुन् । सुने पनि उनले त्यस्तो परिकार बनाउने सोचमा छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार