बक्सिङ छाडेर साहित्यमा लागेका भर्तीवाल


नेपालमा पछिल्लो समयमा ‘डायस्पोरा’को चर्चा बढी हुन थालेको छ । प्रवासमा रहेर नेपाली साहित्य कोर्नेहरूले आफूलाई डायस्पोरिक भनाउँदै आएका छन् । कतिले भने प्रवासमा लेखिएका नेपाली साहित्यलाई ‘प्रवासी नेपाली साहित्य’ भनिनुपर्छ भनेर आवाज उठाइरहेका छन् । तर, भारतीय सेनामा रहेका नेपाली साहित्यकर्मीहरूले भने आफूहरूलाई ‘परदेशी’ भन्न रुचाउँछन् । भारतीय सेनामा रहेका मोहन राई ‘परदेशी’ (हाल : अवकाश) सुरेन्द्र लिम्बू ‘परदेशी’ हरूले आफ्नो नामको पछाडि परदेशी फुर्को राखेकोले मात्र नभई त्यहाँ रहने सर्जकहरूले ‘अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह’ नामक एउटा गतिलो साहित्यिक संगठन खोलेर परदेशी साहित्यको लागि अन्तर्राष्ट्रिय हातेमालोसमेत गरिरहेका छन् । जसका अध्यक्ष सुरेन्द्र लिम्बू ‘परदेशी’ हुन् ।
परदेश वा मुगलान जानेक्रम नेपालमा पुस्तौंदेखि चलिआएको हो । रोजगारीको सिलसिलामा भांैतारिँदै भारतका विभिन्न प्रान्तमा पुग्नु उबेलाको समयमा परदेश, अर्थात् आफ्नो देश छोडी परको देश भयो । परदेशीहरू कति घरगाउँ फर्केर आए, कति उतै हराए । हराउनेहरूले आफ्नो मातृभूमिको सम्झनामा कोरिएका साहित्य डायस्पोरिकको दर्जा पाउन सकेका छैनन् । वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा पुगेर साहित्य कोर्नेबित्तिकै डायस्पोरिक भनिने परिपाटीप्रति अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहले फरक धारणा पेस गरेको छ । उहाँहरूका अनुसार परदेशी लोकमान्यतामा आधारित शब्द हो । यही अभियान लिएर सुरेन्द्र लिम्बू ‘परदेशी’ दौडिरहेका छन् । कहिले असममा भइरहेको नेपाली साहित्यमा भाग लिइरहेका हुन्छन् त कहिले नेपालमा भारतीय साहित्यकारको हुल लिएर आइपुग्छन् ।
विश्व नेपाली साहित्य महासंघको कार्यक्रममा पनि उनी सरिक हुन पुगे । महासंघका उनी उपाध्यक्ष पनि हुन् । साहित्यका लागि उनको लगाव देखेर अरू त अरू, नेपाली साहित्यका लागि जुनसुकै देश पुग्ने विश्वासदीप तिगेला पनि चित खाए ।
सुरेन्द्र लिम्बूको शुरुवाती दिनहरू साहित्यसँग नजिक छैनन् । उनको जीवनमा कहिले राष्ट्रियस्तरको बक्सिङ खेलाडी त कहिले जिल्लास्तरको विद्यार्थी नेताको परिचय भिरिएका छन् । साहित्य कोर्नु, पत्रकारिता गर्नु, अभिनय गर्नु उनको सोखमात्र थियो ।

भर्ती हुने सिजन पनि पर्खिरहन परेन । शरीर जाँच्ने, दौडने, ह्याभिङ सेटअप गरिरहन परेन । लखनउको ठूलो मैदानमा छिराइयो, अनि एक/एक गर्दै बक्सरहरू भित्रिए । उनीहरूसँग बक्सिङ खेल्नुपर्ने भयो । जोश थियो, अनि भविष्य पनि खोज्नुपर्ने । उनी सहित नेपालबाट पाँचजना गएकामा अमित तामाङ र उनी भारतीय गोर्खा सैनिकमा छानिए ।

मावादिन ८, फाबिङ संखुवासभामा जन्मिएका सुरेन्द्रले हाङ्थाना प्रावि, फाबिङबाट अक्षर चिनेका थिए । सरस्वती निमावि मावादिन, गौखुरी मावि मोराहाङ तेह्रथुमलगायतका स्कुलहरूपमा अध्ययनका लागि धाएका उनले सिंहदेवि मावि नुनढाकीबाट एसएलसी दिएका हुन् ।
सानैदेखि केही न केही गर्ने लक्ष्य लिएकै कारण औपचारिक रूपमा अध्ययनका लागि नभई अवसर खोज्नका लागि उनी धरान झरे । २०५२ मा बक्सिङ सिक्न थालेपछि छोटो समयमै राम्रो खेल्नेको रूपमा परिचित भए । ०५४ देखि त उनी प्रोफेसनल बक्सिङ खेलाडीका रूपमै छानिए । प्रोफेसनल भएपछि भएको चार खेलमा एक हारमात्र बेहोरेका छन् । खेल सुरु भएको पाँच सेकेन्डमै विपक्षीलाई नकआउट गरिदिएको समाचारले नेपाली छापामा राम्रै स्थान पाएको थियो ।
नेपालमा खेलक्षेत्रमा लाग्नेको भविष्य उती राम्रो छैन । तर, संगत थियो उस्तै । उनका गुरु किशोर सम्बाहाङ्फे विद्यार्थी नेता तथा चलचित्रकर्मी थिए । लामोसमय गुरुसँगै बसेका सुरेन्द्रले तिम्रै लागि, अपराधी को हो ?, वसन्त ऋतुजस्ता चलचित्रमा पनि अभिनय गरे । कलाकारितामै पो जीवन बनाउने कि भन्नेतर्फ पनि मन खेलाए । याक्थुङ कलाकार संघका सुनसरी जिल्ला सदस्य हुँदै सङ्खुवासभाको अध्यक्ष र केन्द्रीय सदस्य पनि बने ।
स्थानीय पत्रपत्रिकामा लेखरचना त प्रकाशित गराइरहेका थिए, जब इटहरी नगरपालिकामा बक्सिङ प्रशिक्षकका लागि अस्थायी नियुक्ति पाए त्यससमयदेखि ब्लास्टको इटहरी संवाददाता, अनेरास्ववियूको जनता बहुमुखी क्याम्पस इटहरीको प्राक अध्यक्ष तथा जिल्ला सदस्य बनेर सक्रिय रहन थाले । अस्थायी जागिरले मात्र नपुगेर इटहरीस्थित गजिन्द्र राईको १, ३, १, २ डिस्कोका हाकिम पनि बने । खेलक्षेत्रबाट नाम कमाएकाले डिस्कोको हाकिमका काम गर्दा हाकिमका रूपमा नभई बाउन्सरका रूपमा चिनिदिएपछि खेलक्षेत्रलाई मारपिटका रूपमा मात्र बुझिने रहेछ भन्ने अड्कल काटे । अनि बढीजसो क्याम्पसमा सक्रिय हुन थाले, जसबाट समाजसेवी छवि उज्यालिँदै गयो ।

०५९ मा उनको जीवनमा नयाँ मोड आयो । गणेशबहादुर राई र सावित्री राईकी छोरी लामो समयदेखिकी क्याम्पस सहपाठी विष्णु राई ‘लभ्ली’ पहिलो प्रस्तावमै जीवनसंगिनी बनेर आइन् । विवाह हुन बाँकी नै थियो, मगनी भएको तीन दिनमा तेह्रथुमका भारतीय लाहुरे मेघध्वज लिम्बू उनलाई खोज्दै आए । विभिन्न पत्रपत्रिकामार्फत सुरेन्द्रबारे थाहा पाएका रहेछन् । भारतीय गोर्खा भर्तीको प्रस्ताव आएपछि उनले धेरै सोँचे– नेपालको खेलक्षेत्र, राजनीति अनि भर्खर मगनी भएकी विष्णु । जीवनमा केही गर्नुपर्छ होइन, कमाउनुपर्छ भन्ने पाटोले जित्यो र लागे मेघध्वजको पछिपछि । अढाई वर्षको इटहरी बसाइ यसरी सकिएको थियो ।
उनी डकुमेन्ट लिएर लामबद्ध हुनुपरेन । अनि भर्ती हुने सिजन पनि पर्खिरहन परेन । शरीर जाँच्ने, दौडने, ह्याभिङ सेटअप गरिरहन परेन । लखनउको ठूलो मैदानमा छिराइयो, अनि एक/एक गर्दै बक्सरहरू भित्रिए । उनीहरूसँग बक्सिङ खेल्नुपर्ने भयो । जोश थियो, अनि भविष्य पनि खोज्नुपर्ने । उनी सहित नेपालबाट पाँचजना गएकामा अमित तामाङ र उनी भारतीय गोर्खा सैनिकमा छानिए । बक्सिङकै कारण भर्ती भएपछि खेल्नैपर्यो, सिक्किम, पुना, दिल्ली, उतराखण्ड, सिलोङ, असम, मनिपुर, मध्यप्रदेश, महाराष्ट्रलगायत कैयौं ठाउँमा उनले बक्सिङ खेलेका छन् । खेल्ने मात्र नभई आफ्नो पल्टनलाई धेरै मेडल तथा पुरस्कार पनि दिलाएका छन् ।
करिब आठ वर्ष बक्सिङमा बिताएपछि उनले खेलक्षेत्रबाटै विदेश जाने पनि मौका पाए । पश्चिम एसियाको लेबनान भन्ने देशमा सात महिना बिताए पछि उनले खेलक्षेत्रबाट सन्न्यास लिए । उनमा साहित्यले अग्घोरै बास बसिसकेको थियो । भर्ती भएको दुई वर्ष पछि अर्थात्०६१ मा ‘अधुरो जीवन’ नामक उपन्यास प्रकाशन गरे । ०६५ मा संगठित भएको अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह बनाएपछि भने निरन्तर साहित्यकै लागि बाँचिरहेका छन्, मानौं साहित्यकै जागिर खाइरहेका छन् ।
उक्त संस्थाबाट ‘परदेशी विम्बहरू…’ नामक साहित्यिक वार्षिक प्रकाशन भइरहेको छ । हालसम्म पाँच अंक प्रकाशित भइसकेको परदेशी विम्बहरूमा उनी कार्यकारी सम्पादकको भूमिका निर्वाह गरिरहेका छन् ।
ब्रिटिस सेना र भारतीय गोर्खा सेनाको इतिहास एकैसाथ सुरु भएको तर ब्रिटिस सेनाले लेख्ने साहित्य क्षणभरमै चर्चा हुने, भारतीयहरूको भने बिलाइजाने प्रवृतिप्रति दुःखी छन् । यसमा उनी डलर र भारुको कारण देख्छन् । साहित्यमा यस्तो हुनुहुँदैन भन्ने जोडदार आवाज पनि उठाउँछन् । भाषाभाषीमा कविता प्रकाशनपश्चात गोर्खाली साहित्यको इतिहास उधिन्ने योजनामा छन् । गोर्खाली साहित्यको जननी भारत भएकाले कठिन तर काम रोमाञ्चक र अर्थपूर्ण हुने उनको ठम्याइ छ । अहिले सुरेन्द्रको परिवार लखनउमै रहेका छन् । छोराहरू अविनाश र अर्पण लखनउमै पढिरहेका छन् । बुबाआमा भीमबहादुर लिम्बू र देशमाया लिम्बूसहित परिवारका अन्य दुई भाइ र दुई बहिनी नेपालमै आफ्नै घरजममा छन् ।
पल्टने जीवनको झन्डै आधाउधी समय बिताइसकेका छन् । जीवनमा मुख्यतया तीन फरक÷फरक क्षेत्रमा पाइला परेका छन् खेलकुद, राजनीति र साहित्य । बुढेसकालमा खेलकुदको प्रसंग नआउला तर देशको स्थिति कस्तो हुन्छ ? थाहा नभएकाले राजनीति नै गर्नुपर्छ या साहित्यकै मलजलमा होमिनुपर्छ एकिन भइनसकेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार