४ करोड लगानीमा जडीबुटी खेती सुरु


गोरखा । गोरखा नगरपालिका–१४ स्थित गोर्बुङमा करिब ४ करोड रुपैयाँको लागतमा जडीबुटी खेती सुरु भएको छ । आयुर्वेदिक औषधि बनाउन भारतीय बजारबाट आयात गर्नुपर्ने जडीबुटी नेपालमै उत्पादन गर्ने उद्देश्यले जडीबुटी खेती सुरु गरिएको हो ।
गोरखा आयुर्वेदिक कम्पनीलाई बिक्री गर्ने गरी गोरखा प्रांगारिक हर्बल फार्म दर्ता गरी जडीबुटी खेती सुरु गरिएकोे फार्मका सञ्चालकसमेत रहेका वनस्पति विज्ञ डा. खेमराज भट्टराईले बताए ।
‘गोर्बुङमा १०० रोपनी जग्गा खरिद गरेर अहिले ६० जातका जडीबुटी खेती सुरु भएको छ,’ सञ्चालक डा. भट्टराईले भने, ‘अझै यही ठाउँमा मात्र थप ३० जातका जडीबुटीको व्यावसायिक खेती गर्न सकिन्छ ।’

फार्ममा अमला, अशोक, मोरिंगा, दालचिनी, तेजपत्ता, कोइराला, निम्स, कालमेगलगायतका जडीबुटी खेती गरिएको उनको भनाइ छ । ‘समुद्र सतहदेखि करिब ६५० मिटर उचाइमा रहेको गोर्बुङ अमलाका लागि सबैभन्दा उपयुक्त भएकाले फार्ममा सबैभन्दा धेरै ठूलो जातको अमला लगाइएको सञ्चालकले जानकारी दिए । ‘सबैभन्दा धेरै एक हजार बोट अमला लगाएका छौं, त्यो पनि यहाँको नभई भारतबाट ल्याइएका उन्नत जातको अमला हो । अमलामात्रै करिब ४० रोपनी क्षेत्रफलमा खेती गरेका छौं,’ उनले भने । लेकमा सीमित जडीबुटी हुने तर गर्मी ठाउँमा बढी पाइने भएकाले खेतीका लागि उक्त ठाउँ छनोट गरिएको डा. भट्टराईले बताए ।
फार्ममा जडीबुटीको बेर्ना उत्पादनका लागि हरित गृह र उत्पादन भएका जडीबुटी सुकाउनका लागि एउटा सोलार डायर निर्माण गरिएको छ । जडीबुटी खेतीका लागि करिब ५०० मिटरको दूरीमा रहेका खोलाबाट पानी ‘लिफ्ट’ गरेर ल्याइएको उनले बताए । ‘फार्ममा अहिले चार कामदार छन् । पुसपछि दुई कर्मचारी थप गर्ने योजना रहेको छ,’ डा. भट्टराईले सुनाए ।
फार्मबाट उत्पादित जडीबुटी जिल्लामा रहेको आयुर्वेदिक कम्पनीलाई बिक्री गर्न सुरु गरिएको उनले बताए । उनले भने, ‘छिटो हुने भएकाले हामीले ४० हजारजतिको जडीबुटी बिक्री गरिसकेका छौं ।’
हाल गोरखा जिल्लामा रहेको गोरखा आयुर्वेद कम्पनीले मात्रै भारतबाट वार्षिक करिब पाँच करोडभन्दा बढीको जडीबुटी आयात गर्दै आएको छ । उक्त जडीबुटी सोही फार्मबाट उत्पादन गर्न सकिने भएकाले व्यावसायिक रूपमा खेती सुरु गरिएको उनले बताए । ‘पूर्ण रूपमा सञ्चालनमा आएपछि यही फार्मबाट वार्षिक एक करोड आम्दानी गर्न सकिन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हाम्रो योजना गोरखा जिल्लालाई जडीबुटीमा आत्मनिर्भर बनाउने पनि हो ।’
उत्पादित जडीबुटी गोरखासँगै अन्य जिल्लामा पनि निर्यात गर्ने योजना रहेको उनको भनाइ छ । गोर्बुङमा पूर्ण रूपमा फार्म सञ्चालन आएलगत्तै गोरखाकै पालुङटार नगरपालिका–८ धुवाँकोटमा २०० रोपनी र तनहुँको बन्दीपुर क्षेत्रमा पनि २०० रोपनी क्षेत्रफल जमिन खरिद गरेर जडीबुटी खेती सुरु गर्ने तयारी भइरहेको सञ्चालकले जानकारी दिए । उनीसँगै मणिध्वज जोशी, भगवतीकुमारी मैनाली उप्रेती र रामहरि सुवेदीले जडीबुटी खेतीमा लगानी गरेका छन् । संवत् २०४० मा स्थापना भएको गोरखा आयुर्वेदिक कम्पनीले उत्पादन गर्ने अधिकांश औषधि उत्पादनका लागि कच्चा पदार्थ भारतबाट आयात गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार