अकबरे खुर्सानी बेचेर २ लाख आम्दानी


पर्वत । रोजगारी अवसरको खोजीमा युवाहरू विदेश जानेक्रम बढिरहेका बेला पर्वतका एक युवाले अकबरे खुर्सानी बेचेरै राम्रो कमाइ गरेका छन् ।

जिल्लाको महाशिला गाउँपालिका–५ लुङ्खुका प्रकाश क्षेत्रीले व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गर्दै गाउँमै बसेर राम्रो आम्दानी गरिरहेका छन् ।

आठ रोपनी जमिनमा खुर्सानी लगाएका क्षेत्रीले एकपटकको उत्पादनबाट मात्र दुई लाख कमाउन सफल भएका छन् । उनले अहिलेसम्म १२ क्वीन्टल खुर्सानी उत्पादन भएको र यही वर्षमै त्यत्तिकै परिमाणको खुर्सानी फल्ने बताए । परीक्षणक्रममै राम्रो उत्पादन दिएका कारण खुर्सानी खेतीलाई अझै विस्तार गर्ने उनको योजना छ ।

गाउँपालिकाका अधिकांश वडामा विगतमा तरकारी बाहिरबाट आउने गरेको थियो । पछिल्लो समयमा गाउँपालिकाको सक्रियता र स्थानीयले पनि घरमै तरकारी उत्पादन गर्नुपर्छ भन्ने सोचले बाहिरबाट तरकारी आयात हुनेक्रम घट्दै गएको छ ।
खुर्सानीसमेत ठूलो परिमाणमा महाशिलामा भित्रिँदै आएकामा क्षेत्रीले त्यसलाई रोकेरै छाड्ने दाबी गरेका छन् । अहिले अकबरे खुर्सानीमात्र लगाएका प्रकाशले यही वर्षबाट रागे खुर्सानीको उत्पादन सुरु गर्ने बताए । यसका लागि उनले भारतको सिलोङ पुगेर रागे खुर्सानीको बीउसमेत ल्याइसकेका छन् ।

युवा कृषक क्षेत्रीको आम्दानी देखेर वडामा अन्य युवासमेत तरकारी खेतीप्रति आकर्षित हुनेक्रम बढेको महाशिला–५ का वडाध्यक्ष जीवन उच्चै ठकुरीले बताए । उनले भने, ‘तरकारीमा आत्मनिर्भर बन्नुपर्छ भन्ने अभियान सुरु गरेको गाउँपालिकाले अबको केही वर्षमा निर्यातको बाटो तय गर्दै छ । यो खुसीको कुरा हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार