बन्दुक चलाउनु कर्म, कलम चलाउनु रहर अनि धर्म

लाहुरे बन्नअघिदेखि नै उनी साहित्यका विभिन्न विधामा कलम चलाउँथे । अहिले पनि निरन्तरता दिइरहेकै छन् । भन्छन्, ‘लाहुरे हुनुपूर्व नै कविताको धङधङीले छोइएको थिएँ । यसर्थ, म कवि अनि लाहुरे भन्नु युक्तिसंगत ठान्छु ।’ बन्दुक चलाउनु मेरो कर्म हो । कलम चलाउनु पहिलो रहर अनि अब बिस्तारै धर्म पनि बन्दै गएको छ भन्ने कवि जगत नवोदितसँग तेस्रो आँखा डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

कलम बलियो हुन्छ कि बन्दुक ? तपार्इंले दुवैको प्रयोग गरिरहनुभएको छ ?
म दुवैलाई आ–आफ्नो ठाउँमा शक्तिशाली मान्छु । विद्यालयमा हुने वादविवादमा म जहिल्यै कलम बलियो भनेर तर्क गर्थें तर संसार बुझ्दै जाँदा धेरै यस्ता परिघटना छन्, जहाँ कलमले गर्न नसकेका काम बन्दुकले गरेका छन् ।
कलम र बन्दुकबीच फ्युजन भएको हो कि दुवैबीच प्रतिस्पर्धा चल्दै छ । कि शत्रुतापूर्ण सम्बन्ध छ ?
बन्दुक चलाउनु मेरो कर्म हो । कलम चलाउनु पहिलो रहर अनि अब बिस्तारै धर्म पनि बन्दै गएको महसुस गरेको छु । यिनीहरूबीचको तात्विक भिन्नता छर्लंगै देखिए पनि गहिरिएर हेर्दा मिलनबिन्दु पनि छ । मभित्र दुवैले आ–आफ्नो धर्म निर्वाह सापेक्षित ढंगले गरिरहेका छन् ।

तपाईं कवि लाहुरे कि लाहुरे कवि ?
म लाहुरे हुनुपूर्व नै कविताको धङधङीले छोइएको थिएँ । यसर्थ, म कवि अनि लाहुरे भन्नु युक्तिसंगत ठान्छु ।
मार्कपोलो र चिनियाँयात्री ह्वेन साङले लेखेको यात्रा वर्णन पढ्दा अहिलेको नेपाल र भारतको इतिहास बुझ्न महत्वपूर्ण स्रोत बनेको छ । जागिरकै सन्दर्भमा तपार्इं पनि विभिन्न देश पुग्नुभएको छ । तर, नियात्रा लेख्नुभएको छैन । किन कविता, गीत र मुक्तकमा मात्रै सीमित रहनुभएको ?
आंशिक रूपमा त मेरो नियात्रा पर्वते (बेलायतबाट प्रकाशित मासिक) को ‘मेरो स्तम्भ’ मा प्रकाशित छन् । संग्रहका रूपमा भने अलि समय पर्खनैपर्ने भएको छ । कारण जीवन धेरै हतारोमा बाँचिरहेको छ र मलाई हतारमा काम गरेर फुर्सदमा नपछुताउँ लागेको छ ।
नेपाली साहित्यले ‘डायोस्पोरा’ लाई कसरी हेरेको छ ?
वास्तवमै भन्नुपर्दा नेपाली साहित्यले ‘डायोस्पोरा’को कर्मकाण्डलाई सही रूपमा बुझ्न बाँकी छ । केहीले बुझ्ने प्रयत्नसम्म गरेका छन्, त्यो केवल अन्धाले हात्ती छामेर अड्कल काटेबराबर छ । धेरै काम हुन बाँकी छ, यो खण्डमा ।
नेपाली साहित्यले आफ्नो चिन्तन र शैली परिवर्तन नगर्ने हो भने नेपालबाहिरका सर्जकले कस्तो कदम चाल्लान् ?
अबको दस वर्षपछि नेपाली साहित्यलाई विश्व परिवेशमा पुर्याउन नेपालबाहिरका स्रष्टा र सर्जकले भूमिका खेल्नेछन् र मूलधारको साहित्य भनिनेहरू ‘डायोस्पोरा’ को साहित्यमा मिल्न आउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार