नाकले बाँसुरी बजाउँदै लाहुरेको जीविकोपार्जन

दीपेन्द्र राई


सँगै लाहुरे भएका नम्बरीले पेन्सन थाप्छन् । तर, उनी लाहुरे भए पनि पेन्सन थाप्दैनन् । लाहुरे भएर पनि पेन्सन थाप्न नपाउनुको पीडा खनिखोस्री साध्य छैन । ६ वर्ष लाहुरे जीवन झेलेका उनलाई बिहान–बेलुकाको जोहो गर्न कठिन परिश्रमचाहिँ गर्नुपरेको छैन ।
आफूसँग भएको कलाले उनीसहित परिवारका चार सदस्यलाई दुई छाक खान पुगेको छ । आफूसँग भएको कला र गला नै उनका लागि बैंक ‘ब्यालेन्स’ होे । त्यसैलाई ‘क्यास’ गरेपछि उनको भाँडामा चामल पस्छ । ग्यासचुल्हो बल्छ । दाल, तरकारी र सातामा एकपटक मासु किन्न पुग्छ । त्यति भएपछि त पापी पेटले निहुँ खोज्दैन । जीवनमा जे–जे गरे पनि पापी पेटकै लागि त रहेछ भन्ने उनको ठम्याइ छ ।
बीबी सुब्बालाई लाहुरले फापेन । सुब्बाले पाँच कक्षा पढेपछि पढाइ पनि त्यागिदिए । हातमा केही सीप थिएन । अलैँची स्याहार्दै बाल्यकाल बिताएका उनलाई गरिखाने उपाय सुझाउनै थियो । १२ वर्षको हुँदा उनलाई पढाइभन्दा गीत–संगीतले मोहनी लगायो । अनि लागे– बाँसुरी बजाउन । कसैले नगरेको काम गर्न रुचाउने उनले नाकले बाँसुरी बजाउन थाले । भने, ‘सुरु–सुरुमा काउकुती लाग्यो । नाक दुख्यो । अहिले बानी परिसकेको छ । नाकले बाँसुरी बजाएको देखेर कतिपयले कलियुगको कृष्ण आयो भन्दै तीनछक पर्छन् ।’

मैले पकाएको भात गोरासापलाई कहिल्यै मीठो लागेन रे । जहिल्यै ‘नो गुड’ भन्ने । मलाई पनि साह्रै रिस उठ्यो । भात चलाइरहेको पन्युले गोरासापको टाउकोमा बजाइ दिएँ । ऊ मर्यो कि बाँच्यो मलाई थाहा भएन ।

नाकले बाँसुरी बजाएरै उनी आफू पालिएका छन् । दुई छोरा र एक श्रमती पालेका छन् । नाकले बाँसुरी बजाएको हेर्न पैसा लाग्छ । भारतको दार्जिलिङ, सिक्किम, कालेम्पोङ र नेपालका विभिन्न जिल्लामा रहेका तीन हजार ७५ विद्यालय पुगेर उनले आफ्नो प्रदर्शन गरिसकेका छन् । उनको कला हेर्न कक्षा १ देखि ५ सम्मका विद्यार्थीले १० र ६ देखि १० कक्षासम्मका विद्यार्थीले २० रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्छ । तोकिएको शुल्क बुझाएपछि उनले नाकले बाँसुरी बजाउँछन् । त्यसपछि किरात राई जातिका आदिम यलम्बर बाजा, पातबाजा र लोपोन्मुख लोकबाजासमेत बजाएर मनोरञ्जन दिन्छन् ।
त्यतिमात्रै होइन, उनले कुकुर भुकेको, बिरालो, बाख्रा, काग कराएको, ढुकुर कुर्लेको, अभिनय (क्यारिकेचर) गर्छन् । क्यारिकेचर गरेको समय छेउछाउमा उल्लिखितमध्ये कुनै जनावार भए उनी नजिक सो जनवार आउने गर्छन् । उनी सम्बन्धित दलसम्बद्ध नेताले गर्ने भाषणको समेत क्यारिकेचर गर्ने गर्छन् । उनले एउटा विद्यालयमा ४० मिनेटभित्र उल्लिखित कला प्रदर्शन गर्न भ्याउँछन् ।
भूतपूर्व लाहुरेले ४० मिनेटभित्रमा कम्तीमा ३ हजार रुपैयाँ हात पार्छन् । दैनिकजसो एक विद्यालयमा मात्रै आफ्नो कला प्रदर्शन गर्दाको पारिश्रमिक जोड्ने हो भने नम्बरीले थाप्ने पेन्सनभन्दा बढी रुपैयाँ संकलन हुँदोरहेछ हगि ? हिउँचुली एकेडेमी भक्तपुरमा आफ्नो कला प्रदर्शन गरेर फर्कंदै गर्दा काठमाडौंको महाराजगन्ज चक्रपथमा भेटिएका उनले दार्जिलिङ, सिक्किमतिरको लवजमा भने, ‘सर, दैनिकजसो आफ्नो कला देखाउन कहाँ पाइन्छ र । एउटा विद्यालय पुगेर आफ्नो कलाबारे विस्तृत रूपमा जानकारी गराएपछि सम्बन्धित विद्यालयले समय मिलाएर बोलाउँछ हो, त्यसपछि जाने गरेको छु ।’ गत माघ ११ गते भेटिएका उनले हिउँचुली एकेडेमी भक्तपुरबाट ४० मिनेटमा हात पारेको ३ हजार रुपैयाँ पारिश्रमिकसमेत पंक्तिकारलाई देखाउन भ्याए ।

 

पुख्र्याैली घर पाँचथरको मेम्बेङ भए पनि उनका बुवा सिक्किम बसाइँ झरेका थिए । ५० हिउँद, बर्खा भोगिसकेका उनी सिक्किममै जन्मे । हुर्के । पुख्र्याैली थातथलो जाने आउने क्रम टुटेको छैन । दुई भाइ, दुई बहिनीमध्येका जेठोबाठो उनी तीन वर्षदेखि काठमाडौंमा छन् ।
काठमाडौंमा बस्नुको पनि स्वार्थ छ । मानिसको अर्काे परिचय भनेको स्वार्थ पनि त हो । साथी–सँगाती कोही डाक्टर, कोही शिक्षक, कोही नेता छन् तर उनी स–साना सपना साकार पार्न लागिपरेका छन् । तर, पूरा भएको छैन । उनको पहिलो सपना, आफ्नो कला प्रदर्शन गर्न विदेशसम्म पुगुँ भन्ने हो । दोस्रो, आफ्ना कला श्रव्यदृश्यमा उतारेर संगृहित गर्ने । यही सपना साकार पार्न उनी तीन वर्षदेखि काठमाडौंमा छन् । त्योभन्दा अघि सिक्किममै बस्थे ।
बुवाले ठेक्कापट्टा गरेर परिवार पाले । उनले बाँसुरी बजाएर परिवार पाल्दै आएका छन् । पुस्तान्तरमा फरक यत्ति हो । १२ वर्षको उमेरमा अलैँची स्याहारेर जीवन चलाउन सकिँदैन भन्ने निष्कर्षमा पुगेपछि उनी नाकले बाँसुरी बजाएर अरूले नगरेको काम गर्न थालेका हुन् । उनले यही काम गरेर सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङको मन जिते । चाम्लिङ उपस्थित हुने कार्यक्रममा पुगेर आफ्नो कला प्रदर्शन गरे । सिक्किममा निर्वाचन हुँदा चाम्लिङलाई जिताउन आफ्नो कलामार्फत अमूल्य योगदान पु¥याए । चाम्लिङले उनलाई विभिन्न समयमा सहयोगस्वरुप दिएको पैसाको हिसाब किताब गर्ने डेढ लाख भारतीय रुपैयाँ पुग्छ रे । पंक्तिकारसँग कुराकानी अवधिभरि उनले चाम्लिङको गुनगान गाइरहे ।
भूतपूर्व लाहुरे बीबी सुब्बाको लाहुरेगाथा अप्रिय छ । उनी १५ वर्षको हुँदा बोई भर्ती भए । गोर्खा मेजर, इन्द्रजित लिम्बू यारो भएकाले उनी बोई भर्ती लागे । बोई भर्ती भनेको उमेर नपुगे र पुगेपछि भर्ती जाने पाइनेबीचको प्रक्रिया हो । बोई भर्ती लागेपछि उनी तीन वर्ष ब्रिटिस क्याम्प धरानमा अल्मलिए । काम भात पकाउने ।

काठमाडौंमा बस्नुको पनि स्वार्थ छ । मानिसको अर्काे परिचय भनेको स्वार्थ पनि त हो । साथी–सँगाती कोही डाक्टर, कोही शिक्षक, कोही नेता छन् तर उनी स–साना सपना साकार पार्न लागिपरेका छन् ।

उमेर पुगेपछि भर्तीवाल भएर हङकङ पुगे । उनले अतीत कोट्याए, ‘सात महिनापछि हङकङबाट ब्रिटिस क्याम्प धरान फर्काए ।’ किन ? ‘आँखा कमजोर भएको निहँुमा नि,’ उनले दुःखेसो पोखे । धरान फर्केपछि उनै लाहुरेको भात पकाउने काम दोहोरियो । भात पकाउँदा कहिले जस पाएनन् । १० जीआर पल्टने र २११६२५४३ नम्बर छातीका उनले गर्व गर्दै भने, ‘मैले पकाएको भात गोरासापलाई कहिल्यै मीठो लागेन रे । जहिल्यै ‘नो गुड’ भन्ने । मलाई पनि साह्रै रिस उठ्यो । भात चलाइरहेको पन्युले गोरासापको टाउकोमा बजाइ दिएँ । ऊ मर्यो कि बाँच्यो मलाई थाहा भएन ।’
गोरासाप बाँचेका भए उनलाई मलाई केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौं चलान गरिँदैथ्यो । उनलाई २० वर्ष कारावास सजाय तोकियो । ‘१० वर्ष तीन महिनामा रिहा भएँ,’ उनले प्रस्ट्याए, ‘राजा वीरेन्द्रको वंशनाश भएको वर्ष माफी पाएँ । लगत्तै सिक्किम फर्कें ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार