सिडियो कुट्ने लाहुरे

नरेश खपाङ्गीमगर

‘न खाना मीठो लाग्छ न सुत्दा निन्द्रा लाग्छ’ । स्याहारसम्भार गर्ने तन्नेरी छोरीहरू नेपाल छाडेर तीन वर्षअघि युके आएका ७० वर्षीय खिमबहादुर थापा (पल्लीमगर) को अनुभूति हो यो । नेपाल बस्दा पेन्सन छैन, यहाँ बस्दा छोराछोरी साथ छैन । चिन्तैचिन्ताले औषधिको भरमा बाँच्नुपरेको छ ।
१८ वर्ष उमेर नाघेका तीन छोरीलाई युके ल्याउन मुद्दामामिला झेल्दै आएका पूर्वगोरखा सैनिक थापाले ९ वर्ष १८० दिन ब्रिटिस सेनामा काम गरे । बोनिर्योको लडाइँ सकिएपछि कटौतीमा परेका थापा पेन्सनबाट वञ्चित छन् । पेन्सन हुनेलाई त नेपालमा बसे पनि पेन्सन आउँछ । हामी नाम कटुवालाई नेपाल गए न भत्ता आउँछ न पेन्सन । यहाँ बसे परिवारसित विछोडिनुपर्ने । तीतो यथार्थ ओकल्दै थापाले थपे, ‘हामी नामकटुवा त धर्मसंकटमा छौँ हजुर ।’
गोठालो बन्यो लाहुरे
गुल्मी हुँगा गाविस वडा नम्बर ६ मा खिमबहादुर जन्मे । खेतीकिसानी गर्ने पिताका दुई श्रीमतीतिरका आधा दर्जन छोरामध्येमा उनी साइँला हुन् । ६ दशकअघिको थापाको बाल्यकाल र अहिले आकाशपातालको फरक छ । जिल्लाभरिमा सदरमुकाममा मात्र स्कुल थियो । बाँकी अधिकांशको काम हुन्थ्यो खेतिपाती । बस्तु गोठालो । खिमबहादुरको परिवारको आर्थिक स्तर निम्न थियो । राणा शासनका स्थानीय एजेन्टको रैती बन्नुपर्ने । त्यतिबेलाको परिवेश स्मृतिमा ल्याउँदै थापा भन्छन्, ‘किसानलाई सारै दुःख थियो । आफ्नो मकै छर्ने बेलामा गोरु फुकाएर जिम्मालको बारी जोतिदिनुपर्ने । नत्र सजाइँ भोग्नुपर्ने । ठेकी बेठी तिर्नुपर्ने ।’

सबैलाई खुरुरु दगुर्न लगाइयो । चारजनालाई एकातिर छुट्याइयो । बाँकीले ठाने– चारजना मात्र भर्ती भएछन्, हामी गैएछ गोलखाडी । तर, होइन रहेछ ती त फालिएका रहेछन् ।

अर्कोतिर बाहुन, क्षेत्रीले शोषण गर्दा जनजाति, दलितको आर्थिक स्तर जर्जर बनाइएको उनी सम्झन्छन् । यस्तो सास्तीमा बाँच्नुभन्दा बरु मरे एक शोक बाँचे केही कमाइला भनेर उनले भर्ती हुने निश्चय गरे । घरसल्लाह गरिरहन जरुरी ठानेनन् । बाउलाई आफ्नो निर्णय सुनाए । ‘तेरो विचार’ बाउले सहज लिए । आमालाई भनेनन् । रुन्छिन् भन्ने डरले । बाउसित बाटा खर्च पनि मागेनन् । बाउले पनि सम्झेर दिएनन् । बरु एकजना साथीसित १५ रुपियाँ मागे ।
गुल्मीबाट चार दिन हिँडेपछि पुगियो तत्कालीन भर्ती केन्द्र पक्लिहवा । गल्लाले गाउँ–गाउँबाट खरितेले पशु जम्मा गरेझैँ गरेर २६ ठिटा पक्लिहवा पुर्याएका थिए । त्यतिबेला भर्ती गर्न मान्छे चाहिएको रहेछ । सबैलाई खुरुरु दगुर्न लगाइयो । चारजनालाई एकातिर छुट्याइयो । बाँकीले ठाने– चारजना मात्र भर्ती भएछन्, हामी गैएछ गोलखाडी । तर, होइन रहेछ ती त फालिएका रहेछन् । ख्यालख्यालमै सन् १९६१ खिमबहादुर लाहुरे भए ।
दुई साता बसाइपछि थापाको टोलीलाई नौतुना, जोगमुनीको बाटो हुँदै धरान लगियो । ६ महिनापछि पठाइयो मलेसियाको सुँगैपटानी । १३ नम्बर सेक्सनमा राखियो उनलाई । तालिममा बित्यो नौ महिना । सातपत्र खुइलिनेगरी सास्ती पाइने तालिमको सन्दर्भ कोट्याउँदा थापाको जवाफ यस्तो थियो, ‘तालिमभन्दा सेक्सन कमान्डरको हुकुमी शासन गाह्रो ।’ कमान्डरले तालिमेलाई बुटले हान्नु, कुखुरा (मुर्गा) बनाउनु, नालीमा सुताउनु ‘नित्यकर्म’ नै भैगए । सायद प्रजातन्त्र र मानवअधिकारको जननी बेलायतबाट गोरखा अफिसरले सिकेको पाठ होला । तपार्इंले पनि कुनै सजाय पाउनुभो कि ? उनलाई सोधियो । ‘चोखो त को रहला र । अरू नाच्छन्, आफू उत्तानो टाङ लगाएर मुर्गा बन्नुपथ्र्यो ।’
तालिम सकिएपछिको बाँडफाँडमा उनी सिग्नलमा परे । सिग्नलमा क्षमताअनुसारको जिम्मेवारी दिइने । तगडाहरू रेडियो टेक्निसियन, म्यासेट टाइपराइटर, औसतहरू अपरेटर, ड्राइभर, कुक । उनलाई लगियो ड्राइभिङमा । कम्युनिकेसन नहुने, फ्रिक्वेन्सीले नसमेटेका खोँच, डाँडा वारिपारि सञ्चार सम्बन्ध मिलाइदिने काम गर्नुपथ्र्यो, उनले । सन् १९६४ मा बोनिर्योको लडाइँ सुरु भयो । म्यासेज आमोदप्रमोद गराइदिँदा सुनिन्थ्यो, ‘रूखले च्यापेर यतिजना मरे’, ‘पहिरोले यतिजनालाई बगायो’ । तर, झडपमा परेर यति मरे भनेर कहिल्यै सुनिँदैनथ्यो रे । उनको बुझाइमा दोहोरो भिडन्तमा मरे पनि प्राकृतिक प्रकोपको ‘कोड’ कारण दिइँदोरै’छ । सायद अरूको मनोबल घट्न नदिन होला ।
खाउन्जेलको भाँडो
लडाइँ सकियो । अर्को अर्थमा सकियो खिमबहादुरहरूको काम पनि । सुरु भयो गोरखा सैनिकलाई छिमल्न । पूर्वेली अफिसरले पूर्वेली च्याप्ने, पश्चिमेलीले पश्चिमे च्याप्ने, मगर अफिसरले मगर, गुरुङले गुरुङ । आफ्ना मान्छे नहुनेहरू पर्थे नाम काटेर घर पठाइनेमा । घर पठाइका २४ टोलीमध्येमा परे खिमबहादुर पनि । हुकुमको शासन नमानी सुख थिएन । अहिले सिंहावलोकन गर्दा उनी देख्छन्, ‘यदि गोरखाली अफिसरले कटौतीको नियमअनुसार काम गरिदिएको भए नामकटुवाको बेहाल हुने थिएन ।’ कटौती गर्दा १० वर्ष सेवा गरेकालाई पाँच वर्ष सेवावधि थपेर पेन्सनसहित पठाउने, पेन्सन भइनसकेकालाई कटौतीमा नपार्न सकिन्थ्यो । विडम्बना त्यसो भएन ।
कटौतीको शैली थियो बडो अचम्मको । साँझमा हुने रोलकालमा नाम काड्दै भनिन्थ्यो, ‘तिमी यति तारिखमा नेपाल फकिर्ने ।’ कटौतीमा परेकालाई सेवावधि हेरीकन बाटोखर्च दिइन्थ्यो । साढे नौ वर्ष नोकरीबापत ३०० डलर खर्च बोकेर खिमबहादुर सन् १९७० मा नेपाल फिरे ।
फाप्यो राजनीति
नेपाल फिरेपछि के गर्ने ? बाहुन, क्षेत्रीले गरेको दमनको भुक्तभोगी खिमबहादुर उनीहरूलाई ठीक पार्न पनि राजनीति त गर्नै पर्नेरहेछ भन्ने सोच राख्थे । ‘तँ चिता म पुर्याइदिन्छु’ भनेजस्तो २६ वर्षे खिमबहादुरको सम्पर्क कम्युनिस्ट लिगसित भयो । त्यतिखेर गाउँ पञ्चायतको चुनाव हुन लागेको । चुनाव उपयोग गर्ने तत्कालीन कम्युनिस्ट नीतिअनुसार उनलाई उपप्रधानपन्च उठाइयो । अत्यधिक मतसाथ उनले चुनाव जिते ।
एक कार्यकाल उपप्रधानपन्च चलाएपछि केही समय कतै नबस्ने सोचमा थिए, उनी । जिल्ला पञ्चायतको चुनावी माहोल थियो । त्यतिबेलाका गुल्मेली नेताहरू श्रीप्रसाद बुढाथोकी, दयानिधि शर्मा, बैकुण्ठबहादुर चन्दले युवालाई पुछताछ नै नगरी आफ्नो प्यानल बनाए । त्यो कुराले युवालाई आक्रोशित बनायो । अनि बाध्य पा¥यो अर्को प्यानल बनाउन । त्यही प्यानलबाट खिमबहादुर भए जिल्ला पञ्चायत उपसभापति ।

खिमबहादुरको सम्पर्क कम्युनिस्ट लिगसित भयो । त्यतिखेर गाउँ पञ्चायतको चुनाव हुन लागेको । चुनाव उपयोग गर्ने तत्कालीन कम्युनिस्ट नीतिअनुसार उनलाई उपप्रधानपन्च उठाइयो । अत्यधिक मतसाथ उनले चुनाव जिते ।

जिल्ला पञ्चायतको उपसभापति हुँदा एकातिर काम गर्न अप्ठ्यारो थियो रे । तलब, घरभाडा नदिइने । समाजसेवामा जहाँ पनि पुग्नुपर्ने । अर्कोतिर आफ्नो प्यानलबाट पनि उल्लेख साथीले जितेकाले अल्पमतको बुहार्तन बेहोर्न परेन रे । जनप्रतिनिधिलाई औँलामा नचाउने सिडियो र एलडिओलाई चड्कन लगाइदिएपछि बेरोकटोक आपूले चिताएको काम गर्न पाइयो रे ।
उनी उपसभापति हुँदा पोखरामा राजा वीरेन्द्रसित दर्शनभेट गर्ने कार्यक्रम राखिएको रहेछ । गाउँ फर्क अभियानमा जिल्ला आएका तत्कालीन माननीयहरूले दर्शनभेट पाउनेको नाम टिप्दा उनको पनि परेछ । तर सिडियो भन्दोरहेछ, ‘विकास निर्माण गर्नुपर्ने जनप्रतिनिधिले राजासित किन भेट्नुपर्ने ?’ सिडियोले हेपेको देखेर उनको धैर्यको बाँध टुट्यो । ‘जनताले जिताएको प्रतिनिधिले के गर्नुपर्छ के गर्नुपर्दैन भनेर तँ जागिरेलाई सोध्नुपर्ने ?’ भन्दै ठटाइदिएछन् । राजासित पनि विकास निर्माणमा सिडियोले बाधा पु¥याएको, उच्च रक्तचापका कारण नियन्त्रण गुमाई हातपात गर्ने गरेको लिखित र मौखिक निवेदन गरेछन् । एक सातामै त्यो सिडियो फेरियो । ‘पछिका एलडिओहरूले त बैठकमा मेरो आँखाको संकेत पाएपछि मात्र निर्णय लेख्ने गर्थे,’ थापा भन्छन् ।
बहुदल आएपछि भूमिगत बसेका नेतालाई प्राथमिकता दिने नीति पार्टीले लिएपछि उनी हङकङतिर लागे । तर, त्यतिन्जेलमा उनको जागिरे बानी कता हराइसकेको थियो कता । उनले सोचे बरु गाउँ फर्केर औषधि पसल खोलेर बस्ने ।
बेलायतको बसाइ
सन् २००९ मा बेलायत सरकारले सबै भूतपूर्व गोरखालाई आवासीय भिसा दिने निर्णय गरेपछि खिमबहादुर पनि पत्नीसहित युके आए । तीन छोरीलाई उमेर नाघेको कारण देखाउँदै भिसा दिइएन । त्यस निर्णयविरुद्ध उनले अदालत धाए । अदालतमा न्यायाधीशसमक्ष भने, ‘जतिखेर हामी रिटायर भयौँ, त्यतिबेला आइएलआर दिइएको भए हाम्रा छोराछोरी १८ वर्ष नाघेका हुने थिएनन् ।’ यही महिना हुने फैसलाप्रति उनी आशावादी छन् ।

सबै भ्रम हो । हाम्रै गोरखालीले आफूलाई जान्ने देखाउन र अरूलाई ‘मुर्गा’ बनाउन यस्ता हल्ला चलाएका हुन् ।

लन्डनको ह्याङगर लेनमा बस्ने थापा भत्ताबापत अहिले २२२ पाउन्ड पाउँछन् । नेपालमा च्यारिटी पेन्सन पाउने गरेकोमा बेलायत आएपछि त्यो काटिएको छ । आफूसँगैका साथीहरूले पेन्सन पाउने आफूले नपाउँदा साथीहरूले पनि अपहेलना गरेजस्तो लाग्दोरहेछ । आर्मीमा हुँदा तलबबाट मासिक पाँच डलर काट्ने गरिएको थियो । त्यसरी जम्मा भएको पैसा गन्न नसकेर फिटले नापेर अन्दाज गरिन्थ्यो रे । त्यो करबापत कटाइएको भन्ठानेर थापा स्टेट पेन्सन खोज्न सिटिजनस एडभाइस व्युरो पनि धाएछन् । तर, उनीहरूले भनेछन्, ‘तेरो रेकर्ड हामीकहाँ छैन ।’
गोरखालीलाई पटक–पटक बेचिँदा उनी निराश छन् । हरेक संघ–संस्थाले गोरखालीलाई बेच्न खोजिरहेको उनको निष्कर्ष छ । गोरखाली संघ–संस्थालाई अहंकार र पद लालचा त्यागेर सबै संस्थाको एक/एक प्रतिनिधि रहेको संयन्त्र बनाई अघि बढ्न सके केही हुन सक्ने आशा उनी व्यक्त गर्छन् । ? नत्र पुराना बूढाबूढी मरेपछि गोरखालीको समस्या पनि टुंगिहाल्छ ।
बूढाबूढीले बाटो काट्न जानेनन्, जताततै बसिदिए, फोहोर गरिदिए भन्ने आरोप उनी स्विकार्दैनन् । प्रतिवाद गर्दै उनी भन्छन्, ‘यो सबै भ्रम हो । हाम्रै गोरखालीले आफूलाई जान्ने देखाउन र अरूलाई ‘मुर्गा’ बनाउन यस्ता हल्ला चलाएका हुन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार