आफ्नो गाउँ आफैँ बनाउँदै ‘लाहुरे’

जीवनको जोस, जाँगर र उत्साह विदेशी भूमिमा परिश्रम गरेर बिताएका म्याग्दीका पूर्वलाहुरे सामाजिक काममा लागेका छन् ।
युरोप र खाडी देशमा पुगेका म्याग्देलीले आफ्नो गाउँमा विकासका काम गर्न सहयोग गर्न थालेका हुन् । बेलायत, बेल्जियम, बहराइन, कुवेत, कोरिया, अमेरिका पुगेका म्याग्देली अहिले गाउँमा विकास भित्र्याउन लागेका छन् ।
कसैले विदेशमै विभिन्न संघ–संस्था खोलेर जिल्लाका लागि काम गरेका छन् भने कसैले आफैँ लगानी गरेर विकासका काम गरिदिन थालेका छन् ।
आप्रवासी संस्थाको लगानीमा जिल्लाका विभिन्न ठाउँमा विकासका साथै सामाजिक काम पनि हुन थालेका छन् । ‘जीवनको ऊर्जाशील समय विदेशमै बिताइयो,’ मोरङ घर भई हाल युके बस्दै आएका कमल पुर्जाले भने, ‘युवा समयमा गाउँमा बस्न नपाए पनि अहिले विदेशमा बसेर गाउँका लागि के गर्न सकिन्छ भनेर सोचिरहेका छौँ ।’ उनले दानाको ज्ञानप्रकाश उच्चमावि, दरबाङको जनप्रिय उच्चमावि र बेनी सामुदायिक उच्चमाविलाई करिब १० लाख रुपैयाँ सहयोग गरेका छन् । युकेमा मात्र नभएर कोरिया पुगेका म्याग्देली पनि जिल्लाको विकासमा सहयोग भित्र्याउन क्रियाशील छन् ।
दक्षिण कोरिया पुगेका म्याग्देलीले गठन गरेको म्याग्दी समाज समितिले जिल्ला अस्पताल बेनीमा भवन बनाउन सुरु गरेको छ । चारकोठे आकस्मिक कक्ष भवन बनाउन २० लाख रुपैयाँ लगानी हुने समिति सदस्य मोहन बरुवालले बताए ।
नेपाली कलाकारलाई बोलाएर गरिने कार्यक्रममा चन्दा संकलन गरेर सहयोग जुटाइएको बरुवालले बताए । १५ शय्या क्षमताको अस्पतालमा शय्या नपुगेर बिरामीको चाप हुँदा उपचारमा समस्या हुने गरेको छ ।
विकास नेपाल बेल्जियम, मोनालगायतका संस्थाले जिल्लाको शैक्षिक, स्वास्थ्य र विकास निर्माणका क्षेत्रमा करोडाँै लगानी गरेका छन् । विकास नेपाल बेल्जियमको सहयोगमा ताकम माविको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
भवन निर्माणका लागि संस्थाले ९५ लाख सहयोग गरेको छ । त्यसैगरी सो संस्थाले जिल्ला अस्पताल परिसरमा रक्तकेन्द्र भवन निर्माण गर्न सहयोग गरेको थियो ।
करिब ३० लाख रुपैयाँ खर्च गरेर भवन बनेपछि अहिले आँखा उपचार केन्द्र र रक्तसञ्चारगृह स्थापना भएको छ । बहराइनमा काम गर्ने म्याग्देलीले ६ लाख ४६ हजार चन्दा संकलन गरेर केही वर्षअघि अस्पताल परिसरमै तीनकोठे भान्साकोठा निर्माण भएको थियो ।
पूर्वाधार अभाव भएकाले भान्साकोठामा इमरजेन्सी कक्ष स्थापना गरेर सेवा दिइरहेका जिल्ला स्वास्थ्य प्रमुख डाक्टर झलक शर्माले बताए ।
कोरिया पुगेका म्याग्देलीले नयाँ भवन बनाइदिएपछि केही सुविधा पुग्ने शर्माको अपेक्षा छ । त्यसैगरी पूर्वबेलायती सैनिकको संस्था कादुरीले म्याग्दीको ताकम, रुम, राम्चे, चिमखोला, पाखापानी, कुइनेलगायतका ठाउँमा झोलुंगे पुल निर्माण गरिदिएको छ ।
हालै मात्र बेगको तिप्ल्याङमा भीसी तुलबहादुर पुनको स्मृतिमा गोर्खा वेलफेयरले ४६ लाख खर्च गरेर कालिका निमाविमा १० कोठे भवन निर्माण गरेको छ । भीसी पुनका छोरा अर्जुन पुनले गाउँमा भीसीमार्ग बनाउन पहल गरिरहेको बताए ।
दर्मिजा र देवीस्थानको जुक्जामा कादुरीको लगानीमा सञ्चालित लघुजलविद्युत् परियोजनाबाट स्थानीयले विद्युत् सेवा उपभोग गरिरहेका छन् । कादुरीले बेगको तिप्ल्याङ, हिस्तानको दोसल्ले, बरङजा र कुइनेमा गतवर्ष खानेपानी योजना निर्माण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार