फलफूल खेतीमा लाहुरे


पाको शरीर । बसी–बसी खाने उमेर । तर, मात्तिम–९ खोटाङका बलराम राईको जीवनशैली कुनै जवान युवाकोभन्दा फरक छैन । जोश र जाँगरले कुनै युवाभन्दा फरक नलाग्ने राईको दिनचर्या घामको झुल्कोसँगै बगैँचामा भएका फलफूल हेरचाहबाट सुरु हुन्छ । अस्ताउँदो घामसँगै सकिन्छ ।
राई बेलायती सेनाका ‘पेन्सनर’ हुन् । बेलायती सरकारबाट मासिक २१ हजार रुपैयाँ पेन्सन थाप्ने उनलाई खान, लाउन चिन्ता छैन । सँगै जागिर खाएका साथीहरू सुविधासम्पन्न सहरमा ऐस–आरामका जीवन बिताइरहेका छन् । तर, उनी भने आफ्नै गाउँ ममिलो बनाउन व्यस्त छन् । ‘बाँचुन्जेल पसिना बगाएर धरती सजाऊँ भन्ने भावना हो,’ बगैँचाबीचमा बसेर पर–परसम्म सुनिने आवाजमा राईले भने, ‘मरेपछि त यो मासुको के काम, जिउँदो रहेसम्म यसको उपयोग गर्नुपर्छ ।’
०१३ मा बेलायती सेनामा भर्ती भएर १६ वर्ष विदेशी भूमिमा बिताएका उनले ३१ रोपनी जग्गामा स्याउ, सुन्तला, ओखर, अंगुर, लहरेआँप, जापानिज आरु, चिया, लप्सी, ऐंसेलु, अलैंची, कफी, चिराइतो, पाखनवेद, पदमचाल, सिन्कौली, आल्चालगायतका फलफूल तथा जडीबुटी खेती लगाएका छन् । यसबाहेक मलागिरी, चम्पा, बोजोजस्ता सुगन्धित र वास्नादार बोटबिरुवा पनि बगैँचामा छन् । सुन्दरता र रासायनिक अत्तर प्रयोग गर्नुभन्दा यिनै सुगन्धित बिरुवा प्रयोग गर्नु स्वास्थ्यका लागि कैयौंगुना लाभदायक हुने राईको तर्क छ । उनी बिहान, बेलुका बगैँचामा रहेका फलफूल गोडमेल, काँटछाट र हेरचाह गरिरहेका भेटिइन्छन् ।
भएभरका बारीमा बगैँचा लगाउनु उनको सोख हो । त्यही सोखले उनी जिल्लाभरिकै नमुना किसानका रूपमा दरिएका छन् । उठेदेखि सुत्नुअघिसम्मको अधिकांश समय बगैँचा स्याहार–सुसारमा खर्चने उनले ०५० देखि फलफूल खेती थालेका हुन् ।
धेरैथरिका फलफूल एकै ठाउँमा हेर्न परे जिल्लावासी उनकै बगैँचा रोज्ने गर्छन् । उनको बगैँचामा हङकङको पप्पीको सुगन्धदेखि सोलुखुम्बुको स्याउको स्वाद चाख्न पाइन्छ । उनले पप्पीफूल हङकङबाट ल्याए भने भारतबाट चम्पा । इलामबाट चिया । खेर जाने समय सदुपयोग गरी फलफूल खेती थालेका उनले वार्षिक डेढ लाख आम्दानी गर्छन् । व्यावसायिक लक्ष्य नभए पनि उनले जिल्लाका किसानको समस्या नजिकबाट नियाल्न पाएका छन् । उनका अनुसार उत्पादित फलफूलको बजार व्यवस्थापन, यातायात असुविधा जिल्लाका किसानको मुख्य समस्या हो । ‘पर्याप्त उत्पादन त हुन्छ,’ उनले भने, ‘तर, बजारसम्म लैजानै यातायात सुविधा छैन ।’

बढ्दो सुख–सयलले कृषि क्षेत्र फस्टाउन नसकेको उनको ठम्याइ छ । उनको भनाइमा सकारात्मक कामको सिको गर्ने उत्तिकै कमी छ । पटक–पटक उत्कृष्ट किसानका रूपमा सम्मानित हुँदै आएका बलराम राईलाई जिल्ला विकास समितिले ०६७ मंसिर २९ मा उत्कृष्ट किसानका रूपमा सम्मान गर्यो ।
१९९६ मा जन्मेका बलराम राई रतन्छा–६ निवासी बाबु थामबहादुर राई र आमा बखतमाया राईको एक्लो हुन् । बेलायती सेनामा कार्यरत बाबु थामबहादुर राई बर्मा युद्धमा सन् १९४२ मा जापानी सेनाद्वारा मारिए । त्यसपछि बाबुकै बाटो पहिल्याउँदै राई बेलायती सेनामा भर्ती भए । जन्मेको वर्ष दिनपछि नै बर्मा युद्धमा बाबु गुमाएका राईले बुढेसकालमा माओवादी द्वन्द्वमा जेठो छोरो गुमाए । ०५९ वैशाख १४ मा स्थानीय लब्सेखोलामा माछा मार्न गएका छोरा नवीन राई नेपाली सेनाको तारो बने । उतिखेर इन्द्रध्वज गण मुढे र जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट खटिएका संयुक्त सुरक्षाकर्मीको आक्रमणमा राईसहित नौजना मारिएका थिए । मारिनेमा दुई माओवादी कार्यकर्ता थिए ।
गाउँमा ‘क’ अक्षर नचिनेका उनले सेनामा भर्ती भएपछि सेनाको क्याम्पमै लेखपढ गर्न सिके । दस वर्षअघि श्रीमती इन्द्रकुमारी राईको मृत्यु भएपछि तीन छोरा र तीन छोरीकी बाबु उनी कान्छा छोरा दीपकसँग बसिरहेका छन् । मीठा–मीठा भाषण छाँट्ने र समाज परिवर्तनको नारा उराल्ने नेता होस् या संघ–संस्था होस्, जिल्ला कृषि विकास कार्यालयले सामान्य सहयोग गरेबाहेक आफ्नो पौरखलाई अरूले साथ नदिएको राईको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार