सूर्य लाहुरे हुँदा आमाबुवाको आँखामा आँसु

विश्वयुद्धको सम्झना धुमिल भइरहेको थियो । नेपाली जनजीवनमा आर्थिक उन्नतिको पाटो खस्कँदो अवस्थामा थियो । तसर्थ, जोकोही परिवारले छोरालाई ‘मलायाको लाहुरे’ बन्ने आशिष दिन्थे । तर, २०३६ सालमा सूर्यबहादुर खापुङले ‘लाहुरे भर्ती भएँ’ भन्दा बुवाआमाको मुहारमा खुसीको साटो आँसुले पुरियो । परिवारमा एक्लो छोरो, पुख्र्यौली थातथलो खनिखोस्री खाँदा जीवन चल्ने नै थियो ।
बाबुको पालासम्म ‘लाहुरे हुन जाँदै छ’ भन्ने खबर पाएपछि आमाबुवा छानिदै गरेको ठाउँमा पुगेर छोरालाई ‘लाहुर नजा’ भनेर बिन्ती गर्थे । किनभने लाहुरे भएपछि फर्केर घर आउने नआउने टुंगो हुन्नथ्यो । दुई विश्वयुद्धमा करिब ६० हजार गोर्खालीले शहादत प्राप्त गरेको तथा बेपत्ता भएको कुरा हिजोआज गोर्खाली सेनासँग सम्बन्धित संस्था तथा अध्ययन केन्द्रहरूले खोजबिन गर्दै छन् । भारत, मलाया, बोर्नियो, सिंगापुर, हङकङ, जर्मन, बेलायतलगायत धेरै ठाउँमा गोर्खालीको समाधि छन् । आफ्नो गाउँठाउँका धेरै मानिस पनि बेपत्ता भएकाले नै बाबुको पालामा ‘लाहुरे हुन छाती नपाउँदै छ’ भन्ने खबर पाउनसाथ अभिभावकले गएर रूँदै नजान बिन्ती गरेका हुन् ।
लगभग तीसको दशकदेखि यता लाहुरेको बेग्लै शान इज्जत हुन थाल्यो । छुट्टीमा आएका लाहुरेको लोभलाग्दो जीवन देखेर अन्य युवाहरू लाहुरे हुन निकै तम्सिन्थे । फलानाको छोरा लाहुरे भयो भन्ने खबर आयो भने त्यो घरलाई हेर्ने दृष्टिकोण नै फरक हुन्थ्यो ।
तर, त्यही समयमा पनि सूर्यबहादुर ‘लाहुरे भयो है’ भन्दा बुवाआमा छत्रबहादुर खापुङ र लक्षीमाया खापुङ (याख्खा) को मुहारमा खुसी नछाएको हो । परिवारमा केही अन्य सन्तानको जन्म भए पनि उबेलाको औषधोपचारको अभाव र अज्ञानताकै कारण सूर्य एक्लो सन्तान बन्न पुगेका थिए ।
घरको जेठा सन्तानका रूपमा २०१८ असार २३ मा सूर्यबहादुर खापुङको जन्म भएको थियो । जलजले–४ तेह्रथुममा पर्ने एकधारे उनको जन्मस्थान थियो । घरको आँगन नै मानिने करिब डेढ किलोमिटरको दूरीमा ०१३ मै श्री शंकर माविको स्थापना भइसकेको थियो । घरनजिकै स्कुल भएपछि शिक्षाको उज्यालो ज्योति नलिने कुरै भएन । तर, पढ्नुपर्छ भन्ने दृढइच्छालाई एसएलसीको असफलताले निकै धक्का थियो । त्यो समयमा एसएलसी गर्नेबित्तिकै कुनै न कुनै सरकारी जागिर वा मास्टरी काम पाइहाल्ने अवस्था थियो ।
पढ्ने इच्छामा तत्काल विराम लागे पनि त्यो बेलामा ६/६ महिनामा खुल्ने मलायाको भर्तीमा लाइन लागे । उक्त समयमा आठ/नौ कक्षा पढेका युवाहरू लाहुरेका लागि योग्य हुन्थे । गाउँकै पुछारघरे भनिने लालबहादुर सिंगक गल्लावाल थिए । करिब ३६ जनालाई गल्लावालले गल्लापास दिएका थिए ।
‘करिब १३ जना पास भयौं कि’ सूर्य सम्झन्छन् । सबैजना एकै पल्टनमा भएका भए सबैलाई सम्झिइन्थ्यो । धरानमा सबै कुरामा फिट भएपछि ०३६ सालमा २११६३८०१ नम्बर पाए ।
त्यससमयमा गोर्खा पल्टनले मलाया छोडेर हङकङ आइसकेको थियो । प्रत्येक ६ महिनामै भर्ती गराउने अभियानले गर्दा हङकङमा ठाउँ नभएर उनको लटले ब्रुनाईमा ट्रेनिङ गर्न पुग्यो । निकै लामो हुने ट्रेनिङ पनि ६ महिनामै सकिएको थियो । ६÷६ महिनामा भर्ती गराइनु र छिट्टै ट्रेनिङ सकाइनुको अर्थ रहेछ– फकल्यान्डको टापुमा हुन लागेको लडाइँ । ट्रेनिङपश्चात् उनी १० जीआरमा परेकाले तत्काल लडाइँमा होमिन पाएनन्, सँगै ट्रेनिङ लिएका कतिपय साथीहरू ७ जीआरमा परे र लडाइँ भोगे ।

व्यापार गर्नुपर्छ भनेर केही साथीहरूसँग मिनिमार्केट पनि सञ्चालन गरे । काठमाडौंमा रहेका खापुङहरूलाई संगठित गर्नमा पनि उनको राम्रै हात छ ।

‘लाहुरे र लडाइँ’ पर्यायवाचीजस्तै छन् ।सबै लाहुरेले लडाइँको स्वाद लिन पाएका हुँदैनन् । लडाइँमा नपर्नु केहीले आफूलाई ‘लक्की’ नै माने पनि केहीलाई भने बिस्मात् पनि लाग्ने रहेछ । युवा जोशजाँगरमा यस्तो गरेँ, उस्तो गरेँ भन्ने कुरा नै नहुँदोरहेछ । एउटा जोश बोकेका सूर्यलाई पनि लडाइँमा नपरेको बिस्मात् रहेछ । एकपटक बोस्नियामा शान्तिसुरक्षाका लागि गएको समयलाई सम्झेर चित्त बुझाइरहेका छन् ।
लाहुरे जीवनमा पहिलो छुट्टी, दोस्रो छुट्टीको निकै महत्व हुन्छ । ट्रेनिङले खारिएको गठिलो शरीर, शारीरिक अभ्यासले मुहारमा आएको चमकताका कारण चलचित्रको नायक आएजस्तै हुन्छ गाउँमा । धेरै कुटुम्बको केन्द्रबिन्दु पनि हुन्छ । सूर्यले पनि त्यस्तै मौका नचुकाई पहिलो छुट्टीमै विवाह गरे ०४० मा रीता फोम्बोसँग । जसबाट योगेश खापुङ (०४५) र जम्ल्याहा छोरीहरू सृष्टि–कृष्टि (२०५०) को जायजन्म भएको छ ।
साथीहरूमाझ केही अग्ला र सुगठित शरीर भएका उनले आफ्नो लाहुरेकालमा धेरै मुलुक पुग्न पाएका छन् । पहिलो युएन स्थापना भएको दक्षिण कोरियामा पनि उनले काम गर्ने मौका पाए भने युके, फिजी, जर्मनलगायत कैयौं देशहरूमा उनी पुगेका छन् ।
लाहुरे भएपछि बसाइँ–सराइ पनि बढ्ने गर्छ । सुगम खोज्ने विकल्प हुन्छ । उनले ०४४ सालमै परिवारलाई मोरङको खोर्सानेमा झारेका थिए । २० वर्षको कार्यवधिमा उनी रेजिमेन्टल सार्जेन्ट मेजेर ०५६ मा उनी रिटायर्ड भए । रिटायर्डपश्चात् उनको बसाइ सिधै भक्तपुरको गठ्ठाघर हुन पुग्यो । त्यसपछि पनि केही राम्रो अवसर प्राप्त नभएको होइन तर त्यसलाई लत्याएर केही सामाजिक सेवा गर्नेतर्फ अग्रसर भए ।
नेपालमा बढी युवावर्ग बिग्रिरहेको सुने खापुङ दम्पतीले । त्यसमा पनि बढी लाहुरेका छोराछोरी । तसर्थ, यी दम्पतीले सल्लाह गरेरै परिवार सँगै रहने दृढनिश्चय गरे । परिवारले सम्पूर्ण सदस्यहरूलाई साथीको जस्तै व्यावहार गरेर अगाडि बढे कुनै पनि हालतमा नबिग्रने उनीहरूको ठम्याइ छ ।
गठ्ठाघरको समाजमा सूर्यबहादुर भिजे । त्यहाँको टोल संरक्षणदेखि अन्य सामाजिक गतिविधिमा उनी संलग्न भए । लिम्बूहरूले संगठित हुने संस्था किरात याक्थुङ चुम्लुङ काठमाडौं जिल्ला शाखाको कोषाध्यक्ष बने । व्यापार गर्नुपर्छ भनेर केही साथीहरूसँग मिनिमार्केट पनि सञ्चालन गरे । काठमाडौंमा रहेका खापुङहरूलाई संगठित गर्नमा पनि उनको राम्रै हात छ । युवाहरूले केही गरुन् भन्ने हेतुले आफ्नो घरनजिकै बस्ने युवा साहित्यकार शालिक शाताशकको उपन्यास ‘प्यारुला’लाई पनि प्रकाशन गरिदिए ।
पछिल्लो समयमा उनी बेलायतको नर्थ योर्कसायरमा रहँदै आएका छन् । बच्चाहरूको दिमाग भनेको ‘ब्ल्याङ्क सिडी’ जस्तै हो । त्यहाँ जस्तो कुरा भर्यो, त्यस्तै रहन्छ भन्ने सोचाइ उनको छ । तसर्थ, राम्रो ठाउँमा बच्चाहरूले हुर्कन, पढ्न पाए राम्रै हुन्छ भनेर उनी युके पुगेका हुन् । पारिवारिक संस्थागत संगठित हुनेक्रमले उनलाई युकेले पनि छोडेको छैन । युकेमा स्थापित किरात याक्थुङ खापुङहाङ सङजुम्भोको अध्यक्ष तथा लिड्स नेप्लिज कम्युनिटी, एक्ज्युकेटिभ कमिटीमा कार्यरत छन् ।
बाबुका पुस्ताले जबरजस्ती लाहुरे हुन्थे । आफ्नो पालामा कडा प्रतिस्पर्धा गरेरमात्र लाहुरे हुन सकिन्थ्यो । पहिले धेरै भर्ती हुन्थे, काम पनि धेरैको नै थियो । १० वटा चिट्ठी लेख्नुपर्नेमा सबै हातैले लेख्नुपथ्र्यो । हिजोआज ती सबै काम एकै व्यक्तिले गर्न सक्छ, प्रविधिको विकासले गर्दा । अनि उनको पालामा आठ कक्षा उत्तीर्ण हुने लाहुरका लागि योग्य हुन्थे भने अहिले जसको राम्रो शिक्षा छ, ऊ नै लाहुरे हुने परिपाटीले जित्न थालेको छ । अहिले लाहुरेहरूले आफ्नो छोरालाई लाहुरे बनाउन चाहँदैनन्, उनीहरूले आफ्ना सन्तान वकिल, डाक्टर, इन्जिनियर, चार्टड एकाउन्टेन्ट भएको हेर्न चाहन्छन् । ‘यो समयको माग हो,’ सूर्य भन्छन् । छोरा योगेशले युकेमै इन्जिनियरिङ पूरा गरेको छ ।
युकेमा धेरै नेपाली छन् । तर, सबैलाई नेपालकै माया बढिरहेको अनुभव एकार्कामा साटासाट गर्छन् । ती सम्पूर्णले आफ्नो थातथलो एकरत्ति पनि मासेका छैनन् । सूर्य थप्छन्, ‘तराईका जग्गा या काठमाडौंको जग्गा मैले बेच्न सक्छु किनभने त्यो मैले किनेको हो । तर, जलजलेको जग्गा बेच्न सक्दिनँ, किनभने त्यो मेरो पुर्खाले आर्जिदै आएको हो, त्यसैले मलाई बेच्ने अधिकार छैन ।’
प्रस्तुति : सुर्केली

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार