‘वारेन्ट अफिसर’को संघर्ष : लाहुरबाट फर्केर प्रधानाध्यापक

दीपेन्द्र राई

बेलायती सेनामा २२ वर्ष सात महिना सेवा गरेर घर फर्केका इमानसिंह राईको अवकाशप्राप्त जिन्दगी झनै व्यस्त रह्यो । घर फर्केको (११ दिनमात्र भएको थियो) थाहा पाएपछि दिक्तेलमा रहेको सरस्वती माध्यमिक विद्यालय दिक्तेलका प्रधानाध्यपक धर्म ताम्राकारले राई (बाम्राङ–२) कहाँ कार्यालय सहयोगी पठाए ।
कार्यालय सहयोगीले उनलाई विद्यालय पुर्याए । भोलिपल्टदेखि उनी त्यही विद्यालयका शिक्षक बने । त्यसताका आठ कक्षासम्म पढाइ हुने समाविमा उनले स्वास्थ्य विषय पढाउन थाले । त्यतिबेला उनको तलब एक सय पाँच रुपैयाँ थियो । यो ०२३ तिरको कुरा हो ।
समाविमा दस कक्षासम्मको पढाइ सुरु भयो । उनले नौ कक्षामा नाम लेखाए । अब उनी पढाउँदै पढ्न पनि थाले । ‘०२६ मा एसएलसी गरेँ,’ घरछेउमै गोठाला गरिरहेका ८८ वर्षीय इमानसिंह राईले सम्झे, ‘०२८ मा वीरगन्जबाट आईएड अनि बीएडचाहिँ कीर्तिपुर काठमाडौंबाट गरेँ ।’
बीएड सकेपछि उनी महेन्द्रोदय मावि डाँडागाउँ ओख्रेका प्रधानाध्यपक बने । उनले ०३६ देखि ०४८ सम्म ममावि ओख्रे प्रधानाध्पायकको पदीय दायित्व सम्हाले । उमेरको हदबन्दीले ०४८ मा अवकाश पाउँदा उनी मावि शिक्षक द्वितीय श्रेणी थिए ।
इमानसिंह राईलाई अवकाशप्राप्त जिन्दगी हात बाँधेर बस्न मन लागेन । साथीभाइसँग मिलेर ०४८ मा दिक्तेल इंग्लिस बोर्डिङ स्कुल खोले । राई ६ वर्षसम्म सो स्कुलका संस्थापक प्रिन्सिपल भए । जहाँ अहिले १० कक्षासम्म पढाइ हुन्छ । भने, ‘दिक्तेल इंग्लिस बोर्डिङमा पढेका मेरा विद्यार्थीमध्ये थुप्रै इन्जिनियर, पाइलट र डाक्टर बनिसकेका छन् । कोही मालपोतमा छन्, कोही अदालत र बैंकमा । कामविशेषले त्यहाँ पुग्दा म तपाईंंको विद्यार्थी हुँ भन्दै मेरो काम तुरुन्त गरिदिइहाल्छन् ।’ संस्थापक सदस्यसमेत रहेका उनी अहिले पनि विद्यालय व्यवस्थापन समिति अध्यक्ष छन् । अब त मलाई बिदा देऊ न भन्दा पनि विद्यालयका जिम्मेवार पदाधिकारी नमानेको उनले सुनाए । भने, ‘कान सुन्दिनँ, आँखा देख्दिनँ भन्दा पनि धर पाइनँ ।’

उनले आफ्नै गाउँ विकास समिति बाम्राङमा सावित्रा प्राथमिक विद्यालय खोले । सो प्राविलाई मावि बनाउने काम उनैबाट सम्भव भयो । जहाँ उनले दुई वर्षसम्म पढाए ।
यसैगरी, ०५४ को स्थानीय निर्वाचनबाट इमानसिंह राई बाम्राङ गाविसअध्यक्ष चुनिए । भने, ‘शुभचिन्तकहरूले भोट माग्न जान पर्दैन हामी मागिदिन्छौँ, तपाईं उम्मेदवारमात्रै बनिदिनुपर्यो भनेपछि मैले नाइँ भन्न सकिनँ । नभन्दै भारी मतले चुनाव जितेँ ।’
एमालेबाट गाविसअध्यक्ष निर्वाचित राईले आफ्नो कार्यकालमा विकास निर्माणसम्बन्धी थुप्रै काम गरे । आफू गाविसअध्यक्ष हुँदा विद्यालय, हुलाक र स्वास्थ्यचौकी भवन, दिखुवाखोलामा पुल र दिखुवा–कट्टी नहर बनाएको उनले बताए । विकास निर्माणसम्बन्धी थुप्रै काम गरेको भन्दै बाम्राङ गाविसवासी खुलेर उनको गुनगान गाउँछन् । उनी गौरव गर्छन्, ‘मैले जुन काममा हात हालेँ सफलै भएँ । राजनीतिमा सफल । शैक्षिक क्षेत्रमा पनि सफल । र, समाजसेवामा पनि ।’ उनले विभिन्न क्षेत्रमा पु¥याएको योगदानबापत महेन्द्ररत्न भूषण, दीर्घसेवा पदक, दैवीप्रकोप, ‘लङ सर्भिस’लगायत १९ वटा पदक पाएका छन् ।
सन् १९४४ मा बेलायती सेनामा भर्ती हुँदा इमानसिंह राईलाईतमसुक लेख्न, महाभारत र रामायण पढ्नसम्म आउँथ्यो । उनले मावली (बुइपा, खोटाङ) मा रहेका एक साधुसँग सामान्य लेखपढ गर्ने विद्या लिएका थिए । उनले पल्टनमा औपचारिक पढाइ थाले । भने, ‘दी डिक्सनरी अफ पोलिटिक्स’ पढ्नेक्रममा नेपाल हिमालको काखमा छ, त्यहाँका ३ प्रतिशत जनता मात्र साक्षर छन् भन्दै शिक्षकले मेरो अनुहार हेरे । सबै विद्यार्थी मलाई हेर्दै हाँसे । त्यही दिनदेखि मैले पढ्नुपर्छ, पढेर केही गर्नुपर्छ भन्ने प्रतिज्ञा गरेँ ।’ पल्टनमै उनले ‘आर्मी फस्र्ट क्लास’ छिचोले । त्यसपछि गोर्खाली सेना र ‘गोरा’लाई पढाउन थाले ।
पल्टनमा रहँदा उनले थुप्रै युद्धमा ज्यानको बाजी थापे ।
चारपटक युद्धमा होमिएका उनी सन् १९५५/५६ को मलेसिया युद्धमा एम्बुसमा परे । सोही एम्बुसमा तीनजना नम्बरी गुमाए । बाँच्न सफल भए पनि उनको हातको औँला र पाखुरामा चोट लाग्यो । चोट लागेपछि उनी युद्धमा जान नपर्ने ड्युटी (बेस ड्युटी एभ्री ह्वेयर) मात्रै गर्न थाले ।

सन् १९६७ मा अवकाश पाउँदा इमानसिंंह राई ‘डब्लु टु’  अर्थात् ‘वारेन्ट अफिसर’ थिए । ‘एम्बुसमा नपरेको भए म गोर्खा मेजर पक्कै हुन्थेँ,’ उनले भने, ‘तर, मलाई दुःख लागेको छैन, भर्तीबाट फर्केर हेडमास्टर भएँ । गाविसअध्यक्ष भएँ । गाउँमा विकास निर्माणसम्बन्धी काम गर्न पाएँ ।’
लाहुरे इमानसिंहको पौरख देख्दा, सुन्दा जोकोही लोभिन्छन् । उनले शिक्षक पेन्सन, बेलायत सरकारबाट वृद्ध (८० पुगेपछि पाइने) भत्ता पाउँछन् । त्यतिमात्र होइन उनले बेलायत सरकारबाट ‘डिसएबिलिटी’ भत्ता र २२ वर्ष सात महिना सेवा गरेबापत पेन्सन पनि पाउँछन् ।
‘भर्तीबाट फर्केपछि पनि घरको काम गर्न पाइनँ,’ उनले ठट्ट्यौलोपारामा भने, ‘हिजोआज भने गोठाला गर्न भ्याएको छु ।’
उनलाई आफ्नो विगत सम्झँदा साह्रै रमाइलो लाग्छ रे । भन्छन्, ‘यत्तिका वर्ष बाँच्दा उपचार गर्न नपाएर थलिएका रोगीलाई सहयोग गर्न पाएँ । आगलागीपीडितलाई सहयोग गर्न कन्जुस गरिनँ ।’
संवत् १९८२ पुस १५ मा जन्मेका उनले साँच्चै सार्थक जीवन बाँचेका छन् । इमानसिंह राईजस्तै सबै लाहुरे पौरखी बन्ने हो भने आफ्नो गाउँठाउँ बनाउन कत्ति समय लाग्ने छैन । सरकारको मुख ताकिरहनु पर्दैन । आफूले हात हालेको सबै क्षेत्रमा सफल राईको सुझाव छ, ‘बहालवाला र भूतपूर्व लाहुरेले गाउँठाउँको विकासका लागि अलिकति भए पनि रुपैयाँ छुट्याउनुपर्छ ।’
(रामधन वेदनाको  सहयोगमा)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार