स्वर्गीय भनिएका भीसी लिम्बू ललितपुर/दमकतिर ठमठम

‘हामी उभिएको जमिनमुनि इन्डोनेसियाली सेना रहेछन्,’ भीसी रामबहादुर लिम्बूले निधार खुम्च्याउँदै आफूले लडेको दोस्रो विश्वयुद्ध सम्झे, ‘हामी र उनीहरू सय गज दूरीमा आमनेसामने थियौं । दुवैतर्फबाट फायर खोलियो । ‘गन वान्’ र ‘गन टु’ नामक मेरा सहयोद्धालाई गोली लाग्यो । ‘टु’ तत्काल ढले । ‘वान्’ चिच्याउँदै थिए । वास्तै नगरी शत्रुको प्रतिकार गर्दै गएँ । प्रतिकारक्रममा शत्रुलाई ताक्दै ३६ र ३७ नम्बरको ग्रिनेड फालें । एउटा ग्रिनेड जमिन खोस्रेको ठाउँबाट भित्र छिरेर पड्कँडा जमिनभित्र रहेका इन्डोनेसियाली सेना भागाभाग भए ।’
उनीहरू भागाभाग भएपछि भीसी लिम्बूले घाइते सहयोद्धा ‘गन वान्’ लाई सुरक्षित ठाउँमा पुर्याए । घाइते सहयोद्धाले म बाँच्दिनँ, मलाई मारिहाल भन्दै पानी मागे पनि गोली लागेकाले लिम्बूले उनलाई पानी नदिई युद्धमा ज्यान गुमाएका ‘गन टु’ को शवसमेत ‘गन वान्’ राखिएको ठाउँसम्म पुर्याए । त्यतिन्जेलसम्म जीवित दुई सहयोद्धा युद्धमैदानमै थिए । ‘गन टु’ लाई सुरक्षित ठाउँमा पु¥याएपछि दुई सहयोद्धालाई समेत सुरक्षित ठाउँसम्म ल्याइपुर्याउँदा ‘गन वान्’ को मृत्यु भइसकेको थियो ।
शत्रुको आमनेसामने पुगेका पाँचमध्ये दुईले ज्यान गुमाए । तर, भीसी लिम्बूले फालेको दुई ग्रिनेडले २४ इन्डोनेसियाली सेनाको ज्यान गयो । उनले शत्रु पक्षका २४ जनालाई एक्लैले तह लगाउँदै बाँकीलाई युद्धमैदानबाट भगाए । यो सन् १९६५ नोभेम्बर १२ को कुरा हो । युद्ध भएको ठाउँ अहिलेको मलेसियाको सरवाक भन्ने ठाउँ हो । त्यतिबेला सरवाक इन्डोनेसिया र मलेसियाबीचमा रहेको थियो । सरवाकलाई मलेसिया र इन्डोनेसियाले आफ्ना कब्जामा पार्न चाहन्थे । त्यही विषयमा इन्डोनेसिया र मलेसियाबीच युद्ध चलेको थियो ।

लिम्बूले सरवाकको युद्धमा आफ्नो पक्षकालाई ठूलो क्षति हुन नदिई शत्रु पक्षका २४ जनालाई एकैचिहान बनाएर बहादुरी देखाएबापत बेलायत सरकारले उनलाई बेलायतको सबैभन्दा ठूलो युद्धपदक भिक्टोरिया क्रस (भीसी) पदक दिएको थियो । अहिलेसम्म १३ गोर्खालीले भीसी पदक पाएका छन् । त्यसमध्ये भीसी रामबहादुर लिम्बू १३औं भीसी पदक पाउने व्यक्ति हुन् । उनीपछि अहिलेसम्म गोर्खालीले यो पदक पाएका छैनन् । भीसी पदक पाउने १३ मध्ये लिम्बू एकमात्र जीवित भीसी गोर्खाली हुन् ।

 

क्याप्टेन उमेश पुनसँग रामबहादुर

सरवाक युद्धमा बहादुरी देखाए पनि लिम्बूलाई कसैले स्याबासी दिएनन् । उनले स्याबासी पाउन बहादुरी देखाएका पनि होइनन् । त्यहाँ बहादुरी देखाएबापत उनलाई भीसी पदक दिन रानी एलिजावेथ द्वितीय राजी भई सबै प्रक्रिया मिलाइसकेपछि मात्रै लिम्बू आफूले भीसी पदक पाउँदै छु भनेर चाल पाए । पंक्तिकारसँग एकसुरमा कुराकानी चलिरहेको बेला भीसी रामबहादुर लिम्बूले एकाएक उत्साहित हुँदै सुनाए, ‘भीसी गजे घले, गन्जु लामालगायतको इतिहास पढेको मैले आफैंले भीसी पदक पाउँदा त्योभन्दा खुसी हुने ठाउँ थिएन । मैले पनि घले र लामाले जस्तै बहादुरी त देखाएँ नै साथै इतिहास पनि बनाएँ ।’ सन् १९६६ जुलाई १२ मा रानी एलिजावेथ द्वितीयसँग हात मिलाउँदै भीसी पदक लिएको उनलाई अहिलेजस्तो लाग्छ । एलिजावेथ द्वितीयले लिम्बूको बहादुरीको कदर गर्दै ‘तिमीले सरवाकमा देखाएको बहादुरीबापत मैले यो भीसी पदक तिमीलाई दिँदै छु’ भनेको वाक्यसमेत उनको कानमा यदाकदा गुन्जेजस्तो लाग्छ ।
मलेसिया युद्धपछि उनी विभिन्न देश पुगे । उनी मलेसियाबाट सर्वप्रथम हङकङ पुगे । त्यहाँ युद्ध नभए पनि चीनबाट हङकङ जान चाहने चिनियाँ नागरिकलाई समात्दै चीनतिरै फर्काउनु उनको पल्टनको काम थियो । हङकङबाट उनी साइप्रस, बेलायत, अस्टे«लिया, बु्रुनाई, ग्रीस, सिंगापुर, न्युजिल्यान्ड, फ्रान्स र अफ्रिकासम्म पुगे । विभिन्न देश चहार्दै उनले बेलायती सेना भएर २८ वर्ष सेवा पूरा गरे । अवकाश पाउनसाथ उनी ब्रुनाई पुगे । सात वर्षसम्म ब्रुनाई सुल्तानको सुरक्षागार्डका रूपमा काम गरे ।
सन् १९५७ मा भर्ती भएका उनी दोस्रो विश्वयुद्धका जीवित साक्षीमध्ये एक हुन् । दोस्रो विश्वयुद्धका जीवित साक्षी औंलामा गन्न सकिने अवस्थामा छन् । गुरिल्लायुद्धदेखि दोस्रो विश्वयुद्धसम्म लडेका उनी ब्रुनाईबाट सोझै नेपाल फर्के । बेलायत सरकारले उच्च सम्मान दिँदै उनलाई बेलायत बसोबोसका लागि विशेष सुविधा दिए पनि उनी नेपालमै रमाउँदै आएका छन् । उनी पल्टनमै रहँदा उनको पुख्र्याैली थातथलो पाँचथरको च्याङ्थापुमा पुल बनाएका थिए । च्याङ्थापु गाउँ विकास समितिअन्तर्गत २ र ७ नम्बर वडावासीलाई खानेपानी व्यवस्था गरिदिए । अवकाशपछि पनि उनी समाजसेवामा त्यत्तिकै सक्रिय छन् । उनले विद्यालय भवन बनाउन आँगनकै तीन रोपनी जग्गा दिन सानो मन बनाएनन् । पल्टनबाट फर्केपछि समाजसेवामै रमाएका उनले पछिल्लो समय करिब पाँच किलोमिटर बाटो आफ्नै लगानीमा खनाए । पाँचथरको चाम्लिङडाँडा, महादेवस्थान, कोप्चेसम्मको बाटो खनाउन ११ लाख रुपैयाँ खर्च लाग्यो । उनले खनाएको सो बाटोलाई भीसीमार्ग भनेर नामकरण गरिएको छ ।

तीनपुस्ते लाहुरेखलक लिम्बूका बुवा टेकवीर लिम्बू पहिलो विश्वयुद्धका योद्धा थिए । टेकवीरका छोरा रामबहादुर दोस्रो विश्वयुद्ध लडे भने उनका दुई छोरा बेलायती सेनामै छन् । उनका नम्बरीमात्रै होइनन्, बेलायत सरकारले आवासीय भिसा व्यवस्था गरेपछि घरै रित्तो पारेर गोर्खाली बेलायत बसाइँ सरेका छन् । तर, उनलाई त्यहाँको सुख–सयलले तान्न सकेन । उनी कहिले वर्षमा दुईपटक नभए एकपटक बेलायत जाने गर्छन् । बेलायत सरकारले नै उनलाई बेलायत बोलाउँछ । भीसी पदक पाउनेजतिलाई वर्षमा एकपटक सरकारले बेलायत बोलाएर भेटघाट गराई सन्चो–बिसन्चो सोध्ने गर्छ । भिक्टोरिया क्रस एन्ड जर्ज क्रस एसोसिएसनको विशेष समारोहमा बेलायत पुगेकै हुन्छन् । भीसी पदक पाएबापत उनले पेन्सनबाहेक मासिक एक सय ५० पाउन्ड स्टर्लिङ पाउँदै आएका छन् । सन् १९३७ मा भिक्टोरिया क्रस स्थापना भएको हो ।
९२ वर्षमा हिँड्दै गरेका भीसी लिम्बू तन्दरुस्तै देखिए पनि उनलाई उच्च रक्तचापले समातेको छ । औषधि खाएर रक्तचाप नियन्त्रणमा राखेका उनी वर्षमा ललितपुर र जाडोमा झापाको दमक पुग्छन् । पाँचथरको च्याङ्थापुसमेत जान छाडेका छैनन् । कुराकानी टुंग्याउन खोज्दै थिएँ । भीसी लिम्बूूले आफूसँग सम्बन्धित रोचक किस्सा सुन्न अनुरोध गरे, ‘कक्षा १० को सामाजिक शिक्षा किताबमा मलाई स्वर्गीय भीसी रामबहादुर लिम्बू भनेर उल्लेख गरेको रहेछ । थाहा पाउनबित्तिकै शिक्षा मन्त्रालयमा सिकायत गरें । गर्नसाथ माफी माग्दै उसले सच्याएको थियो ।’ जीवित मानिस सपनामा मृत्यु भएको देखिएमा उसको आयु बढ्छ भन्ने नेपाली मान्यता छ । त्यसो हो भने कक्षा १० को सामाजिक किताबमा जीवित मानिसलाई स्वर्गीय लेखेर भीसी रामबहादुर लिम्बूको आयु बढाइदिएकै हुन् त ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार