दमकमा हङकङ

एक व्यवसायीले तीनजनालाई रोजगारी दिनु भनेको सानो काम होइन । प्रत्येक व्यवसायीले तीनजनालाई रोजगारी दिने हो भने देशमा बेरोजगारका संख्या घट्नु त छँदै छ, रिनपान गरेर वैदेशिक रोजगारीमा भौँतारिनु पर्दैन ।
दमक, झापाकी कमला राईले हङकङ व्युटीपार्लर सञ्चालनमा ल्याई तीनजनालाई रोजगारी दिएकी छन् । आफ्नै घर–आँगनमा रोजगारी पाउनु भनेको अहोभाग्य नै हो । घरकै खाना र खाजा खाएर रोजगारी पाउनुलाई त्यत्तिकै सुखद मानिन्छ । हङकङ व्युटीपार्लरमा तीन महिलाले रोजगारी पाएका छन् ।
दमकमा समेत घरघरै व्युटीपार्लर खुलेका छन् । घरघरै पार्लर भएपछि व्यापार फस्टाउने कुरै भएन । तर, हङकङ व्युटीपार्लरलाई त्यस्तो समस्याले पटक्कै छोएको छैन । किन ? प्रोप्राइटर राई भन्छिन्, ‘हङकङ यहाँका पुरानोमध्येका एक पार्लर हो । मैले आफ्नै घरमा पार्लर खोलेकी हुँ । एकातिर कोठाभाडा तिर्न पर्दैन भने अर्काेतिर स्तरीय सेवाले नै मेरो व्यवसायमा असर पारेको छैन ।’
प्रोप्राइटर राई मालिक र मजदुरबीच दूरी राख्दिनन् । समय मिल्नासाथ काम गर्न राखिएकाहरूसँगै काम गर्न पछि पर्दिनन् । यहाँ आइपुगेका नयाँ ग्राहक को प्रोप्राइटर हुन् अनि को कामदार छुट्याउन मुस्किल पर्छ । त्यसैले उनले तीनजना कामदारलाई तलब छुट्याएर मासिक ४० हजार रुपैयाँ आम्दानी गर्छिन् । घरमै व्यवसाय चलाएर मासिक ४० हजार हात पार्ने कमला थोरै सफल व्यवसायीमध्ये एक हुन् । उनले हाँस्दै भनिन्, ‘महिनामा ४० हजार रुपैयाँ हात लागे पनि घरायसी काममै खर्चिने भएकाले कमाइचाहिँ देखिँदैन ।’
व्यवसायी राईले पार्लरका अलावा फेन्सी पसलसमेत खोलेकी छन् । दुवै व्यवसायलाई सफलतापूर्वक सञ्चालन गर्ने उनको व्यापारिक कौशल लोभलाग्दो छ । व्यस्तताको त झन् कुरा गरिसाध्य छैन । पार्लरसम्बन्धी सामान लिन सिलगुडी, भारत जान तयार गर्दै रहेकी उनले टेलिफोनमा भनिन्, ‘व्युटीपार्लर सिक्न आएकालाई क्लास लिनदेखि नोट लेखाइदिनसम्म भ्याउनुपर्छ । त्यतिमात्रै होइन, दुवै व्यवसायका लागि आवश्यक सामान व्यवस्थापन गर्नुदेखि हिसाब–किताब दुरुस्त राख्नसमेत आफँैले भ्याउनुपर्छ । साथीभाइदेखि ग्राहकसँग चिया खाने समय पनि निकाल्नैपर्यो, सबैको मन राखिदिनैप¥यो । त्यसो गरिएन भने ग्राहक भड्किन पनि सक्छन् ।’
फेन्सी पसल खोल्नुअघि उनले पार्लरमै ढाका सारी, टप्स राखेकी थिइन् । ढाका सारी र टप्स अहिले पनि राखिएका छन् । ढाकाका सारी कमला आफैँले पनि बुन्छिन् । उनले भनिन्, ‘माग बढी आयो भने खरिद गरेर पनि ग्राहकलाई समयमै पठाउनुपर्छ ।’ एउटा ढाका सारी बुन्न चार/पाँच दिन लाग्छ । सो सारी प्रतिगोटा ५ हजार ५ सयदेखि ६ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । उनले ढाका सारी अमेरिका र काठमाडौँ पठाउने गरेकी छन् ।
संवत् ०५८ मा स्थापित पार्लरबाट ३ सयभन्दा बढीले पार्लरसम्बन्धी तालिम लिइसकेका छन् । तालिम लिन अधिकांशले पार्लर खोलका छन् । आफ्ना विद्यार्थीले गरेको प्रगति देखेर/सुनेर कमलाई हर्षले पुलकित छन् । आफूले सिकाएका विद्यार्थीमध्ये कसैको म्याम, कसैको दिदी, कसैले गुरुआमा भन्दै भेटघाट र टेलिफोन गरिरहने उनले सुनाइन् । व्यवसायी कमलाको व्यवसाय उकालो लाग्नुमा श्रीमान् शरण राईको समेत हात रहेको छ । ‘किचनको धेरैजसो काम काम श्रीमान्ले सघाउने भएकाले मैले फुल्ली व्यवसाय हेर्न पाएकी छु,’ उनको स्वीकारोक्ति छ, ‘मलाई पार्लर सिक्न सासुआमाले अह्राउनुभएको हो ।’ सासुआमाले सुझाउनुभपछि व्युटीपार्लर तालिम गरेर यही व्यवसायमा रमाइरहेकी उनलाई यहीँ अमेरिका, बेलायत, जापान, सिंगारपुर र हङकङ पनि यहीँ भएको छ ।
‘व्युटीपार्लरतिर नलागेकी भए उनी के गर्थिन् होला ?’ पंक्तिकारको सोधाइमा उनले भनिन्, ‘पढेर सरकारी जागिर खाने सपना देखेकी थिएँ । अफिसर भन्ने धोको थियो ।’ अफिसर बन्ने धोको पूरा नभए पनि उनले अफिसरको मासिक तलबभन्दा बढी रुपैयाँ हात पार्छिन् । गत वर्ष तीजदेखि दसैँ–तिहारसम्ममा स्टेट गर्दामात्रै डेढ लाख कमाएकी उनलाई पशुपति शर्माले गाएको गीत मलाई अमेरिका नि यहीँ भन्ने गीतसँग तुलना नगरी रहन सकिँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार