जागरुक जानुका

 

‘कतै पढेकी थिएँ, अमेरिकाको न्युयोर्कमा एक दिनमा हुने अपराध जापानमा वर्ष दिनमा पनि हुँदैन,’ जापानको सिजुओका विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी जानुका निरौलाले भनिन्, ‘जापानी कामप्रति एकदमै लगनशील हुन्छन् । उनीहरू कामलाई मात्रै पूजा गर्छन् ।’
सात वर्ष बस्दा निरौलाले जापानलाई नजिकबाट नियालिन् । काठमाडौँको बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा अध्यापन गर्दै गरेकी उनी सन् २००१ मा दोस्रोपटक जापान पुगिन् । समाजशास्त्रमा स्नातकोत्तर गर्न छात्रावृत्ति पाएपछि उनी त्यता गइन् । रहँदा–बस्दा उनले जापान र जापान पुगेका नेपालीबारे जान्ने–बुझ्ने मौका पाइन् ।
‘कामको पूजा गर्ने जापानीप्रवृत्तिले मलाई एकदमै प्रभाव पार्यो,’ निरौलाको सुनाइन्, ‘मैले पनि अनुभवका लागि पार्टटाइम जब गरेँ । त्यहाँ मजदुर र हाकिम चिनिँदैनन् । मैले हप्तामा २८ घन्टा काम गर्दा जो पनि एकाग्र भएर काम गरिरहेकै देखेँ ।’
कामको पुजारी मानिने जापानी आफूले गरेको काममा असफल भए वा कम्पनीले कामबाट निकाले भने धैर्य नगरी आत्महत्या गर्ने प्रवृत्ति बढ्दो छ । जापान संसारमै सबैभन्दा बढी आत्महत्या गर्नेको देश भनेर तथ्यांकले देखाएको छ ।
जापानका अभिभावकले पढाइमा छोराछोरीप्रति भेदभाव गर्दैनन् । तर, छात्रालाई भन्दा छात्रलाई पढाइको भार बढी रहेको निरौलाले बुझाइ छ । जापानका अभिभावकले आफ्ना छोराछोरीलाई कक्षा एकदेखि नै ट्युसन पढाउने चलन बढ्दो छ । कारण ? निरौलाले भनिन्, ‘उच्च शिक्षा हासिल गर्न छोराले राम्रो कलेजमा नाम निकाल्नुपर्छ । पढ्नुपर्छ । राम्रो कलेजमा पढेपछि उसको भविष्य स्वतः राम्रो हुन्छ भन्ने उनीहरूको बुझाइ छ ।’
नेपालमा आफ्ना छोराछोरीलाई सकेसम्म नाम चलेका बोर्डिङमा स्कुलमा पढाउने गरिन्छ । जापानमा त्यस्तो छैन । त्यहाँ जापान सरकारले तोकेकै स्कुलमा बालबच्चा पढाउनुपर्छ । निश्चित क्षेत्रले निश्चित स्कुल तोकेको हुन्छ । त्यहीँ पढाउनुपर्छ, अन्त पढाउन पाइँदैन । निश्चित क्षेत्रबाहिर पढाउन चाहेमा कारण खुलाउनुपर्छ । यो प्राइमरीदेखि जुनियर हाइस्कुलका विद्यार्थीका हकमा मात्रै लागू हुन्छ । जापानमा अहिलेसम्म सरकारी स्कुल तथा कलेजको बाहुल्य छ ।
त्यतिमात्र होइन, जापानमा महिना दिनभन्दा बढी बच्चालाई घरमा राख्न पाइँदैन । अनिवार्य स्कुल पठाउनुपर्छ । ब्राजिलियनले आफ्ना बच्चालाई स्कुल नपठाएकाले जापानको हामामात्सुमा सामाजिक विकृति बढेको जापानी सरकारको बुझाइ छ । त्यसैले विशेषगरेर ब्राजिलियन अभिभावकलाई लक्षित गर्दै सरकार र त्यहाँका सामाजिक संघ–संस्थाले उनीहरूका बालबच्चा स्कुल पठाउन प्रोत्साहित गर्दै आएका छन् ।
निरौलाको ठम्याइ छ, ‘जापानका स्कुलमा जापानी भाषाबाटै अध्यापन गरिन्छ । संसारको जुनसुकै ठाउँमा प्रकाशित किताब जापानमा सात दिन आइपुग्छ । र, तुरुन्त अनुवाद गरेर पढाउन थालिन्छ । भाषिक प्रवद्र्धनका लागि पनि उनीहरूले यस्तो नीति बनाएको हुनुपर्छ ।
रोचक कुरा, जापान बूढाबूढी बढी भएको देश हो । नेपालका वृद्धवृद्धाले तीर्थ जाने अनि धर्मकर्म गरेर फुर्सदको समय सदुपयोग गर्ने गर्छन् । जापानमा धर्म मानिँदैन तर उनीहरूले नेपाली वृद्धवृद्धा गरेको काम अवलम्बन गरी फुर्सदको समय सदुपयोग गर्न सक्छन् । जापान मानिसको जन्मदर १ प्रतिशतबाट तल झरिसकेको छ । जापानमा महिलाभन्दा पुरुषको आयु कम छ । जापानी महिला गृहिणी भएपछि पहिले गरिरहेको कामसमेम छाड्ने गर्छन् । कारण ? जापानको सामाजिक संरचना नै त्यस्तै रहेको छ । सम्बन्धित दम्पतीको बच्चा जन्मेपछि श्रीमान्–श्रीमती नै काममा गए भने श्रीमान्

ले काम गरिरहेको कार्यालयबाट पाउने भत्ता कम हुन्छ । ‘कारण त्यतिमात्रै होइन,’ नेपाल र जापानबाट समेत समाजशास्त्रमै स्नातकोत्तर गरेकी जानुका निरौलाले प्रस्ट्याइन्, ‘हाउसवाइफले बच्चा हेर्नैपर्यो । बच्चा हेर्ने नभएपछि जागिर गरिरहन अप्ठ्यारो पर्छ । जागिर गरिहालेमा बच्चालाई डे केयरमा राख्दा महँगा शुल्क बुझाउनुपर्नेहुन्छ  । त्यही भएर उनीहरूले आफ्ना बालबच्चा स्कुल गएको बेला ‘पार्ट टाइम जब’ मात्रै गर्ने गर्छन् । बच्चाको स्कुल बिदा समर तथा विन्टर भ्याकेसनमा उनीहरू कहिल्यै काममा जाँदैनन् ।’ जापानी यस्तै समस्याबाट गुज्रँदै आएकाले ढिलो बिहे गर्ने गरेको निरौलाको बुझाइ छ ।

‘जापान रहँदा म जुन ठाउँ बसेँ, त्यहाँ महिला हिंसासम्बन्धी घटना कहिल्यै देखिनँ,’ उनले सुनाइन्, ‘घरभित्र जापानी महिला बलशाली हुन्छन् । घरभित्रको सप्पै अधिकार उनीहरूकै हातमा हुन्छ । तर, डिसिजन मेकिङ लेभलमा उनीहरूको उपस्थिति एकदमै न्यून छ ।’
जापानी सप्पै कुरा सुखी सम्पन्न भए पनि ‘ह्युमेन रिलेसन’ मा कमजोर मानिन्छन् । निरौलाको दाबी छ, ‘बिहे भन्नसाथ नेपाली समाजमा दुई परिवारबीचको सम्बन्ध हुन्छ । जापानमा त्यो हुँदैन । त्यहाँ दुईजनाबीचको मात्रै सम्बन्ध हुन्छ । हुँदाहुँदा हिजोआज त यतिसम्म भएको छ कि बिहे गर्छन्, त्यसपछि हनिमुन मनाएर फर्कंदै गर्दा बाटैमा सम्बन्धविच्छेद गर्छन् ।’ जापानमा सम्बन्धविच्छेद प्रतिशत पनि उच्च रहेको छ । नेपाल भने सम्बन्धमा धनी छ । उनीहरूको वैवाहिक सम्बन्ध सुमधुर हुन्छ । उल्लिखित प्रसंग प्रस्ट्याउँदै उनले उदाहरण पेस गरिन्, ‘मैले मेरो एक विद्यार्थीसँग कुराकानी गर्दा उनले भनेका थिए, ‘मैले बुवासँग सँगै बसेर खाना नखाएको दुई वर्ष भयो । ती विद्यार्थी उठ्दा उनको बुवा काम गइसकेका हुन्थे । बुवा घर फर्कंदा उनी सुतिसकेका हुन्थे ।’
नेपालीलाई जापानीले सधैँ सम्मान गर्छन् । उनीहरू नेपालीलाई हिमालयको देशबाट आएका हुन् भनेर चिन्छन् । नेपाली र जापानी एउटै कम्पनीमा काम गरिरहेकाछन् भने पनि यिनीहरू विदेशी मजदुर हुन् भनेर हेलाँहोचा गर्दैनन् । कामलाई पूजा गरे पनि  जापानी फ्याक्ट्रीमा काम गर्न रुचाउँदैनन् ।
 नेपालबाट अध्ययन गर्न जापान जाने पहिलो नेपाली डोरबहादुर विष्ट हुन् भनेर सुनेकी निरौलाको भनाइ छ, ‘जापान पढ्न जाने भने पनि नेपाली पैसा कमाउनै गएका हुन् । तर, पछिल्लो समय काम सजिलै पाउन छाडिएको छ । जापानमा एकताका विकास निर्माणसम्बन्धी धेरैभन्दा धेरै काम थियो । अहिले विकास निर्माणसम्बन्धी काम त्यति छैन ।’
नेपाली तीन किसिमले जापान जान्छन् । पहिलो ‘वर्किङ भिसा’ र दोस्रो युनिभर्सिटी पढ्न जाने र तेस्रो अहिले चलेको ‘ट्रेन्ड’ भाषा पढ्न । भाषा पढ्न जानेले आईए पास गरेको हुनपर्छ । साथै उसले ६ महिना अर्थात् दुई ६० घन्टा जापानी भाषा पढेको हुनुपर्छ । भाषा पढ्न जापान जान चाहनेले आईए पास गरेको छ भने २३ ननाघेको, स्नातक पढ्दै गरेकालाई २५ र पास गरेकालाई ३० वर्षको उमेर हद तोकिएको छ । उनीहरूले दुई ६० घन्टा जापानी भाषा पढेको हुनुपर्छ ।
स्नातकोत्तर पढ्न जापान जान चाहनेलाई जापानी दूतावासले छात्रावृत्ति दिने गरेको छ । उसले पनि भाषा जान्नैपर्छ । भाषा नजान्दा काम पाउन गाह्रो । जापानबाट नेपाल फर्केपछि जापानी भाषा पढाउँदै आएकी निरौलाले सुनाएन्, ‘जापानी प्रोफेसरसँग सीधा सम्पर्क सम्बन्ध बढाएर पनि जान सकिन्छ । तर, भाषा जानेको छ भने उत्तम ।’
भाषिक ज्ञान भएमा जापानमा काम खोज्न पनि सजिलो हुने उनको भनाइ छ । उनले जापान गएका र जाँदै गरेका नेपाली विद्यार्थीलाई अनुरोध गरिन्, ‘अलिकति दुःख गर, मिहिनेत गर । युनिभर्सिटी जाऊ । जापानबाट स्नातक वा स्नातकोत्तर पूरा गर्नसाथ भविष्य फराकिलो हुन्छ । राम्रा–राम्रा कम्पनीमा काम पाइन्छ । पार्टटाइम जबमा मात्रै अल्झनुपर्दैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार