पेलेविरुद्ध गोल गर्ने श्याम मगर

मेरो नाम श्याम थापामगर हो । फुटबल जगत्मा श्याम थापा भनेर चिनिन्छु । सन् १९४८ मे १० मा गुल्मीको भासे्रमा जन्मेको हुँ । बुवा स्वर्गीय विसनसिंह थापामगर र आमाको नाम हीरादेवी थापामगर हो । बुकनीमा बाख्रा चराउँदै हिँडेको अहिले भर्खरैजस्तो लाग्छ । तर, यसबीचमा भारतको सर्वाधिक महँगो फुटबलरदेखि नेपालको राष्ट्रिय टीमको प्रशिक्षकसम्म भइसकेँ ।

सन् १९७० देखि १९७४ सम्म भारतको राष्ट्रिय टिमका स्ट्राइकर रहेर खेलेँ । इस्ट बंगाल क्लब र मोहन बगान क्लबमा लामो समय अनुबन्धित भएँ । १३ वर्षमा गोर्खा स्कुलको र्तफबाट सुव्रतो मुखर्जी कप खेल्न गएको थिएँ । म लाहुरे पृष्ठभूमिबाट आएको हुँ । पारिवारिक दबाबमा १९६७ मा भर्ती पनि भएँ तर साढे दुई वर्षमै इस्ट बंगाल क्लबमा अनुबन्धित हुन सेनाको जागिर तिलाञ्जली दिएँ । त्यतिबेला मलाई १० हजार भारतीय रुपैयाँ तिरेरमात्रै सेनाको जागिर छाड्न भनियो । जम्मा ९५ भारतीय रुपियाँ मासिक तलब भएको बेलामा त्यत्रो रकम कति ठूलो थियो आफैँ अनुमान लगाउन सक्नुहुन्छ । यद्यपि, मसँग रकम असुल्नेभन्दा पनि सेना नछाडोस् भनेर अड्को थापेकोमात्रै थियो । तर, मेरो पारिश्रमिकबाट कट्टा हुनेगरी त्यो रकम तिर्न क्लब तयार भयो । सन् १९७० देखि करिब ६ वर्ष इस्ट बंगाल क्लबका लागि खेलें ।
महँगो खेलाडी
त्यतिबेलासम्म म भारतको सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी भइसकेको थिएँ । सिजनको ४५ हजार भारतीय रुपियाँ पाउनु चानचुने कुरा थिएन । त्यसपछि सन् १९७७ मा भारु ७० हजार पारिश्रमिक लिनेगरी मोहन बगानमा अनुबन्धित भएँ । त्यो रकम अहिलेको ७० लाखजति हो । समर्थकको अत्यधिक भीड र क्लबको तानातानबीच मोहन बगानसँग सम्झौता गर्न देहरादुनमा प्रहरीको भ्यानमा गएँ । बढी पारिश्रमिक पाएरभन्दा पनि फुटबलका राजा पेलेसँग खेल्न पाउने लालसाले मलाई मोहन बगान क्लबमा पुर्याइएको थियो । मगरको छोरोलाई पैसाले मात्रै तानेको अवश्य थिएन ।
त्यतिबेला अमेरिकाको कसमस क्लबबाट खेल्न आएका पेलेको टीम र मोहन बगानबीच प्रतिस्पर्धा हुँदै थियो । २÷१ ले पछाडि परेको मोहन बगानलाई मेरो गोलले बराबरीमा पुर्याएको थियो । पेलेको टीमविरुद्ध गोल गर्नु मेरो जीवनको सबैभन्दा बढी सम्झनालायक क्षण बन्यो । खेल सकिएपछि कुन खेलाडी मन पर्यो भनेर सोध्दा पेलेले ‘जर्सी नम्बर २२ इज बेस्ट’ भनेपछि त मेरो खुसीको सीमै रहेन । जुनसुकै क्लबबाट खेल्दा मेरो २२ नम्बर जर्सी हुन्थ्यो ।
सन् १९७० मा बैंककमा भएको एसियन गेममा भारतले कास्यपदक जितेको थियो । त्यसबापत अहिले पनि मासिक ६ हजार भारु पेन्सन प्राप्त गरिरहेको छु । नेपालका खेलाडीले भने अहिलेसम्म पनि यस्तो सुविधाको कल्पनासम्म गर्न सक्दैनन् । रूपन्देही मंगालपुरमा पनि मेरो घर छ । तर, अहिले कलकत्तामा भारत सरकारले उपलब्ध गराएको घरमा बस्छु ।
नेपाली हुनुको पीडा
नेपाली भएर भारतका लागि खेल्दा दुःखद क्षणको पनि सामना गरेको छु । सायद जीवनको सबैभन्दा बिर्सनलायक घटना सन् १९७६ र १९७७ को म हाइस्कोरर थिएँ । तर, १९७८ को एसियन गेमका लागि मलाई सुनियोजित रूपमा छनोट गरिएन । त्यतिबेला नेपाली भएकैले मलाई अन्याय गरियो । त्यसअघि भएका दुई एसियन गेममा लगातार खेलेको अनुभव भएकाले म टीमको कप्तानको एकमात्र हकदार थिएँ । एसियन गेम खेलेको टीम कप्तानलाई स्वतः अर्जुना अवार्ड दिनुपर्ने भएकाले मलाई खेलाडीको सूचीमै राखेनन् । त्यसपछि मलाई के भयो यहाँ शब्दमा बयान गर्न सक्दिनँ ।
मलाई राष्ट्रिय टीमबाट हटाइएकोमा चौर्तफी विरोध भएपछि क्लोज क्याम्पमा आउन पत्र पठाइयो । त्यतिबेला टीममा नफर्कनुलाई गलत निर्णय भएजस्तो लाग्छ । त्यतिबेला कुनै पनि साथीले फर्क टीममा जानु भन्ने सल्लाह पनि दिएनन् । मेरो पनि युवा जोश । हल्का इगो प्रोब्लम नहुने कुरै भएन ।
सन् १९९० को विश्वकप हेर्ने बेलामा यस्तै गलत निर्णय भयो । इटलीमा भएको विश्वकप हेर्न देहरादुनको जग्गा भारु दुई लाखमा बेचें । श्रीमतीले नबेच्नुभन्दा पनि मैले मानिनँ । कलकत्ता पुग्दा त सरकारले निःशुल्क विश्वकप हेर्ने लिस्टमा मेरो नाम छनोट गरेको रहेछ । त्यतिबेला भारु २ लाखमा बेचेको जग्गाको मूल्य अहिले दुई करोड पुगेको छ ।

खेलाडीबाट प्रशिक्षक
मोहन बगानबाट इस्ट बंगाल क्लबमा फर्केको एक वर्षपछि सन् १९८४ मा सक्रिय खेलजीवनबाट सन्न्यास लिएँ । र, इस्ट बंगालबाटै १९८५ देखि सहायक प्रशिक्षकका रूपमा नयाँ करिअर प्रारम्भ गरेँ । त्यसमा पनि म भाग्यमानी ठहरिएँ । ६ महिनामै सहायक प्रशिक्षकबाट प्रशिक्षक भएँ । सन् १९८७ मा लन्डनबाट डिप्लोमा इन कोचिङ गरेपछि अल इन्डिया फुटबल फेडेरेसनमा पनि प्रशिक्षक भएँ । १९९० देखि २००२ सम्म विलियम मेगर कम्पनीको किशोर खेलाडी तयार गर्ने परियोजनामा प्राविधिक निर्देशकको जिम्मेवारी पूरा गरेँ । सन् २००४ मा नेपालमा प्रशिक्षक भएर आउनुभन्दा पहिलासम्म मेरो पुरानो क्लब मोहन बगानमा प्राविधिक निर्देशक भएको थिएँ ।

मातृभूमिलाई पसिना
अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष गणेश थापाबाट युथ डेभलपमेन्ट प्रोग्राममा प्रशिक्षक अफर आएपछि भने म ठूलो द्विविधामा परेको थिएँ । एकातिर पेलेसँग खेल्ने अवसर जुराएको मोहन बगानको जिम्मेवारी थियो भने अर्कोर्तफ आफ्नै देशका खेलाडीलाई सिकाउने । तर, मलाई पुरानो क्लब र त्यहाँको सुख–सुविधा भन्दा जन्मभूमिकै फुटबलले तान्यो । फुटबलर बन्ने सपना बोकेका ठिटाहरूसँग रम्न पाउने नेपालीत्वले आकर्षित गर्यो ।
नेपालको यु–१६, युथ–१९ हुँदै राष्ट्रिय टीमको प्रशिक्षक बनेँ । अहिले राष्ट्रिय टीमबाट खेलिरहेका अधिकांश खेलाडी चार वर्ष नेपालमा रहँदा मैले प्रशिक्षित गराएका छन् । साफ च्याम्पियनसिपको इन्जुरी समयमा बंगलादेशविरुद्ध गोल गरेर सनसनी मच्चाएका राष्ट्रिय टीमका कप्तान सागर थापा पनि मेरै उत्पादन हुन् । सागर, अनिल गुरुङलगायतलाई मैले पर्सनल्ली ट्रिट गरेको थिएँ । माओवादी द्वन्द्व चलिरहेको तथा एन्फा आफैँभित्र विवादमा रहेको बेलामा प्रशिक्षक बनेको थिएँ । नेपालका लागि चाहेजति गर्न भने सकिनँजस्तो लाग्छ ।
नेपालबाट खेल्ने मेरो टीम ब्रिगेड ब्वाइज हो । मेरो पालामा यो क्लब निकै चर्चित थियो । भारतका धेरै खेलाडीलाई यहाँ ल्याएर खेलाएँ । यसको मुख्य उद्देश्य नेपालमा फुटबल क्रेज बढाउनु थियो ।
२००८ मा नेपालबाट फर्केर उनी मोहन बगानमै पुगे र त्यसपछि जमसेदपुरमा टाटा एकेडेमीको प्राविधिक निर्देशक बने । अहिले कलकत्ताको पाइलियन वल्र्ड स्कुलमा फिफाको युथ डेभलपमेन्ट प्रोग्राम डाइरेक्टर छु । सन् १९७७ मा नेपाल आएका बेला एन्फाका बोदबहादुर राउत मलाई लिन रूपन्देहीमा रहेको घरमै आएका थिए । भैरहवाबाट काठमाडौं विमानस्थल नपुग्दै मलाई विमानमै बुट र जर्सी लगाउन लगाइयो । भएको के रहेछ भने रंगशालामा खचाखच दर्शक प्रतीक्षामा रहेछन् । त्यहीकारणले विमानभित्रै जर्सी लगाउन लगाएका रहेछन् । त्यतिबेला आफैँले सोचेभन्दा बढी चर्चित भएछु भन्ने लाग्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार