भूमिमा सांस्कृतिक स्वामित्व

दीपेन्द्र राई

भूमिमा राजकीय–प्रशासनिक स्वामित्वमात्र हुन्छ कि सांस्कृतिक स्वामित्व पनि ? यो प्रश्न खासमा प्रश्न नभएर नेपाली समाजलाई बुझ्ने आँखीझ्याल हो ।
जमिनमा सांस्कृतिक स्वामित्वको सवाल धेरै छलफलमा रहेको विषय होइन । धेरैलाई यसबारे थाहासमेत छैन । तर, परापूर्वकालदेखि यसप्रकारको स्वामित्व नेपाली समाजमा विद्यमान रहेको छ । आदिवासी जनजाति समाजमा जमिनमा सांस्कृतिक स्वामित्वको मान्यता अहिले पनि कायमै छ ।
जमिनमा राजकीय स्वामित्वको अवधारणा राज्यको विकाससँगै भएको हो । उद्योग नभएर जमिनमा आधारित सामन्तवादी युगमा भूमिका मालिक राजा हुन्थे । र, जनताचाहिँ उत्पादक अथवा सशुल्क जग्गा प्रयोगकर्ता हुन्थे । जमिनको अन्तिम स्वामित्व जनतामा हुँदैनथ्यो । तर, राज्यको धेरै विकास नगरिसकेको आदिवासीय समाजमा जमिनमा सामूहिक र सांस्कृतिक स्वामित्व प्रचलनमा थियो, जो अहिले पनि छ । तर, सुषुप्त रूपमा मात्र ।
के हो जमिनमा सांस्कृतिक स्वामित्व ?
सिकार खेलेर जीविकोपार्जन गर्ने घुमन्ते समाज कृषिमा आधारित स्थायी समाजमा परिणत भएपछि विकास भएको अवधारणा हो जमिनमा सांस्कृतिक स्वामित्व । यो एक हिसाबले सामूहिक स्वामित्व प्रणाली नै हो । तर, यस्तो अवधारणा पनि होइन कि त्यहाँ अरू जातजातिले प्रवेश गर्नै पाउँदैनन् । बरु यो जमिनलाई पहिलोपटक आवादी गर्ने र आवादी गर्ने अगुवाको ऐतिहासिक स्मरण गर्ने प्रणाली हो । उसप्रति सम्मान व्यक्त गर्न यो अवधारणाको विकास भएको हो ।
पूर्वी नेपालका मूलतः किरात समुदायमा यो अवधारणा अहिले पनि जीवित रहेको छ । उनीहरूको संस्कार, संस्कृतिजन्य कार्यको अनिवार्य पाटो नै हो यो । विवाह र पितृकार्यमा यसको विशेष उल्लेख हुने गर्छ । किरात राई समुदायमा वैवाहिक कार्य गर्दा ‘सामै’ सोध्ने अथवा ख्याल गर्ने चलन छ । यो ‘सामै’ नै भूमिमा सांस्कृतिक र सामूहिक स्वामित्वको परिचायक हो । ‘सामै’ले एकसाथ दुई कुरा बताउँछ– एक, जमिनलाई उर्वर बनाउन अगुवाइ गर्ने व्यक्ति र यसमा स्वामित्व रहेको वंश, दुई, जमिनको विशेषता । यो सबैथरि भाषा बोल्ने राई समुदायमा प्रचलित छ ।

खोटाङको हलेसी क्षेत्रका पाँच/सातवटा गाविसलाई सांस्कृतिक रूपमा एउटा एकाइ मानिन्छ । होलैसुङ नामका किरात अगुवाले आवादीयोग्य बनाएको, मानिसले धोती लगाउने र चाम्रो माटो पाइने हुनाले त्यो क्षेत्रलाई ‘होँलैसुङ होँपुइखा बुइदली चाम्रोपा’ भनेर सांस्कृतिक रूपमा नामकरण गरिएको हो । यो नामलाई किरात राई समुदाय ‘सामै’ भन्ने गर्छन् ।

कुनै पनि निश्चित क्षेत्र अथवा भू–भाग ओगटेको जमिनलाई सबैभन्दा पहिले जुन खलकले आवादीयोग्य बनायो, जसको अगुवाइमा आवादीयोग्य भयो त्यही वंश र अगुवाको नामबाट त्यो समग्र क्षेत्रको नामकरण गर्ने गरिन्छ । त्यस्तै गरेर त्यो खेतीयोग्य भूमिको जुन विशेषता रहेको छ, त्यो पनि झल्किनेगरी नामकरण गर्ने गरिन्छ । तर, त्यो नामकरण अहिले प्रचलनमा रहेका ठाउँका नामहरूझैँ सबैले बोलाउने, चिन्ने नामझैँ नभएर सांस्कृतिक कार्य विवाह, पितृकार्य आदि गर्दा मात्र त्यो नामको उल्लेख हुने गर्छ ।
जस्तो कि खोटाङको हलेसी क्षेत्रका पाँच/सातवटा गाविसलाई सांस्कृतिक रूपमा एउटा एकाइ मानिन्छ । होलैसुङ नामका किरात अगुवाले आवादीयोग्य बनाएको, मानिसले धोती लगाउने र चाम्रो माटो पाइने हुनाले त्यो क्षेत्रलाई ‘होँलैसुङ होँपुइखा बुइदली चाम्रोपा’ भनेर सांस्कृतिक रूपमा नामकरण गरिएको हो । यो नामलाई किरात राई समुदाय ‘सामै’ भन्ने गर्छन् । विवाह अथवा पितृकार्य गर्दा यो नाम पुकार गर्नुपर्ने, बताउनुपर्ने हुन्छ ।

यसरी जमिन आवादी गर्ने अगुवा, उसको वंश र जमिनको विशेषता बताउने त्यो भू–भागको नामकरण गरिएको हुन्छ, जसलाई सामै भन्ने गरिन्छ । यस्ता सामै सबै राई समुदायमा प्रचलित छ । यसको सुरुवात किरात राईहरू कृषि सभ्यतामा प्रवेश गरेसँगै भएको हो । उनीहरू कृषि सभ्यतामा कहिले प्रवेश गरेका थिए भन्ने कुरा यकिनसँग अध्ययन भइनसकेकाले गर्दा भूमिलाई सांस्कृतिक स्वामित्व मान्ने प्रचलन कहिलेदेखि सुरु भयो भन्न सकिने अवस्था छैन । तर, सामान्य अनुमानका आधारमा आँकलन गर्दा यो २५०० वर्षभन्दा पुरानो अवधारणा भने होइन भन्ने बुझिन्छ । किनभने भारतको सिक्किम र पूर्वी नेपालमा पाइएका सिकारी चरणका मानिसले प्रयोग गर्ने हतियारको समय आजभन्दा २५०० वर्ष पुरानोमात्र मानिएको छ ।
पहिचान र जमिनमा सांस्कृतिक स्वामित्व
सामैले जमिनसँग वंशगत सम्बन्ध रहेको देखाउँछ । त्यो जमिनलाई आवादीयोग्य बनाउने अगुवासँग जोड्ने गर्छ । एकप्रकारले सामैको अवधारणा सांस्कृतिक अभिलेखीकरणको अवधारणा हो । लेख्य परम्पराको विकास भएको समाजमा कागजपत्र, शिलालेख, ताम्रपत्र आदिमा अभिलेख राखेर इतिहास सुरक्षित राखिन्थ्यो तर मौखिक परम्परामा चलेको समाजमा सांस्कृतिक क्रियाकलापसँग जोडेर इतिहास र आफ्नोपन जोगाउने चलन बलियोसँग विकास भयो । संस्कारजन्य कार्य गर्नेक्रममा सामै अनिवार्य बताउनुपर्ने चलनको सुरुवात यसरी नै भएको हो । आफ्नो इतिहासको रक्षा र सामूहिक पहिचानको मोह नभएको भए यसप्रकारको अवधारणा विकास नै हुने थिएन ।

सामै कुनै व्यक्तिगत कुरा नभएर सामूहिक पहिचान र भूमिमा सामूहिक, सांस्कृतिक स्वामित्वसँग जोडिएको अवधारणा हो ।

किरात राई समुदायले आदिमकालदेखि बस्दै आएको मानिने पूर्वी नेपालका सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुर, सङ्खुवासभा र धनकुटा जिल्लामा सामै नजोडिएका आवादीयोग्य भूमि पाउन मुस्किल छ । उनीहरूको सर्वप्रथम कृषि र बस्तीयोग्य बनाएकै कारणले ती भूमि र बासिन्दालाई चिनाउनेगरी नामकरण गर्ने उद्देश्यले सामै राखिएका छन् । एउटा बुझ्नुपर्ने कुरा के भने जुन भूमि सामैसँग जोडिएको छैन, ती किरात राई समुदायले आवादी गरेका होइनन् । तर, यी जिल्लाहरूमा सामैसँग नजोडिएका ठाउँ पाउन मुस्किल छ । हालका पाँच/सातदेखि १०/१२ वटा गाउँ विकास समितिसम्म एउटा सामैले समेटेको छ । अर्थात् पाँचदेखि माथिका गाविस एउटा सामै क्षेत्रभित्र रहेका छन् । सामै कुनै व्यक्तिगत कुरा नभएर सामूहिक पहिचान र भूमिमा सामूहिक, सांस्कृतिक स्वामित्वसँग जोडिएको अवधारणा हो ।
मठमन्दिर नबनाउने, मूर्ति नबनाउने, अभिलेख नराख्ने केवल प्रकृति र पितृको पूजा गर्ने समुदायको पहिचान सामैजस्ता सांस्कृतिक अवधारणामा मात्र जीवित रहेको छ । तर, एउटा सामै भएको क्षेत्रमा अरू सामैका मान्छे अथवा सामैको प्रचलन नै नभएका समुदाय बस्न नपाउने भन्ने हुँदैन । सबै अटाउन सक्छन् तर इतिहासकालको कुनै बेला अगुवाले, कुनै वंशले त्यो जमिनलाई आवादीयोग्य बनाएको थियो, त्यो योगदानप्रति सबैले सम्मान गरौँ, त्यो योगदानलाई चिनौँ भन्ने मान्यताचाहिँ निश्चय नै सामैमा छ ।
अमेरिकामा हिजोआज पनि ‘थ्याङ्क्स गिभिङ’ दिवस मनाइन्छ । अमेरिकी आदिवासीले आवादी गरेको जमिनमा पछिबाट गोराहरू गएर बसेका कारणले गर्दा उनीहरूप्रति आभार व्यक्त गर्नका लागि यो दिवस मनाइने गरेको छ । आदिवासी समाजको एउटा विशेषता हो समावेशिता । सामै पनि यस्तै समावेशी अवधारणा हो । यसमा बहिष्करणको कतै पनि छनक पाइँदैन ।
सामै किरात राई समुदायले विकास गरेको मौलिक सांस्कृतिक संस्था हो । नेपालका थुप्रै अदृश्य (इन्टानजिबल) बौद्धिक सम्पदामध्ये पर्छ– सामै । अहिलेसम्म त यो संस्था लोप भइसकेको छैन । तर, यसको संरक्षण र विकासमा विशेष पहल नहुने हो भने लोप हुने खतरामा पनि छ । हजारौँ वर्ष लगाएर विकास गरिएको यस्ता अदृश्य सम्पदा जोगाउनु नेपालीको मौलिक पहिचान जोगाउनु हो । यस्ता संस्था किरात राई समुदायका निजी सम्पदा नभएर समग्र नेपालीको सम्पदामा परिणत गर्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार