घर छाडेपछि फुलेको सपना


काठमाडौं पस्दा सञ्चारकर्मी जगत दोङले इन्द्रेणी सपना देखेका थिएनन् । सञ्चारकर्मी दोङले देखेको सपनालाई ‘ब्ल्याक एन्ड ह्वाइट’ भन्न पनि मिल्दैन । गाउँठाउँमा पत्रकारिता पढाइ नहुने भएपछि उनी काठमाडौं पसे । यो २०५२ सालको कुरा हो । पत्रकारिता पढ्न काठमाडौं पसेको उनी आफूलाई रेडियोकर्मीका रूपमा स्थापित गराइसकेका छन् ।

काठमाडौं पसेको ६ वर्षपछि उनले रेडियो एचबीसी ९४ मेगाहर्जमा तामाङ भाषाको कार्यक्रम ‘ह्याङ्ला डाजाङ’ अर्थात् ‘हाम्रो मञ्च’ चलाउन सुरु गरे । ०५८ असारबाट रेडियो एचबीसी प्रवेश गरेका उनले त्यहाँ ६ वर्षसम्म काम गरे । सुरुताका साप्ताहिक रूपमा एउटा कार्यक्रम चलाउने उनी एचबीसी छाड्ने बेलासम्म सातामा चार कार्यक्रमको प्रस्तोता थिए । चार कार्यक्रममध्ये दुई तामाङ र दुई नेपाली भाषाका कार्यक्रम हुन् ।

उनले तामाङ भाषाका दुवै कार्यक्रमको प्रतिकार्यक्रम चार/चार सय रुपैयाँ पारिश्रमिक बुझ्थे । बाँकी दुई कार्यक्रम प्रायोजित थिए । गैरसरकारी संस्थाद्वारा प्रायोजित ‘जनजाति सरोकार’ र महिलासम्बन्धी कार्यक्रमबाट भने उनले गतिलै पारिश्रमिक पाउँथे । उनले सुनाए, ‘चार कार्यक्रमको पारिश्रमिक मासिक २० हजार रुपैयाँभन्दा बढी बुझ्थें ।’ त्यसताका २० हजार पारिश्रमिक बुझ्नु सामान्य विषय होइन ।’ चारवटै कार्यक्रमको समय ३०/३० मिनेटको थियो । उनले बीचमा विनापारिश्रमिक कार्यक्रम चलाएकोसमेत बताए ।

रेडियो एचबीसीमै काम गर्दागर्दै जगत दोङ, फूलमान बल, भक्त स्याङ्तान, तुलसा वाइबा, इन्दिरा योन्जन, सिर्जना गोले, हुइन्द्र मगर, सूर्यमाया दनुवार र मनीषा गौचनले २०६३ मा काभ्रेको धुलिखेलमा रेडियो नमोबुद्ध प्रसारणमा ल्याए । ‘सुरुको लगानी १५ लाख बढी थियो,’ दोङले खुसी व्यक्त गरे, ‘अहिले रेडियो नमोबुद्ध झन्डै एक करोडको सम्पत्ति बनेको छ । २० लाखको जग्गा छ भने २५ लाख रुपैयाँको त सोलारमात्रै छ ।’

एक करोड रुपैयाँको सम्पत्ति बनाउन रेडियो नमोबुद्ध संस्थापक प्रबन्धक जगत दोङलगायत नौजनाकै सामूहिक प्रयास थियो । छ । संस्थापक प्रबन्धक हुँदै अहिले अध्यक्ष रहेका दोङले गर्व गरे, ‘सामुदायिक रेडियो नमोबुद्धमा १५ जनाले पूर्ण रोजगारी पाएका छन् भने त्योभन्दा बढी अर्धरोजगारी छन् । रेडियो नाफामा नभए पनि घाटामा गएको छैन ।’ मुलुकभरिका एफएम रेडियो धराशयी बन्दै गएको बेला घाटामा नजानु रेडियो नमोबुद्ध काभ्रेको सफलता हो ।

गत मंसिर १३ गते आदिवासी जनजाति सामुदायिक रेडियोलाई संगठित पार्ने उद्देश्यले इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्क स्थापना भएको छ । यसका परिकल्पनाकार जगत दोङ नै हुन् । आदिवासी जनजातिका रेडियोको अधिकार, सहभागितालगायत विभिन्न शीर्षकमा काम गर्ने नेटवर्कको उद्देश्य रहेको छ । नेटवर्कले गत मंसिर १३ मा गरेको भेलाअनुसार मुलुकभरिका ४६ एफएम रेडियोमा आदिवासी जनजाति स्टेसन मेनेजर रहेका छन् ।

मेच्छे–६ काभ्रेनिवासी दोङ रेडियो पत्रकारिता थाल्नुअघि छापा पत्रकारितामा रमाएका थिए । पिपुल्स क्याम्पस पक्नाजोल काठमाडौंबाट आमसञ्चार तथा पत्रकारितामा प्रवीणता प्रमाणपत्र तह पार लगाएका उनले स्नातक र स्नातकोत्तर भने रत्नराज्य लक्ष्मी क्याम्पस भृकुटीमण्डपबाट पूरा गरेका हुन् । राजनीतिशास्त्रमा समेत स्नातकोत्तर उनले ०५५ साल अन्तिम÷अन्तिमदेखि ‘नयाँमोर्चा’ साप्ताहिकबाट पत्रकारिता थालेका हुन् । ०५६ देखि ०५८ सम्म ‘सत्याग्रह’ साप्ताहिकमा काम गरेका उनले ‘विकास’ त्रैमासिकमा समेत काम गरेका छन् । छापा पत्रकारितामा फर्कने सम्भावना कम रहेको बताउने उनले दुई वर्षसम्म ‘ताम्सालिङ’ पाक्षिक प्रकाशन गरेका थिए । त्यसअघि तामाङ भाषाका ‘लाग्र्युङ’ (इन्द्रेणी)  साप्ताहिकको सहसम्पादकको भूमिकासमेत निर्वाह गरेका थिए । ‘लाग्र्युङ‘ का सम्पादक पूर्वसांसद कमानसिंह लामा थिए । सम्पादक लामा नेपालका लागि दक्षिण कोरियाका पूर्वराजदूत हुन् ।

छापा पत्रकारिताबाट ‘करिअर’ थालेका उनलाई रेडियोमै काम गर्दा आनन्द लाग्छ । छापा पत्रकारिता हुँदै रेडियो र रेडियो पत्रकारितासँगै उनले टेलिभिजन सञ्चालनका लागि ०७१ मै टेलिभिजन प्रसारण अनुमति लिएका छन् । चौबीसै घन्टा प्रसारित ‘इन्डिजिनियस टीभी’ सञ्चालनका लागि दोङसहित देवकुमार सुनुवार, कैलाश राई, मायालु तामाङ, देवेन्द्र खापुङ, सूर्यमाया दनुवार र लक्ष्मी महर्जन संस्थापक रहनेछन् । दोङले प्रस्ट पारे, ‘इन्डिजिनियस मिडिया फाउन्डेसनले टीभी सञ्चालनमा ल्याउन लागेको हो । प्रसारण अनुमतिपत्र फाउन्डेसनसँग रहनेछ । आदिवासी जनजाति लक्षित टीभी सुरुमा केबल टीभीका रूपमा चौबीसै घन्टा प्रसारणमा आएको छ ।’

भनिन्छ, ‘काठमाडौं सपनाको सहर हो ।’ सपना साकार पार्न मुलुकभरिका मानिस काठमाडौं खाल्डो पस्ने गर्छन् । काठमाडौं खाल्डोमा कत्तिका सपना पूरा हुन्छन् भने कत्तिका सपना सपनामै सीमित रहेका हुन्छन् । सपना ठूलै देख्नु भनिन्छ । सपना देखेरमात्रै पनि हुँदैन । सपना महत्वाकांक्षी भइदियो भने घातक पनि हुन सक्छ । देखेको सपना पूरा गर्ने सञ्चारकर्मी दोङ थोरै भाग्यमानीमध्ये एक हुन् । घरबाट हिँडेको २० वर्षमा उनले लोभलाग्दो प्रगति गरेका छन् । जुन उदाहरणीय, अनुकरणीय र सराहनीय छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार