मिर्गौलापीडितद्वारा पाल्पावासीसँग सहयोगको अपिल

 


पाल्पा । मिर्गौलाको रोगबाट पीडित पाल्पा खस्यौली गाविस–१ कि धनकुमारी दङ्गालले आर्थिक सहयोग गरेर आफूलाई बचाउन जिल्लावासीसँग हात थापेकी छन् ।

आर्थिक स्थिति कमजोर रहेकी ५३ वर्षीया दङ्गालको दुवै मिर्गौलाले काम गर्न छाडेपछि सहयोगको याचना गरेकी हुन् । मिर्गौला पीडित दङ्गालले ऋणधन गरी रपाँच लाख उपचार खर्च सके पनि उपचारमा अझै पैसा लाग्ने भएपछि आर्थिक सहयोग गरिदिनुहुन जिल्लास्थित राजनीतिक दल, नागरिक समाज र पत्रकार तथा स्वदेश तथा विदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीसँग आग्रह गरेकी हुन् ।

पीडित दङ्गालका श्रीमान् डोलबहादुर दङ्गालले सिकर्मीको काम गरेपनि अहिले उनको स्वास्थ्यमा समेत समस्या देखिएपछि उपचारमा झनै समस्या थपिएको आफन्त राधाकृष्ण दङ्गालले जानकारी दिए ।

२०७३ भदौ १४ गतेदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि दंगालको पाल्पा, भैरहवा तथा काठमाडौँका अस्पतालमा उपचार भएको आफन्तले जानकारी दिए। अझै उपचारको आवश्यक रहेको भन्ने चिकित्सकको सल्लाह अनुसार अघि बढ्न आर्थिक समस्या भएपछि सहयोगका लागि हात जोडेको दङ्गालको भनाइ छ ।

पीडित दङ्गालको श्रीमान्सहित परिवारमा तीन छोरी र एक छोरा रहेका छन् । परिवारको आर्थिक अवस्था निकै कमजोर भएको हुँदा मिर्गौलाको उपचारमा समस्या थपिएको हो । पछिल्ला वर्षमा पाल्पामा मिर्गौला पीडितको सङ्ख्या बढेको छ ।

मिर्गौलापीडितलाई सरकारले उपचारमा आर्थिक सहयोग गरे पनि पूर्ण सहयोगविना बिरामी उपचार गराउन सक्ने अवस्था भने छैन । पीडित दङ्गालले आफूलाई आर्थिक सहयोग गरी उपचारबाट पुनर्जीवन दिन उनले सबैलाइ आग्रह गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार