संकटमा भेडापालन, राडीपाखी लोपोन्मुख


सोलुखुम्बुका गुरुङ जातिलाई एउटै चिन्ता पिरोल्न थालेको छ । स्थानीय गुरुङ जातिले परापूर्वकालदेखि अँगाल्दै आएका पुख्र्याैली पेसा भेडापालन संकटमा परेकाले उनीहरूलाई चिन्ता बढेको हो । जिल्लास्थित वन–जंगल सामुदायिक वनमा परिणत भएपछि सामुदायिक वनमा भेडा चराउन रोक लगाइएकाले चरिचरन अभावमा भेडापालन संकटमा पर्न थालेको हो ।

चरिचरन अभावले मात्र भेडापालन संकटमा परेको भने होइन । ‘युवापुस्ताले पुख्र्याैली व्यवसाय अँगाल्न नचाहेपछि यो व्यवसाय संकटमा परेको हो,’ मैदेलका परशुराम गुरुङले भने, ‘युवापुस्ता हामीले गरेजस्तो दुःख गर्न चाहँदैनन्, बरु विदेश जाने तयार हुन्छन् । अनि कसरी पुख्र्याैली व्यवसाय बचाउन सकिन्छ ।’

भेडापालन व्यवसाय संकटमा पर्दै जान थालेपछि यसको प्रत्यक्ष असर राडीपाखी व्यवसायमा पनि पर्न थालेको हो । भेडाको ऊनबाट बनेको राडी आतिथ्य सत्कारका लागि ओछ्याइने र चिसोबाट बच्न सिरकका रूपमा पाखी प्रयोग गरिन्छ । ‘भेडापालन संकटमा पर्दै जान थालेपछि ऊन उत्पादनमा कमी हुनाले राडीपाखी व्यवसायमा पनि यसको प्रत्यक्ष असर परेको छ,’ मैदेलकी सीता गुरुङले सुनाइन्, ‘ऊनमात्र भइदिएमा आफूहरूले अँगाल्दै आएको व्यवसाय बचाउन सकिन्थ्यो ।’

भेडापालनमा लागेका स्थानीय गुरुङ समुदायका पुरुष भेडा चराउन जंगलमै रहने, ऊन कात्ने र घरका लागि आवश्यक सामान जुटाउने र महिलाचाहिँ घरमै बसेर राडीपाखी बुन्ने चलन थियो । यो चलन मेटिँदै जान थालेकोमा स्थानीय गुरुङ समुदायलाई नमिठो लाग्न थालेको छ । केही समय पहिले मैदेलमा देखिने रहरलाग्दो भेडाको बथान अहिले मासिँदै जान थालेको छ । तसर्थ, मैदेलवासी गुरुङ समुदायलाई चिन्ताले पिरोल्नसम्म पिरोलको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार