प्युठानमा ३३ लाखको चीज बिक्री

घार–५ प्युठानमा रहेको हिमालयन चीज उद्योगले वर्ष दिनमा ३३ लाख रुपैयाँको चीज बिक्री गरेको छ ।

हिमालयन चीज उत्पादन कृषि सहकारी संस्थाद्वारा सञ्चालित सो उद्योगले २०७२ फागुनदेखि २०७३ माघसम्म चार हजार ४०० किलो चीज बिक्री गरेको हो । प्रतिकिलो ७५० का दरले चीज बिक्री गरेको सो संस्थाका अध्यक्ष नारायण बरुवालले जानकारी दिए ।

वर्ष दिनमा उद्योगमा दूध बिक्री गर्ने किसानले ३० लाख भुक्तानी पाएका छन् । २०७१ वैशाखदेखि सञ्चालित उद्योगले स्थानीय किसानले उत्पादन गर्ने दूध खपत गर्दै आएको छ । हाल ४५ किसानले दैनिक एक सय लिटर दूध उद्योगलाई बिक्री गर्दै आएका छन् ।

किसानबाट गुणस्तरअनुसार प्रतिलिटर ५० देखि ५५ रुपैयाँका दरले दूध खरिद गरिन्छ । दूध बेचेर एकजना किसानले मासिक पाँचदेखि २५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । सो उद्योगले मासिक ३० किलो घ्युसमेत उत्पादन गर्दै आएको छ ।
उद्योगमा उत्पादित चीज पर्यटकीयस्थल घोडेपानी, तातोपानी, कास्कीको टाडापानी, पोखरा र मुस्ताङको जोमसोममा खपत हुने गरेको छ । गत वर्ष भूकम्प र नाकाबन्दीका कारण पर्यटक आगमन घटेकाले उत्पादित चीज नष्ट गर्नुपर्दा निराश भएका किसान यस वर्ष माग बढेपछि उत्साहित बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार