वैदेशिक रोजगारीले धेरैको परिवार भताभुंग

 

‘वैदेशिक रोजगारीले बिहान के खाऊँ, बेलुका के खाऊँ भन्नेका लागि वरदान साबित भएको छ । घर–गृहस्थी सुधारिएका छन्,’ वैदेशिक रोजगारीमा कुवेतमा रहे पनि भर्खरै स्वदेश फर्केका दुर्छिम–१ साल्तेम्मा खोटाङका यज्ञराज राई भन्छन्, ‘वैदेशिक रोजगारीले धेरैको परिवार भताभुंग पारेको छ । कतिपयले विदेशमा कमाएका कमाइले ऐतिहासिक तथा सामाजिक काममा लगानी गरेका छन् भने कतिले धूँवा र ग्लासमा रित्याएका छन् ।’ वैदेशिक रोजगारीसम्बन्धी केन्द्रित रहेर यज्ञराज राईसँग तेस्रो आँखा डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

 

वैदेशिक रोजगारीक्रममा कुवेतमा हुनुहुन्छ । मासिक रूपमा आकर्षक तलब थाप्नुहुन्छ । यो कसरी सम्भव भयो ?
प्रथमतः बेरोजगारी भएपछि वैदेशिक रोजगारीमा कुवेत आएको हुँ । विदेश जानुपहिले केही सीप सिकेमा राम्रै तलब पाइन्छ भनेको सुनेको थिएँ । विदेश कहिल्यै नगएकाले वैदेशिक रोजगारीबारे थाहा हुने कुरै भएन । तैपनि वैदेशिक रोजगारीमा जाने निधो गरेपछि काठमाडौंका मेनपावर चहारें । एजेन्टसँग कुराकानी गरें । त्यतिबेला मैले एजेन्टलाई भनेको थिएँ– म वैदेशिक रोजगारीमा जान चाहन्छु । सबैभन्दा धेरै तलब केमा हुन्छ भन्दा एजेन्टले हाँस्दै भने, ‘काम अलि जोखिम भए पनि पैसाचाहिँ स्काफोल्डिङमा हुन्छ ।’ एजेन्टको सुझावअनुसार त्यतिबेला दुई हजार रुपैयाँमा स्काफोल्डिङसम्बन्धी तालिम गरेर विदेश गएँ । धेरै वर्षदेखि स्काफोल्डिङसम्बन्धी काममै सीप तिखारिरहेको छु । वैदेशिक रोजगरीका लागि जुन–जुन देश पुगें, यही काममा गएको हुँ । धेरै वर्षदेखि एउटै काममा लागिपरेको छु । सीप तिखारिँदै जाँदा तलब पनि आकर्षक नै पाएको छु । म सन्तुष्ट छु ।

खाडी मुलुक पुगेका अधिकांश नेपालीले मासिक १५/२० हजार कमाउने बढी तलब नपाउनुका कारण ?
यसमा धेरै कुरा हुन्छजस्तो लाग्छ । प्रथमतः सम्बन्धित राज्य सरकारले नै सोच्नुपर्छ । सम्बन्धित राज्यका सम्बन्धित निकायले आफ्ना देशका सबै नागरिकलाई सीपमूलक तालिम गराएरमात्रै वैदेशिक रोजगारीमा पठाउने नियम बनाउन सके प्रभावकारी हुने थियो । उसले आफ्ना नागरिकलाई ‘लेबर’ कामका लागि विदेश नपठाउने नीति बनाए त पलासको फूलमा सुगन्धजस्तै हुन्थ्यो । सरकारले यतातिर ध्यान दिनैपर्छ । दोस्रो, रोजगारदाताले ‘ट्रेडको डिमान्ड’ छैन, ‘लेबर’ को मात्रै छ भन्न थाल्यो भने उसले ट्रेडवालाका अलावा लेबर लैजान चाहन्छ । त्यो पनि थोरै तलबमा । त्यतिबेला नेपाल सरकारले ‘लेबर’मै भए पनि वैदेशिक रोजगारीमा जान चाहनेलाई पठाउन बाध्य हुन्छ । पठाएन भने बेरोजगारीको मात्रा दिन दुईगुणा रात चौगुणा बढेर जान्छ । त्यसैले अधिकांश नेपाली हातमा सीप नभए पनि मासिक १५ देखि २० हजार ?पैयाँमै भए पनि वैदेशिक रोजगारीमा विदेश गइरहेका हुन्छन् ।

वैदेशिक रोजगारीक्रममा धेरै देश पुगेर काम गरिसक्नुभएको छ । यत्तिका अवधिका तपाईंले सिकेको खास सीपचाहिँ के हो ?
मेरो ‘ट्रेड’ भनेको स्काफोल्डिङ हो । हुन त जुनसुकै कामको पनि जोखिम त हुन्छ नै केवल थोरै र धेरैमात्रै हो । तर, अन्यभन्दा स्काफोल्डिङ अलि जोखिमपूर्ण मानिन्छ । यो काम शक्ति र मस्तिष्क एकसाथ सदुपयोग गर्नुपर्छ । सम्मानित भाषामा भन्ने हो भने यो काम प्राविधिक काम हो । मूर्ख हिसाबले भन्ने हो भने यो काम गधाको भन्दा झुर काम हो । हा…हा…हा…. । लामो हाँसो ।

 

तपाईंले सिकेको सीप स्वदेशमै कार्यान्वयनमा कहिलेदेखि ल्याउनुहुन्छ ?
यो त मेरा लागि असम्भव कुरा हो । किनकि यो धेरै महँगो पर्छ । भाडामा लिन र यस कामका लागि आवश्यक सामग्री खरिद गर्न पनि । नेपालमा पनि पाइन्छ तर अर्कै किसिमका । बाँस र डोरी प्रयोग गरेर बनाइएका हुन्छन््, जसलाई बेम्बो स्काफोल्डिङ भनिन्छ । थोरैमात्रामा जीआई पाइपको पनि प्रयोग हुन थालेको छ । त्यसैले यसले नेपालमा प्रयोगमा ल्याउनुपरे ठुल्ठूला परियोजना सञ्चालन गरेमात्रै सम्भव होला । त्यसपछि अवसर पाएमा हामीजस्ता खाडी मुलुकमा अनुभव हासिल गरेकाले मौका पाइएला नत्र मजस्ताको सीप खालि विदेशमा मात्रै प्रयोगमा आउँछ । नेपालमा कामै छैन ।

सीप कार्यान्वयनमा आए लाभान्वित हुनेचाहिँ को हुन् ?
सीप कार्यान्वयनमा ल्याएपछि को लाभान्वित हुन्छ भनौं । सम्बन्धित कम्पनीलाई ‘प्रोग्रेस’ गरेर दिनैपर्छ । यदि ‘प्रोग्रेस’ दिइएन भने कम्पनी घाटामा जान्छ । कम्पनी घाटामा गए चल्दैन । अनि हामी कामदारको कमाइ हुँदैन । अनि उसले घर फर्काइदिन्छ । त्यसैले कम्पनी नै लाभान्वित हुन्छ कि जस्तो लाग्छ ।

स्नातक तहसम्म अध्ययन गर्नुभएको छ । वैदेशिक रोजगारीमै जाने बाध्यता कसरी आयो ?
उच्चशिक्षा हासिल गरेर स्वदेशमै जागिर खानुपर्छ भन्ने छैन । रोजगारीका लागि क्षमता र दक्षताले धानुन्जेल विदेशमै पनि रोजगारी गर्न सकिन्छ । तर, मेरोबारेमा भन्नुहुन्छ भनेचाहिँ म त्यस्तो ज्ञान भएको मानिस होइन । स्नातकसम्म अध्ययन गर्दै गएँ । म निम्नमध्यमवर्गीय परिवारको मानिस हुँ । विविध कठिनाइसँग सिंगौरी खेल्दै स्नातक तहमा अध्ययन गर्दै गर्दा म वैदेशिक रोजगारीका लागि बिदेसिन बाध्य भएँ । पढाइअनुसारको जागिर पाएको भए वैदेशिक रोजगारीमा हामफाल्दिनथें पक्कै पनि । नेपालका सालिन्दा शिक्षित जमात बढ्दै गए पनि त्यही बेरोजगारी समस्या बढ्दो छ । सानोतिनो कामका लागि नेताका सालो, भान्जोलगायतका आफन्तले मात्रै मौका पाउने । त्यसो भएपछि बेरोजगारी भएर बस्नुभन्दा वैदेशिक रोजगारीमा हामफाल्नुपर्ने बाध्यता छ । अन्ततः मैले पनि त्यही उपाय अवलम्बन गरें ।

सरकारले के गरिदिए युवा जनशक्तिलाई स्वदेशमै सदुपयोग गर्न सकिएला ?
हा…हा…हा… । प्रश्न गरिहाल्नुभयो । उत्तर त दिनैपर्यो । म यस्तो समस्याको समाधान सुझाउन योग्य मानिस होइन । म नेपाली भएको नाताले यो समस्या समाधान हुनुपर्छ भन्ने शुभचिन्तक त हुँ । तर, समस्या समाधान त्यति सजिलो र चाँडै होलाजस्तो लाग्दैन । परिवर्तन हुन समय लाग्छ । निरन्तरता दिँदै गएमा असम्भव भन्ने छैन । माथि पनि भनिसकेको छु– नेपालमा सालिन्दा उच्चशिक्षा हासिल गरेका लाखौं उत्पादन हुन्छन् । त्यसमा सीमितले मात्रै रोजगारी पाउँछन्् । बाँकी सबै बेरोजगार । सालिन्दा उच्चशिक्षा हासिल गरेका वृद्धि हुँदै जान्छन् । कुनै न कुनै विधामा दक्ष उनीहरू विदेशी भूमिमा पसिना बगाउन बाध्य हुन्छन्् । अर्को कुरा, परिवर्तित समयअनुसारको सीप भएकाले सीपअनुसारको काम नपाएपछि त्यसलाई ‘क्यास’ गर्न पनि विदेश नै रोज्नुपर्ने हुन्छ ।

तपाईंले जत्तिकै तलब थाप्न वैदेशिक रोजगारीमा जान चाहनेलाई तपाईंको सल्लाह ?
हामी सबै ‘लेबर’ हौं । श्रम नगरी फल हात लाग्दैन । तर, विभागको आ–आफ्नै भूमिका हुन्छ । सम्बन्धित विभागमा आवश्यक पर्ने दक्ष र शिक्षित चाहिन्छ । तसर्थ, वैदेशिक रोजगारीमा जान चाहने सम्बन्धित व्यक्ति जुन काममा विदेश जान लागेको हो, सो काममा तालिमप्राप्त र दक्ष हुनैपर्छ । त्यसपछि मात्रै उसले आफ्नो दक्षताअनुसारको काम पाउन सक्छ ।

सीपविहीन नेपाली पनि ‘लेबर’ काममा विदेश गइरहेका छन् । उनीहरूले विदेश जानअघि के गर्दा राम्रो होला ?
सर्वप्रथमतः धेरै तलब र काममा पनि सजिलोका लागि कुनै न कुनै काम सिकेर दक्ष भएर जानु नै राम्रो । तर, रोजगारदाता कम्पनीलाई सडक बढार्ने, बेल्चा चलाउने, झाडु लगाउने कामदारमात्र आवश्यक हो भने सम्बन्धित व्यक्तिले सिकेको सीपको कामै छैन । तर, रोजगारीमा जान चाहनेले पर्खेर पनि आफूले सिकेको सीपअनुसारको काममा विदेश जाने धैर्य गर्न सक्नु पर्छ । तातै खाऊँ, जलिमरौं गर्न थालियो भने त हो जहाज डुब्ने ।

वैदेशिक रोजगारीमा जानेबाट नेपाल भित्रिएका रेमिट्यान्सको सही सदुपयोग भएका छन् कि छैन ?
संसारभरिबाट महिनैपिच्छे करोडौं भित्रिन्छ । एकिनसाथ भन्न नसकिए पनि दुवै किसिमका छन् । बिहान के खाऊँ, बेलुका के खाऊँका अवस्थाका कतिपयको घर–गृहस्थी सुधारिएका छन् भने कसैको हाँसी–खुसीको संसार ध्वस्त भएका छन् । कतिपयले ऐतिहासिक र सामाजिक काममा लगानी गरेका छन् भने कतिले धूँवा र ग्लासमा रित्याएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार