‘गरिबसँग विश्वेश्वर’ ले गरिबीविरुद्ध संघर्ष गर्न सिकाउने

राजनीतिलाई ‘डर्टी गेम’ भन्नेको बाहुल्य छ । बाक्सिला, खोटाङका समीर राई भने ‘डर्टी गेम’ मै ‘करिअर’ बनाउन लागिपरेका छन् । संवत् २०४९ देखि विद्यार्थी राजनीतिमा सक्रिय राई कांग्रेस जिल्ला कार्यसमिति सदस्यसमेत हुन् ।
दसवर्षे माओवादी सशस्त्र द्वन्द्वमा पार्टी राजनीतिभन्दा सामाजिक काममा सक्रिय उनी ०६२/६३ देखि भने सक्रिय राजनीति गर्दै आएका छन् । व्यक्तिगत रूपमा आकर्षक अवसर पाउँदा पनि राजनीतिमै लोभिएका उनी ‘गरिबसँग विश्वेश्वर’ कार्यक्रम खोटाङ संयोजकसमेत हुन् । उनी भन्छन्, ‘गरिबसँग विश्वेश्वर कार्यक्रमलाई राजनीतिक रङ हालेर हेर्न हुँदैन । यो कार्यक्रमले कांग्रेसका गरिबलाई मात्रै उकास्न खोजेको छैन ।’ ‘गरिबसँग विश्वेश्वर’ खोटाङ संयोजक समीर राईसँग तेस्रो आँखा डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

‘गरिबसँग विश्वेश्वर’ खोटाङ संयोजक हुनुहुन्छ । जिल्लाको कति गाविसमा यो कार्यक्रम सञ्चालन हुँदै छ ?
खोटाङका चार गाउँ विकास समितिमा पहिल्यैदेखि सञ्चालनमा रहेको ‘गरिबसँग विश्वेश्वर’ कार्यक्रम म संयोजक तोकिएपछि थप दुई गाविसमा थपिएका छन् । कार्यक्रम सञ्चालित ६ गाविसमा खार्पा, कुभिन्डे, छितापोखरी, खिदिमा, खार्मी र वाप्लुखा हुन् ।
सुरुमा २५ जिल्लामा सञ्चालित कार्यक्रम अहिले मुलुकभरि सञ्चालनमा रहे पनि जिल्लाका ६ गाविसमा सञ्चालन हुँदै रहेछ । उल्लिखित गाविसमा कार्यक्रम सञ्चालनअघि के–कस्ता योजना तर्जुमा गर्नुभएको छ ?
कार्यक्रम सञ्चालन हुने ६ गाविसमध्ये खार्पामा पहिल्यैदेखि सामाजिक परिचालकले काम गर्दै आएका छन् भने बाँकी पाँच गाविसमा सामाजिक परिचालक राख्न सम्बन्धित गाविसलाई पत्राचार गरिएको छ । सम्बन्धित गाविसले प्रक्रिया पुर्याइ नाम सिफारिस गरेपछि स्थानीय विकास अधिकारीले नियुक्तिपत्र दिएपछि कार्यक्रम अघि बढ्छ । सरकारले गरिबी मापन गर्ने मापदण्ड बनाएको छ, त्यसका आधारमा रहेर कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छु ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले प्रत्येक नेपालीको घर र एउटा दुहुनो गाईको सपना देख्नुभएको थियो । ६ गाविसका प्रत्येक स्थानीयको घर र एउटा दुहुनो गाई भएका कति होलान् ?
६ गाविसका स्थानीयका घर नहुने कुरै भएन । तर, दुहुनो गाईचाहिँ छ कि छैन यसै भन्न सकिँदैन । कार्यक्रम सञ्चालन गरिने गाविसमा सामाजिक परिचालक नियुक्ति गरेपछि ६ वटै गाविसका प्रत्येक वडा र घर–घरमा पुगिनेछु । त्यसपछि मात्रै प्रश्नको उत्तर दिन सजिलो हुनेछ ।
गाउँका अति विपन्न परिवारलाई लक्षित गरी तात्कालिक प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘गरिबसँग विश्वेश्वर’ कार्यक्रम थाल्नुभयो । यो कार्यक्रम सञ्चालन हुने गाविसका विपन्न परिवारलाई सम्पन्न बनाउन तपाईंले गर्ने उदाहरणीय र अनुकरणीय काम के–के हुन सक्छन् ?

गरिबसँग विश्वेश्वर कार्यक्रम सञ्चालनमा आएको दशक बिते पनि राजनीतिक उतारचढावले बीपीले देखेको सपना साकार हुन नसक्नुलाई विडम्बना नै मान्नुपर्छ । खोटाङका ६ गाविसमा सञ्चालित कार्यक्रमलाई बीपीको सपना आत्मसात् गर्दै अघि बढ्नेछु । ६ गाविसका विपन्न परिवारलाई संगठित गर्दै उनीहरूको जीवनस्तर उकास्न प्रभावकारी ढंगले दीर्घकालीन कार्यक्रम तय गरेको छु । मैले तय गरेको कार्यक्रमले उनीहरूको दैनिक जीवनसँग जोडिएका आवश्यकता परिपूर्ति गर्न सहज हुनेछ भन्ने विश्वास लिएको छु ।
‘गरिबसँग विश्वेश्वर’ गरिबलाई गरिबीविरुद्ध संघर्ष गर्न सिकाउने र सक्षम बनाउने कार्यक्रम हो भनिन्छ । कार्यक्रममार्फत स्थानीयलाई गरिबीविरुद्ध संघर्ष गर्न सिकाउन तपाईंसँग आधार के छन् ?
तपाईंले यो प्रश्न सोधिरहँदा बीपी कोइरालाको मननयोग्य भनाइको सम्झना आयो । राष्ट्रिय योजना आयोगको देशव्यापी कार्यक्रममा बीपी पनि निस्कनुभएको थियो । सो कार्यक्रममा विश्वका नाम चलेका योजनाविद्को पनि उपस्थिति रहेको थियो । त्यो कार्यक्रममा राजाको फोटो सबैभन्दा माथि राखिएको देखेपछि बीपीले भने, ‘हामी मुलुकको विकासका लागि योजनाबारे बहस गरिरहेका छौं । राजाको फोटोमुनि गोरु जोतिरहेको फोटो पनि राख्नुपर्छ । गोरु जोतिरहेको किसानलाई हेरेर हामीले मुलुकको योजना निर्माण गर्नुपर्छ ।’
बीपीको त्यही भनाइ आत्मसात् गर्दै मैले तय गरेको योजना ६ गाविसकै विपन्न परिवारमा केन्द्रित रहनेछन् । त्यही विपन्न परिवारलाई आधार बनाएर स्थानीय स्रोत, साधन परिचालन गर्दै उनीहरूलाई गरिबीविरुद्ध संघर्ष गर्न सिकाउँछु । नेपाल कृषिप्रधान देश भएकाले विशेषगरी कृषिलाई प्राथमिकतामा राखेर परम्परागतभन्दा आधुनिक तरिकाले कृषिकार्यमा लाग्न प्रेरित गर्नेछु । जसले गर्दा विपन्न परिवारको दैनिक आम्दानीसँग जोड्दै आधुनिक कृषि प्रणाली लागू गर्न ध्यान दिनेछु ।
गरिबलाई आर्थिक रूपमा उकास्न कांग्रेसको समाजवादी अवधारणा दृष्टिगत गर्दै यो कार्यक्रम २०५६ बाट सञ्चालनमा आए पनि पटक–पटक रोकिँदै आएको छ । कहिले रोकिनु पुनः सञ्चालनमा आउनुले कार्यक्रमको प्रभावकारितामा कत्तिको असर पारेको होला ?
‘गरिबसँग विश्वेश्वर’ कार्यक्रम रोकिँदै सञ्चालनमा आउँदा असर पर्ने नै भयो । कहिले रोकिने र कहिले सञ्चालनमा आउने भएकाले कार्यक्रमको उद्देश्य प्राप्तिका लागि कठिनाइ हुने नै भयो । यो कार्यक्रम कांग्रेस सरकारले सञ्चालनमा ल्याएकाले यसलाई राजनीतिक दृष्टिले हेरिएको छ ।
कार्यक्रमलाई राजनीतिक रङ हालेर हेर्न हुँदैन । गरिब कांग्रेसका मात्रै छैनन् । विभिन्न दलसम्बद्धका पनि छन् । कार्यक्रमले कांग्रेसका गरिबलाई मात्रै उकास्न खोजेको छैन । कार्यक्रम सञ्चालित ६ गाविसका विपन्न सबै परिवारलाई समेटिने भएकाले यो कार्यक्रमलाई राजनीतिक रङ हालेर प्रभाव पार्न हुँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार