‘लेखेपछि मन हलुँगो हुन्छ’


त्रिभुवन विश्वविद्यालय कीर्तिपुरतिर सोझिएको पाइला एक्कासि कोरियातिर मोडिए । नेपाली साहित्यमा स्नातकोत्तर गर्न भर्ना भएकी उनी उच्चशिक्षा हासिल गर्न छाडेर कोरिया पुगिन् । हुन त रोजगार अनुमति प्रणाली (इपीएस) बाट स्नातकोत्तर गरेकामात्रै होइन, छँदाखाँदाका जागिरबाट बेतलबी बिदा बसेर कोरिया पुग्नेदेखि गैरसरकारी संस्थाको लोभलाग्दो जागिर माया मारेर कोरिया पुग्नेको ‘क्याराभान’ नै देखिन्छ । चिप्रिङ–४ खोटाङकी आँसु शकुन पनि त्यही क्याराभानमा मिसिइन् ।
शकुन कोरिया पुगेको तीन वर्ष भयो । कोरिया पुगे पनि लेखपढमा पूर्णविराम लागेको छैन । उनी प्रस्ट्याउँछिन्, ‘दैनिक १२ घन्टा काम गर्छु । कहिलेकाहीं त त्योभन्दा बढी पनि गर्नुपर्छ । महिनामा दुई दिन बिदा पाएकी छु । साहित्यमा रुचि नभएका साथीसँगको सामूहिक बसाइ । र पनि, लेखपढलाई निरन्तरता दिइरहेकी छु ।’
विविध कठिनाइसँग सिंगौरी खेल्दै उनले लेखन माझिरहेकी छन् । व्यस्तताबीच पनि कोरियामा हुने साहित्यिक कार्यक्रममा पुगेकै हुन्छिन् । कोरियाले के सिकायो होला उनलाई ? भनिन्, ‘जीवन सदुपयोग गर्न सिकायो । सिकाइक्रम जारी छ ।’ मैले फेरि सोधें– भनेपछि स्नातकोत्तर पढेर पनि जीवन सदुपयोग गर्न सिकाएन हगि ? उनको उत्तर थियो, ‘नेपाली उखान छ नि पढेर होइन, परेर सिकिन्छ ।’

आँसु शकुन दुवै विधामा पोख्त छिन् । पढेर र परेर जीवन सदुपयोग गर्दै आएकी उनी दुवै विधामा सशक्त देखिन्छिन् । उनले कोरियामा आफूले सिकेको सीप नेपालमा लागू गर्न कठिन ठाने पनि केही न केही, कहीं न कहीं त्यो सिकाइ व्यवहारमा लागू गर्न सक्लिन् ।
उपनाम आँसु भए पनि उनी सधैं हाँसिरहन्छिन् । सायद हाँसोले उनको आँसु बगाइदिएको हुनुपर्छ । हुन त नामअनुसारको काम कहिल्यै हुँदैन । उनको हकमा पनि यो लागू भएको छ भन्दा फरक पर्दैन ।
महिलाको उमेर नसोध्नु भनिन्छ । तर पनि मैले सोधें । २७ हिउँद, बर्खा काटेको बताउने उनले आफू १५÷१६ वर्ष हुँदादेखि नै लेख्न थालेको बताइन् । उनको स्वीकारोक्ति थियो, ‘त्यतिबेला (२०५८/०५९ मा) सायरी भनेर चार लाइनको सिर्जना लेख्थें । त्यो के बन्यो/बन्थ्यो अहिलेसम्म पनि भेउ पाउन सकेको छैन ।’
तर, ०६४/६५ सम्म आइपुग्दा लेखनले कोल्टे फेर्दै गयो । विधागत अध्ययन, सैद्धान्तिक ज्ञान व्यवहारमा उतार्न पाउँदाको आनन्द खनिखोस्री साध्य छैन । गजलदेखि थालेको साहित्यिक यात्रा कविता र गीत विधासम्म पुगेको छ । धेरैले सोध्ने साझा प्रश्न तपाईं किन लेख्नुहुन्छ ? भनेर सोध्दा उनको प्रस्टीकरण थियो, ‘आत्मसन्तुष्टिका लागि । दुखेको जीवन लेखेपछि मन हलुँगो हुन्छ ।’
दुखेको जीवन हलुँगो बनाउने अरू उपाय छैन ? भन्ने प्रश्नको उत्तरमा उनले सुनाइन्, ‘छन् । तर, साहित्यिक सिर्जना गरेर सन्तुष्टि लिनुको मज्जा शब्दमा व्यक्त गर्न सक्दिनँ । सबैले त्यसरी मज्जा उपभोग गर्न सक्दैनन् । त्यसो नभएपछि पीडितले पीडा बोकेर छटपटाउनु, बहुलाउनु वा आत्महत्यासम्मको बाटो रोज्ने गर्छन् । त्यस्तो समयमा साहित्यिक सिर्जना गरेर सन्तुष्टि लिनु भनेको सचेत नागरिकको परिचय हो ।’ साँच्चै दुःख र पीडामा परेकाले आँसु शकुनले सुझाएकी उपाय आत्मसात् गरे पलासको फूलमा सुगन्ध भेटेजस्तै हुनेछ । जन्मेपछि मैले पनि केही गर्नुपर्छ, समाजले मलाई चिन्नुपर्छ भन्ने सोचाइ लियौं भने गहिरो डिप्रेसनमा परेर पनि अ

कालमा ज्यान गुमाउनुपर्दैन भन्ने उनको बुझाइ छ । उनले प्रस्ट पारिन्, ‘मैले यसो भनिरहँदा सिर्जनशील व्यक्तिलाई उल्लिखित सुझावले काम नगरेको धेरै दृष्टान्त छन् ।’

त्यहाँदेखि यहाँसम्मको साहित्यिक यात्रामा उनले लेखाइभन्दा बुझाइमा आफूलाई ‘अपडेट’मात्रै होइन, साहित्यलाई नजिकबाट जानेको–बुझेको बताइन् । त्यही भएर आफूद्वारा सिर्जित सिर्जनालाई संग्रहका रूपमा प्रकाशित गर्ने हतारो लागेको छैन । उनले भनिन्, ‘जीवनका अक्षरनासो छाडेर बिलाउने मन छ ।’
कोरिया आउनुअघि आँसु शकुनले आफ्नै सम्पादनमा ‘टुवाखोला दोभान’ नामक द्वैमासिक पत्रिका प्रकाशित गरिन् । रेडियो त्रियुगा १०४ मेगाहर्ज उदयपुरमा तीन वर्षसम्म ‘गीतिभाव’ र ‘गजल साँझ’ सञ्चालन गरेको अनुभव छ । अलग अभियान काठमाडौंका अभियन्ता उनी नेपाली साहित्य समाज दक्षिण कोरियका सदस्यसमेत हुन् । उनले ‘जँघार’ र ‘पल्लवी’मा समेत काम गरेकी थिइन् । पल्लवीले निरन्तरता नपाए पनि जँघार भने हिजोआज पनि प्रकाशित हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार