हो ! मैले भ्रुण हत्या गरें

 

 

इन्द्र थेगिम

 

सन् २०१४ ,मार्च २४ मा हङकङको सायिङ पुनस्थित “सान युक” हस्पिटलको र्‍याडियोलोजी डिपार्ट्मेन्टको वेटिङ कक्षमा बडो अधैर्य साथ म र मेरो श्रीमान् हिमालसंग बसिरहेकी थिएं। मनमा यति सार्‍हो कौतुहलता थियो कि शरिरमा स्ट्रेस लेवल बढेजस्तो छिन्छिन्मा पिसाब फेर्न गइरहें ।

जति म स्ट्रेस देखिन्थें त्यस्को दुई गुना बढी असर हिमालमा देखिन्थ्यो। हिमाल घरि मोबाईलमा डाउन लोडेल गेम खेलेजस्तो गर्थे भने घरि मलाई हेर्दै ठाडो घाँटी लगाउदै पानी पिउने गर्थे ।

मि~सि लिम्बा सम्री~ई ~दि भनेर नाम बोलाईयो। जीवनमा पहिलो चोटि “समृद्धि लिम्बू” भन्न सांच्चै गार्‍हो भएको पुष्टि भयो । हामी बुढाबुढी हेराहेर गरेर ब्याङ्ग्यात्मक हांसो साट्दै भित्र अल्ट्रा साउण्ड कक्षमा छिर्यौं ।

हेलो डक्टर ! मिट माई हजवेन्ड हिमाल … मैले भनें
‘हेलो’ भनेर हल्का हांस्दै हात मिलाईन् ।
आई एम …”हु यिङ”… यु कन कल मि डाक्टर चान् ।
माई इङ्लिस नेम इज “ग्लाडिस” भनिन् ।
आहा ! जति राम्रो नाम हेर्दा त्यति नै सुकुमारी थिइन् ।

उनले सर्सर्ती मेरो इन्फर्मेसन लिदै जन्ममिती, हङकङ आईडी कार्ड नम्बर साथै अन्तिम महिनावारि कहिले भएको थियो भनेर सोधिन् । म म्याटर्नल क्लिनिक धाउंदा-धाउंदै अभ्यस्त भैसकेकोले फटाफट जवाफ दिदै गएं।

‘सो यु आर टुवेल्फ विक्स प्रेग्नेन्ट राइट ?’ भनेर सोधिन् ।
एक्ज्याक्ली ! भनें। हिमाल छेउमा बसेर टाउको हल्लाई रह्यो।

मलाई थाहा थियो मेरो उमेर ३५ बर्ष कटेकोले क्लिनिकली “एल्डर्ली प्राईमी” मा गनिन्छु भनेर। ती डाक्टरले सोही कुरालाई खुलस्त पार्दै उमेर कटेपछि सुत्केरी अवस्था जोखिमपुर्ण हुनसक्ने साथै नवजात शिशु भ्रुणभित्रै पनि सुस्तमनस्थिती हुनसक्ने संभावना बढी भएकोले आज तिमीलाई “डाउन सिन्ड्रम” टेस्ट गर्दैछु भनिन् । हो यी सब कुराहरु हुनेवाला बाऊ हिमाललाई पनि थाहा पाउन जरुरी छ भनेर आज अफिसमा हाफ बिदा मिलाएर संगै लिएर गएको थिएँ ।

विवाहपछि लगातार संगै बसेको दुई वर्ष नाघिसके पनि बच्चा कन्सिभ गर्न नसक्नु नै ‘प्राईमरी इन्फर्टिलिटी’ को संकेत थियो । किनभने विवाहको सुरुवाती दिनहरु देखि नै हामीले कुनै पनि परिवार नियोजनका साधनहरु अपनाएका थिएनौं ।

तेस्रो वर्षपछि मलाई एक किसिमको आमा बन्ने भूत सवार भयो। जिन्दगीमा कहिल्यै विश्वास नगरेका कुरालाई एकपल भएपनी आत्मसन्तुष्टिको लागि महशुस हेर्ने इच्छा भयो।

पशुपतिमा लाख बत्ती बालें । पुर्खाहरुको नाममा श्राद्ध गर्दै खोलामा गालिश्रापको पूजा गरियो । असली पाथीभरामा भाकल होस् भनेर बलि चढाइयो । घरशान्तिको लागि रुद्री पूजा, होम, जप, सत्यनारायणको पूजा लगाएर सारा गाउंमा प्रसाद बांडियो । धामि-झांक्रीलाई देखाइयो। गाउंमा झारफुक गर्न जान्ने बाजेकोमा गएर कस्तुरीको तेल र अन्य जडिबुटी खाइयो। बाटोमा बसेर दैनिक गुजारा चलाउने ती ठग मोराहरुलाई समेत हस्तरेखा देखाइयो । बिहानै उठेर पिपलको रुखमा जल अर्पण गर्न संभव नहुंदा हफ्तामा एकदिन व्रत बसेर सूर्यलाई नमस्कार गरियो । अन्तिम उपाय, हामी लिम्बुहरुको परम्परा अन्तर्गत बिहेबारि गरेको छोरीलाई “सयमुन्द्री, बागदत्ता” छिनाएपछि मात्र बाटो खुलिन्छ भनेर थाहा पाएपछि हतार-हतार आफूलाई माईतीबाट अलग्याएं ।

मोटोपनले पाठेघरमा पनि बोसो लाग्छ भनेर हरेक दिन डाईटिङ गरें । योगा क्लास पनि भर्ना भएँ । हेल्दिडाईट भनेर सालमोन माछा, प्रोटिनयुक्तपोषिलो खाना, हरियो सागसाब्जि, आईरन सप्लिमेन्टदेखि भिटामिन बि कम्प्लेक्स दिन नबिराई खाइयो ।

पाचौं वर्ष बितिसक्दा पनि सन्तान जन्माउने आशा मेटिएन । जब-जब संभावना कम देखिन थाल्यो मेरो उमेरले पनि डांडा काट्दै गयो । तब देखि म एक्लै बर्बराउने, बिनाकारण झर्किने, बुढालाई घुर्की लगाउन थालें । हरेक रात निदाउन नसक्दा ज्यान सुकेर बांसको लिङ्गो जस्तो भएं । अफिसमा पनि स्टाफहरुले नोटिस गर्न थाले । कसैकसैले मुखैमा प्याच्चै भन्न नि पछि परेनन् । यतिसम्म कि अरु कसैको बच्चा बाटोमा देख्दा मात्र पनि निमोठेर मारिदिनु जस्तो आर्‍हिस लागेर आउथ्यो । मनमा हिंस्रक भावना पलाउदै गयो।

हरेक रात मैले आफ्नो पींडा हिमाललाई सुनाउनको सट्टा सिरानीलाई सुनाएं । मुन्टो घोप्ट्याएर एक्लै रोए, कराएं । कारण त्यो बस्तु निर्जीव थियो र म कुनै प्रतिक्रिया सुन्न पनि चाहन्न थिएं । तर मनमनै मैले हिमाललाई सन्तुष्टि दिन सकिन । सन्तानको सुख दिन सकिन भनेर भित्र-भित्रै पिल्सिएको थिएं। हिमालको केही प्रतिक्रिया नदेख्दा मन झन् बैरागिएको थियो ।

हिमाल स्वभावैले असाध्यै नरम भएकोले आफुलाई औधी भाग्यमानी ठान्द्थें । कुनै पनि कुराको लागि म स्वतन्त्र थिएं । अथवा यसो भनौं मलाई मायामा पुल्पुल्याएर राखेका थिए । हिमालले मेरो नारित्व प्रति ठेस लाग्ला भनी सधैं हेक्का राक्थ्यो । हामी एकअर्कालाई औधी ख्याल राख्छौं, सम्मान र आदर गर्थ्यौं ।

डिसेम्बरको अन्तिम हफ्ता हाम्रो एनिभर्सरी पर्छ । तर म पहिलाको ‘समृद्धि’ जस्तो बिल्कुलै रहिनँ । सधैं जन्मदिन याद गर्ने म एकाएक लठेप्री जस्तै भएछु । हिमालले ‘बेइजिङ एण्ड ग्रेटवाल टुर प्याकेज ‘ टिकट मेरो हाथमा थम्याईदिंदा पो झल्यांस्स भएं । उसले पछाडिबाट गर्ल्याम्म अंगालो हालेर मेरो मुखमा म्वाई खांदै भने- ‘डार्लिङ लेट्स गो टु योर फेबरेट प्लेस अ ग्रेट बाल अफ चाइना ।’ मलाई थाहा थियो उसले माईण्ड रिफ्रेस्मेन्ट गराउन खोजिरहेछ । भलै मुखले अहिलेसम्म केही भनेको छैन । मन एकाएक चंगा भएर आयो । म फुरुङ्ग भएं ।

एक हप्ताको एनुवल लिभ लिएर हान्नियौं हामी चाईनाको राजधानी बेइजिङ तर्फ । करिब चार घण्टाको यात्रामा म आफुलाई पूरै फ्रेस बनाउन दिमागमा रहेका सबै टक्सिक बिचारहरुलाई मिल्क्याई दिएं। अबको जिन्दगी म दु:खि भएर जिउने छैन भनेर मनमनै अठोट गरें । म पहिलो पटक थाइल्यान्ड हनिमुन मनाउन गए जसरी ऊसंग निर्लिप्त भएं । उसको आलिङ्गनमा पुनः समर्पित भएं ।

एक हप्ताको बेइजिङ बसाईमा किङ डाइनेस्टिका म्युजियम डुलियो, तियानमेन स्क्वायर, टेम्पल अफ ह्यावेन घुमियो, अन्डर ग्राउण्ड प्यालेस एन्ड टम्ब देखियो, ग्रेटवालमा शयर गरियो। नाइट क्लबमा अबेरसम्म बसेर टकिला र ककटेल पिइयो।

म अहिलेसम्म भोगेका सम्पूर्ण दुख, कष्ट मातेर रुँदै चिच्याउँदै हिमालको कोखमा बिसाउन चाहन्थेँ। हरेक रात मातेर भावबिव्हल हुँदा हिमालले काँधमा बोकेर होटलसम्म ल्याउँथ्यो। एनिभर्सरीको रात हिमालले मलाई चिटिक्कको औँठी उपहार दियो। भर्खर बैवाहिक जीवनमा प्रविष्ट गरे झैं त्यो रात एकअर्कामा समाहित भयौं। त्यो रातको सामिप्यताले हामी दुबै सन्तुष्ट थियौँ।

लाग्यो संसार भनेको माया गर्नलाई रहेछ, एक अर्काको आलिंगनमा बाँधिनुलाई रहेछ। हिमालसँग बिताएका पलमध्ये मलाई सबैभन्दा महत्त्वपूर्ण त्यो रात लाग्यो, म उसको अँगालोमा रातैभरी बेरिइरहें। छुट्टी मानेर हङकङ फर्किएको ४ हफ्तापछि मेरो महिनावारी रोकियो। ‘ओ यस!! म प्रेग्नेन्ट, यानी हिमालको बच्चाको आमा बन्ने भएँ।’ म गर्भवती भएको कन्फर्म भएदेखी मेरो भुइँमा खुट्टा रहेन। हिमाल मलाई खुशी देखेर दंगदास थियो।

डाक्टर चानले सुस्तरी अल्ट्रासाउण्ड स्ट्रेचरमा सुताइन, पोजिसनमा राखेर रिल्याक्स गर्न भनिन्। डाउन सिन्ड्रम जाँच गर्ने भएर होला अरु बेला जस्तो पिसाब राेकी राख्नुपर्ने झन्झट भएन। हिमाल छेवैमा बसेर मलाई मुसारिरहेको थियो। अल्ट्रासाउण्ड जेल पेटमा दलिसकेपछि टिप्स यताउति घुमाउँदै बच्चाको घाँटी र कुमको लम्बाई, टाउकोदेखि कुर्कुच्चासम्मको नापतौल सबै स्क्रिनमा देखाउँदै डाक्टरले हामीलाई ब्रिफिङ गरिरहेकि थिइन्। हामी दंग थियौं । हिमाल त आँखा नझिम्काइ ट्वाँ परेर स्क्रिनमा नजर गाढेर बसेको थियो। म चाहिं बच्चाले हात तलमाथि गरेको नियालि रहेकी थिएँ।

अचानक मेरो मातृत्व जागेर आयो। आमा बन्ने तृष्णा पूरा हुने भएपछि मेरो शरिरमा खुशीको कम्पन छुट्यो। मेरो आँखाबाट बरर आँसु झर्यो। डाक्टरले मलाई ‘इट ह्यापेन्स, बि ह्याप्पी’ भन्दै आँसु पुछन् टिस्यू बक्स टक्रयाइन। ती डाक्टरलाई के थाहा कि हामीले यो खुशी देख्न १० साल कुर्नु पर्यो भनेर।

हिमाल अँगालो मारेर रोयो। हो, यतिबेला मैले संसारभरको सुख प्राप्त भएको महसुस गरेँ। सन्तान मोह कस्तो हुने रहेछ मेरो हिमाललाई देखेर थाहा भो। मेरो आँसु पुछिदिँदै ‘मलाई बाबा बन्ने सौभाग्य दिएकोमा आभारी छु‘ भन्दै उसले मेरो निधारमा चुम्बन गर्दा म सम्हालिनै सकिन। अँगालोमा गर्लम्म बेरिएँ।

हामी जोइपोइ दंगदास थियौं। हिमाललाई छोरी मनपर्ने, मलाई पनि छोरी नै चाहिएको। तर के हुर्किरहेको छ होला है भन्दै फुर्सद हुनासाथ हिमाल पेटमा कान थाप्न आइपुग्थ्यो। एक बिहान ‘म त छोरीको नाम सोनपरी राख्छु’ भन्यो।

‘धैत, के हिन्दी जस्तो राखेको बरु एन्जल राखौं, दुबैलाई फिट हुन्छ ‘ मैले भनेँ।

हिमालले बजारमा जताततै रंगीन खेलौनाहरु, फिरिरी परेको जामा, ट्रेनमा गर्भवती महिला र तिनलाई सीट छाडिदिएको जस्ता कुरा गर्न थाल्यो। कामबाट थाकेर घर पुग्दा बुढाको मुखबाट यस्तो सुन्दा सारै सुकुन महसुस हुन्थ्यो।

आज शनिबार! मेरो छुट्टी। हिमालको आधा दिन काम। ऊ परैबाट हँसिलो मुहार पार्दै चिठी हल्लाउँदै आईरहेको छ। अस्पतालबाट आएको रहेछ। उसैलाई खोल्न संकेत गरेँ। दुबैले झटपट खोलेर एकैचोटी पढ्यौं। अस्ति अल्ट्रासाउण्ड गरेको रिपोर्ट रहेछ। लेखिएको रहेछ, ‘योर डाउन सिन्ड्रम टेस्ट सिम्स पोजिटिव, प्लिज अरेन्ज अनोदर अपोइन्मेन्ट एज सुन एज पोसिबल।’

चिठी पढ्न भ्याउँदा नभ्याउँदै लत्रक्क भएर भुइँमा लडें। असिनपसिन हिमालले ‘डियर हिम्मत नहार यार अर्को टेस्ट गराएपछि थाहा भैहाल्छ, प्लिज काल्म डाउन‘ भन्दै एक गिलास पानी हातमा थमाईदियो। थर्रर काँप्दै पानी पिएँ र आफूलाई सहज बनाउँदै भित्तामा अडेसिएँ।

तत्काल दोस्रो टेस्टका लागि अपोइन्टमेन्ट मिलायौं। यसचोटीको जाँच जटिल र जोखिमपूर्ण थियो। यस जाँचमा सिभिएस (कोरियोनिक भिल्लस स्याम्पलिङ) अथवा एमाइनोसिन्थेसिस सुईद्वारा पाठेघरबाट ‘अएमाइनो फ्लुइड’ निकालिन्छ। यो प्रक्रियाबाट बच्चा सुस्त मनस्थितिको हो वा होइन भनि क्रोमोजमको जाँचपडताल गरिन्छ। यसबाट गर्भपतन हुने संभावना पनि हुन्छ।

आज हाम्रो धैर्यको बाँध टुट्ने दिन रहेछ। दोस्रो रिपोर्ट पनि ‘डाउन सिन्ड्रम स्ट्रङ्ली पोजिटिव’ आयो। हामीसँग एक अर्कालाई हेरेर रुनु सिवाय केही बिकल्प थिएन। साथसाथै हामीसँग समय पनि थिएन। तुरुन्तै निर्णय गर्नुपर्ने थियो ‘बच्चा राख्ने कि फाल्ने ?‘

त्यसमाथि डाक्टरको शब्द पनि त्यस्तै थियो। डाक्टर हामीलाई भन्दै थिइन्, ‘अगाडि नै थाहा भो राम्रो भो। अपाङ्ग तथा सुस्त:मनस्थितिको नानी जन्माउँदा बाबुआमा र हङकङ सरकारलाई भार मात्र पर्नेछ। तर यति सबै कुरा थाहा हुँदाहुँदै पनि बच्चा राख्न चाहनुहुन्छ भने हामीलाई भन्नु केहि छैन।’

मनमा एउटा प्रश्न आइरहयो– ‘के जानाजान भ्रुणहत्या गर्नु महापाप हैन र? के मैले फेरि आमा बन्ने सौभाग्य पाउँछु होला?‘ चारैतिर अँध्यारो छायो। एकोहोरो अस्पताल नै थर्कने गरि भक्कानिँदै रोइरहेँ। निलोकालो भएको हिमाल चुपचाप मलाई समातेर टोलाइरहेको थियो। उसको बक फुट्यो– ‘समृद्धि बिर्सिदेउ सोनपरीको कथा। भाग्यमा लेखेको छ भने ‘एन्जल’ बनेर फेरि हाम्रो कोखमा आउनेछ। हामी अनन्तसम्म कुर्नेछौं त्यो सुनौलो दिनलाई।’

म लगभग भावशुन्य थिएँ। जिउँदो लाश जस्तो मेरो शरिर अबोर्सन रुममा लगियो। म हलचल नगरी आफ्नो सपना तुहिएको हेरिरहेकी थिएँ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार