त्यतिबेलै बेलायत जित्ने माओको सपना

अनिल विरही शर्मा

बिहानको खाजा र खाना खाने होटल, रेष्टुरेन्ट अलग–अलग छन् । तर, ती दुवै रेनमिन विश्वविद्यालयकै छाताभित्र वरपर छन् । खाना नेपाली जिब्रोले नचिनेर बिरानो–बिरानो अनुभूति भए पनि पेट भने खुसी छ । पिरो, चिल्लो, मसला पेटका लागि भरियाको जीवनजस्तै बोझिलो हुने रहेछ । हाम्रो सेवामा पाँच चिनियाँ मित्र अहोरात्र सतर्कतापूर्वक खटिएका छन् । दोभाषे, फोटो पत्रकार, कार्यक्रम संयोजकसहित तीन महिला र दुई पुरुष छन् तर हरेकले हरेक आवश्यकीय भूमिका पूरा गर्छन् । अतिथि सत्कारमा चिनियाँ सर्वश्रेष्ठ मानिन्छन् । नेपाली समाजले ‘अतिथि देवो भवः’ भन्छ । तर, अतिथिलाई भगवान्सरह मान्ने संस्कार हराउँदै गएको छ । ठूला होटलमा गरिने सत्कार मोटो रकमका लागि दन्तमन्जनको खोलमा हाँसिरहेका दाँतको हाँसोजस्तै नक्कली लाग्छ । चिनियाँ मित्रको सत्कारमा स्वभाविकता अनुभूति हुन्छ । होटलका कर्मचारीसमेत नम्रता र सतर्कतापूर्वक व्यवहार गर्छन् ।
बिहानको खाजा लिँदै गर्दा केही साथी गफिरहेका थियौं । ‘ज्यान बैठकमा, मन भैंसी गोठमा’ भनेझैं ज्यान बेइजिङमा भए पनि मन भने नेपालमै हुन्थ्यो । एकजना पत्रकारले “सीपी मैनाली, बावुराम भट्टराई, नरहरि आचार्य, कृष्ण पहाडीजस्ता संगठनमा चार नभएका ‘मुला चर्चित’ लाई काँधमा चढाएर कुद्ने हामी उल्लु पत्रकारले पनि त समाजलाई बिगारेका छौं नि’ आफ्नै समुदायमा आगो झोस्दै थिए । ‘नेताहरूले मात्र बुझेका छन् ? के हामी केही पनि नबुझ्ने, नजान्ने मूर्ख हौं ? नेताहरूले जिम्मेवारीबोध गर्नु पर्दैन ?’ माधवप्रसाद पौडेल कुन्नि कताको हो आवेग छर्दै थिए । राजादेखि रंकसम्म चौतर्फी आवेग, असन्तुष्टि, आलोचना नेपाली समाजको प्रवृत्ति नै बनेको छ । भयानक हारपछि छितरिएका फौजको जस्तो निराशा र अन्योल छ । सायद बाटो बिराएको देशका नागरिकको मनोविज्ञान यस्तै हुन्छ ।
खाजा खाएर गोष्ठी कक्षतिर जाँदै थियौं । एक सहयात्रीले महिला पुरुषभन्दा बढी संकीर्ण हुन्छन् भन्दै थिए । दैनिक उनको एउटा विषय त्यही हुन्थ्यो । संकीर्णता लिंग, जात, रंगले निर्धारण गर्ने विषय होइन होला । परिस्थिति, परिवेश, चेतनास्तर र जीवनका भोगाइले निर्धारण गर्ने विषय होला । कुवामा बस्ने भ्यागुता र माछाले देख्ने आकास उत्ति नै हुन्छ । महेन्द्र विष्ट ‘उस्तै हो, पुरुष पनि कहाँ कम छन् र,’ भन्दै थिए । ‘चारजना बसेर अर्काको कुरा काट्यो, त्यसमध्ये एउटा हिँड्नासाथ बाँकी तीनाजनाले उसकै कुरा काट्यो । त्यही त हो हाम्रो पनि पारा,’ तीर्थ कोइराला भन्दै थिए । हामी गफिरहेका थियौं । किशोर श्रेष्ठ आइपुगे । उनी आएपछि छलफलले अर्को विषयमा प्रवेश गर्यो । ‘उहाँ को–को चिन्नुहुन्छ ? गौरवलाई चेन्नईमा, किरणलाई सिलगुडीमा र उहाँसहित ११ जनालाई पट्नामा गिरफ्तार गराएर प्रचण्डले १२ बुँदे सहमतिमा हस्ताक्षर गरेको हो,’ मतिर देखाउँदै माधव पौडेललाई भन्दै थिए । ती दिनहरू सम्झिँदा पनि उद्वेलित हुने गर्छु । एकाएक मलाई आफू बेउर जेलको एउटा कुनामा पसिना पुछ्दै लामखुट्टे धपाइरहेझैं लाग्यो ।
बिहान ९ बजेबाट गोष्ठी सुरु भयो । प्रोफेसर ली बाओ सञ्चारका विषयमा चिनियाँ धारणा राख्दै थिए । उनी रेनमिन विश्वविद्यालयका प्रोफेसर हुन् । अन्तत्र्रिmयात्मक नभएर शिक्षक, विद्यार्थी भावमा तीन घन्टा लगातार एकजना मात्र बोलिरहँदा पट्यार लाग्दो भयो । मध्याह्नमा खाना खाएपछि अपराह्न १ः३० मा ‘चाइना युथ डेली’ अध्ययन भ्रमणमा जाने कार्यक्रम थियो दोभाषे फिनिक्सले ‘ढिला नर्गनुहोला है,’ भनेकी थिइन् । निर्धारित समयमा सबैजना लबीमा जम्मा भए । त्यसपछि हामी बसमा चढ्यौं । तालुखुइले चालक सधैंझैं हामीलाई गन्तव्यतिर घिसार्न तयार थियो । बसमा चढ्नासाथ किशोर श्रेष्ठको स्वरमा स्वर थपिएर गुञ्जियो–
“रेशम फिरिरी, रेशम फिरिरी
उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी”
त्यो गीतमा ‘कुन्मिङ महोत्सव’मा थुप्रै देशका सहभागी ‘लेसम फिलिली’ भन्दै रौसिएर नाचेका थिए रे । श्रेष्ठलाई अहिले पनि कुन्मिङ महोत्सवको नशा लागेको हुँदो हो । यो गीतको शब्द गठन सरल भएर होला विदेशी सहजै लठ्ठिने गरेका छन् । यो गीतको बिट नमार्दै किशोर श्रेष्ठले तत्कालीन ‘माले’ कालको लोकप्रिय गीत गाए–
गाई त बाँध्यो, ढुंग्रोमा मोई छैन, मोई छैन
गरिबको चमेली बोल्दिने कोही छैन,
कोही त भने जहाजमा सरर, …
कोहीका भने पसिना तरर हाम्रो नेपालमा”
रमाइलो भइरहेको थियो । हामी ‘चाइना युथ डेली’ को कार्यालयमा पुग्यौं । २७ अप्रिल १९५१ बाट प्रकाशित हुँदै आएको दैनिक अखबारका विषयमा सानो जानकारीमूलक चिर्कटो दिइएको थियो । जसमा लेखिएको थियो– चाइना डेली इज स्टील वन अफ द मोस्ट पपुलर न्युजपेपर एमोङ चाइनिज, एन्ड ह्याज अ पोलोफाउन्ड इनप्याक्टन चाइनिज कन्टेम्पोरोरी पोलिटिक्स एन्ड सोसिअल लाइभ । कार्यालयको भौतिक संरचना भव्य थियो । सुरुमै हामी सो दैनिकका पुराना अंक हेर्न गयौं । भित्तामा टाँगिएका सन् १९५६ को एक अंकमा अध्यक्ष माओको फोटोसहित ‘अबको १५ वर्षभित्र हामीले बेलायतलाई उछिन्नुपर्छ’ उहाँको भनाइ प्रकाशित भएको रहेछ । अध्यक्ष माओले उसबेला गरेको उद्घोष निर्धारित समयमा पूरा नभए पनि अहिलेसम्ममा पूरा भएको छ र अब चिनियाँका आँखा संयुक्त राज्य अमेरिकातिर सोझिएका छन् । विश्वको दोस्रो आर्थिक शक्ति चीन विदेशी मुद्रा सन्चिती, उत्पादन र निर्यातमा प्रथम स्थानमा छ । संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो साहु पनि चीन नै हो । सामरिक शक्तिका दृष्टिले आजसम्ममा अमेरिका प्रथम स्थानमा, रसिया दोस्रो स्थानमा र चीन तेस्रो स्थानमा मानिन्छ । सैन्य संगठनका दृष्टिले चीन पहिलो स्थानमा छ । बेइजिङबाट भागेको कोमिङ्तानलाई पश्चिमाले ताइवानमा स्थापित गरेपछि त्यसलाई चीनले आफ्नो सार्वभौमिक अखण्डतामा हस्तक्षेप ठानेको छ । हङकङ र मकाउ फिर्ता गरे पनि ताइवानको प्रसंगमा चिनियाँ अपमानबोध गरिरहेका छन् । पश्चिमाको उक्साहटमा ताइवानले स्वतन्त्रता घोषणा गर्ला भनेर चीनले सामरिक तयारी बढाइरहेको छ । पश्चिमी संसारमा बढ्दो आर्थिक संकटका कारण उनीहरू भने बर्सेनि रक्षा बजेटको वृद्धिदर घटाउन बाध्य छन् । तर, सन् २०१४ मा अघिल्लो वर्षको तुलनामा चीनले १०.७ प्रतिशत रक्षा बजेट वृद्धि गरेको छ । आजको अध्ययन भ्रमणले माओका विषयमा धारणा फराकिलो बनाउन अझ सहयोग गर्यो । माओलाई सैन्य ज्ञाताका रूपमा हेर्ने पश्चिमा र राजनीतिक रूपमा मात्र हेर्ने आजको प्रचारबाजी गलत महसुस भयो । सन् १९५६ मै अध्यक्ष माओले युरोपको बाघ बेलायतलाई उछिन्ने सपना देख्नु सामान्य विषय थिएन । राजनीतिक अर्थशास्त्रको गहिरो ज्ञान नभईकन क्रान्तिको सफल नेतृत्व गर्न सकिने विषय पनि थिएन । अध्यक्ष माओ चीनका आर्थिक योजनाकार होइनन् भनेर गरिने प्रचार गल्छेंडामा लुकेर गरिने हमलाजस्तो लाग्यो । वास्तवमा अध्यक्ष माओले खनेको जगमा चीन उभिएको छ । पछिल्ला नेताहरूले समृद्धिमा महत्वपूर्ण भूमिका खेलेका होलान् ।
चाइना युथ डेलीको भ्रमणपछि अर्को गोष्ठी रेनमिन विश्वविद्यालयकै पत्रकारिता र सूचना संकायमा थियो । समय घर्केका कारण त्यति राम्रो छलफल भएन । उपहारसहित चिनियाँले स्वागत गरे । गोष्ठीमा विद्यार्थी पनि थिए । चिनियाँ विद्यार्थीले नेपाली सञ्चारका विषयमा जिज्ञासा राखे । टोलीनेता माधवप्रसाद पौडेलले छलफलको बिट मार्दै गर्दा किशोर श्रेष्ठले ‘विश्वविद्यालय बिदा भएको समय शिक्षक र विद्यार्थी मित्र नेपाल भ्रमणमा आउनुहोला । नेपाल बेइजिङबाट धेरै टाढा छैन,’ भनेका थिए । नेपाल र चीनबीच नागरिकस्तरमा सम्बन्ध विस्तारमै उनको ध्यान केन्द्रित हुन्थ्यो ।
आज चीनस्थित नेपाली दूतावासले हाम्रो भ्रमण टोलीलाई रात्रिभोजका निम्ति निमन्त्रणा गरेको थियो । आफ्नो देशको दूतावासबाट स्वागत पाउनु भ्रमण टोलीका लागि खुसीको विषय हो । साँझ ६ बजे हामी दूतावासतिर लाग्यौं । २०१३ मा टंकप्रसाद आचार्य नेतृत्वको सरकारले जनवादी गणतन्त्र चीनसँग औपचारिक रूपमा दौत्य सम्बन्ध कायम गरेको थियो । त्यसअघि नेपाल र तिब्बतबीचमा मात्र यस्तो सम्बन्ध थियो । यद्यपि, नेपाल–चीन सम्बन्धलाई मञ्जुश्री, भृकुटी र अरनिकोसम्म विस्तार गरेर बुझ्नुपर्छ ।

माओले युरोपको बाघ बेलायतलाई उछिन्ने सपना देख्नु सामान्य विषय थिएन । राजनीतिक अर्थशास्त्रको गहिरो ज्ञान नभईकन क्रान्तिको सफल नेतृत्व गर्न सकिने विषय पनि थिएन । अध्यक्ष माओ चीनका आर्थिक योजनाकार होइनन् भनेर गरिने प्रचार गल्छेंडामा लुकेर गरिने हमलाजस्तो लाग्यो । वास्तवमा अध्यक्ष माओले खनेको जगमा चीन उभिएको छ ।

औपचारिक कार्यक्रम थिएन । नेपाली हुनुको भावनात्मक पक्षले रात्रिभोज जुराएको थियो । कार्यक्रममा राजदूत महेश मास्के र टोलीनेता माधवप्रसाद पौडेलले आ–आफ्ना धारणा राखेका थिए । भारतसँग नेपालले ‘बिप्पा’ सम्झौता गरिसकेको छ । तर, चीनले चाहँदाचाहँदै पनि त्यही प्रकारको सन्धि गरिएको छैन । चीन नेपालको सामुदायिक विद्यालयका शिक्षकलाई दक्षता अभिवृद्धि तालिम दिन राजी भएको छ । तर, सरकारले कुनै तदारुकता देखाएको छैन । सरकार विश्वभरि झोली थाप्दै हिँड्छ । छिमेकी चीनका थुप्रै सदासयतालाई उपयोग गर्न सक्दैन । सबैलाई थाहा छ, नेपाल असहिष्णु शक्तिकेन्द्रको दबाबमा परेको छ ।
चीनको सबै पुँजी एक ठाउँमा थुपारेर हेर्दा अमेरिकाको भन्दा बढी देखिन्छ । तर, प्रतिव्यक्ति आय र आधारभूत मानवीय समृद्धिमा चीन पश्चिमी देशभन्दा धेरै पछाडि छ । पूर्व, दक्षिण र पश्चिमी क्षेत्रका बीचमा व्यापक असमानता छ । पछौटे उत्पादन सम्बन्ध कायमै छ । असमानता कायमै छ । समग्र मानव विकास सूचकांक र प्रतिव्यक्ति आयमा श्रेष्ठता हासिल नगरेसम्म पश्चिमी देशसँग चीनको तुलना गर्नु हतारो हुन्थ्यो । यस विषयमा चिनियाँ नेतृत्व सहमत देखिन्छ । धनी र गरिबबीचको बढ्दो खाडललाई चिनियाँ नेताले मुख्य चुनौती नै ठानेका छन् । त्यो खाडल झन्झन् बढ्दै गएको छ । त्यसैले चिनियाँ नेतृत्वले औपचारिक रूपमा भन्दा आफूहरू प्रतिस्पर्धा होइन । आन्तरिक सबलीकरणमा रहेको बताउँछन् । चीन बलियो हुँदै जाँदा परम्परागत शक्तिकेन्द्रमा तनाव सिर्जना भएको देखिन्छ । चीन शान्तिपूर्ण प्रतिस्पर्धाद्वारा नयाँ शक्ति बन्न चाहेको मानिन्छ । पश्चिमी देशले कब्जा गरेको बजार हत्याउने र त्यसको रक्षा गर्ने कार्य बन्दुकको नालभन्दा बाहिरबाट कसरी सम्भव होला ? भन्ने प्रश्न पनि चानचुने छैन ।
आफ्नो बढ्दो आर्थिक, राजनीतिक शक्ति रक्षाका लागि चीनले सामरिक शक्ति विकासमा समानान्तर पहलकदमी गरिरहेको छ । चीन सामरिक रूपले कमजोर भएको बेला उसलाई जापान, बेलायत, अमेरिका, पोर्चुगललगायतका साम्राज्यवादीले चारैतिरबाट गिद्धले झैं लुछेका थिए । आन्तरिक र छिमेकमा अल्झाएर गति अवरूद्ध गर्ने प्रयासलाई चीनले असफल गर्दै गएको देखिन्छ । हालै छेन्दु सहरमा भएको चेम्बर अफ कमर्सको बैठकमा एकज भारतीय प्रतिनिधिले ‘नरेन्द्र मोदीले चीनबाट सिकेर गुजरात बनाएका हुन्, उनै मोदी अहिले भारतका प्रधानमन्त्री भएका कारण धेरै अपेक्षा गरेका छौं’ भनेका रहेछन् । भारत र चीन दुवैको वस्तुगत आवश्यकताका कारण पनि उनीहरूबीचको दूरी घट्दै गएको देखिन्छ । जसरी चीनलाई भारतको बजार चाहिएको छ । त्यसैगरी भारतलाई पनि चीनको बजार आवश्यक छ । दुई देशबीचको बढ्दो व्यापारले परम्परागत शत्रुताको भावना घट्दै र आपसमा फाइदा लिइरहेको नयाँ व्यापारीवर्गको जनमत र भूमिका बढ्दै गएको छ । यस्ता थुप्रै विषय छलफलमा उठेका थिए ।
चिनियाँ जनताको नेपालप्रतिको धारणा कस्तो छ त ? राजदूत मास्के भन्छन्, ‘बुद्ध जन्मेको देश भनेर खुसी हुन्छन् । हामीलाई हेरेर गौतम बुद्धको रङ यस्तै हुँदो हो भन्छन् ।’ नेपाली र चिनियाँ गरी एक दर्जनमात्र दूतावासमा कर्मचारी रहेछन् । राजदूत मास्केले दूतावासको हाता हेर्न पाए हुन्थ्यो भन्दै थिए तर समय घर्किसकेको थियो । आँगनमा तत्कालीन राजदूत टंक कार्की कार्यकालमा गौतम बुद्धको विशाल सुनौलो मूर्ति बनाइएको रहेछ ।
मैले केही नेपाली भाषाका प्रकाशन साथमा ल्याएको थिएँ । नेपाली प्रकाशन, आफ्ना कृति र स–साना भए पनि उपहार विदेश भ्रमणमा उपयोगी हुँदारहेछन् । अबेर बासतिर फक्र्याैं । आज जिब्रोले नेपाली स्वाद पाएर रमाएको थियो । बेइजिङ आएदेखि नै रेनमिन विश्वविद्यालय हाताको वेस्टडिस्ट्रिट रेष्टुरेन्टमा खाइरहेका छौं । विश्वमै कहलिएको चिनियाँ खानाभन्दा दाल, भात, अचार, तरकारी सामान्य नेपाली खानाले आज धेरैलाई सन्तुष्टि दिएको देखिन्थ्यो । त्यसैले त भन्छन् नि ‘वनको चरी वनैमा रमाउँछे’ । संस्कृति भनेको जब्बर हुँदोरहेछ । आज चिनियाँ साथीहरूले पनि हामीसँग नेपाली दूतावासमा खाए । चिनियाँ टोली आ–आफ्नो बासतिर लाग्यो । हामी होटलतिर लाग्यौं । कतिपयको दृष्टि र स्वर दारुपानीले लर्बराउँदै थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार