भारतीय सेनाको जागिर त्यागेर पत्रकारिता

तपाईं लाहुरे कि पत्रकार बन्ने ? भन्ने प्रश्न सोधियो भने धेरैजसो युवाले लाहुरे नै बन्ने उत्तर दिन्छन् । तर, झापाका दीपिन राईमा भने यो कुरा लागू हुँदैन । हिजोआजका युवा लाहुरे बन्न जति आकर्षित छन्, त्योभन्दा बढी पत्रकारिता गर्न आकर्षित उनले पत्रकारिताकै लागि भारतीय सेनाको जागिर त्यागे ।
कुरा २०५१ को हो । त्यतिबेला उनी आईएको पढाइ सकेर बसेका थिए । उनका हजुरबुवा (अम्बरबहादुर राई, जो भारतीय सेना थिए) ले भारतीय सेना हुन कर गरे । हजुरबुवाको जिद्दीका अघि उनको केही लागेन । हजुरबुवाको मन राख्नकै लागि भए पनि भर्ती हुने लहरमा मिसिए । सुरुमा भारतीय सेनाको ‘क्लर्क’ मा प्रतिस्पर्धा गरेका उनले असफल भएपछि लगत्तै ‘जीडी’ मा नाम निकाले । ‘कपाल चिन्डे र छातीमा २१ नम्बर लेखिदिइ त हाल्यो । ११ जीआरको १४ मेरो आर्मी नम्बर थियो,’ उनले

पल्टनमा हुँदा सपनामा पनि रिपोर्टिङ गरेको र समाचार लेखेको देख्थेँ । जसरी भए पनि पत्रकारै बन्ने भित्री इच्छाले पल्टनमा मन अडेन । कसरी नेपाल फर्काैं भन्ने मात्र भइरहन्थ्यो ।

पत्रकार दीपिन राई लाहुर जानुअघि पत्रकारिता गर्थे । ०४९ देखि झापाबाट प्रकाशित ‘विवेचना’ दैनिकमा काम गर्दै आएका उनले भर्ती हुँदासम्म तीन वर्ष पत्रकारिता गरिसकेका थिए । त्यसैबीच, झापाबाटै तिलविक्रम कन्दङ्वाद्वारा प्रकाशित ‘जनचाहना’ साप्ताहिकमा सहसम्पादक भएर काम गरे । केही समय कार्टुनिस्ट (व्यंग्य चित्रकार) पनि भए । भन्छन्, ‘ठूलो आलुमा खोपेर चित्र बनाई काटुर्न बनाउँथे ।’ यसबीच उनले पत्रकारिताको स्वाद चाखिसकेका थिए । पत्रकार बन्ने एकमात्र उद्देश्य लिएका उनलाई हजुरबुवाले लाहुरे बन्न बाध्य बनाए । ‘पल्टनमा हुँदा सपनामा पनि रिपोर्टिङ गरेको र समाचार लेखेको देख्थेँ,’ उनी सम्झन्छन्, ‘जसरी भए पनि पत्रकारै बन्ने भित्री इच्छाले पल्टनमा मन अडेन । कसरी नेपाल फर्काैं भन्ने मात्र भइरहन्थ्यो ।’
पल्टनका तालिम गुरुजी (दलबहादुर लिम्बू) लाई आफ्नो पत्रकारिता गर्ने रुचि रहेको तर हजुरबुवाले जबरजस्ती भर्ती गराएकाले पत्रकारिता गर्न नेपाल फर्कने कुरा पटक/पटक जाहेर गरें । तर, कसाहीको अगाडि राँगो रोएको अर्थ हुन्न भनेजस्तो गुरुजीले उनले भनेको मान्ने कुरै भएन । त्यसपछि पल्टनबाट भाग्नुको विकल्प थिएन । अन्ततः तालिमकै दौरान भागेर नेपाल फर्कें । ६ महिना तालिम गरिसकेको थिएँ । ‘भारतदेखि भर्ती लागेको ठाउँ धरानको घोपा क्याम्पसम्म म हराएको खबर पठाएर खोज्ने काम भयो । तर, पत्ता लगाउन सकेनन्,’ उनले भने, ‘नागरिकताअनुसार दीपेन्द्रकुमार राईको नामबाट भर्ती भएको थिएँ । बाहिर मलाई दीपिन राई भनेर चिन्थे ।’ हजुरबुवा अवकाश हुनुभएपछि उनको मन पल्टनमा अडिएन । भन्छन्, ‘हजुरबुवा नेपाल फर्केपछि पल्टन नै सुनसानजस्तो लाग्यो । कतिखेर भागौँ भन्ने मात्र लागिरह्यो ।’ उनी भागेर नेपाल आए पनि परिवारले नराम्रो ठानेन । किनकि मावली हजुरबुवा (गजबहादुर लिम्बू) ले उनको चिना हेर्दै पल्टनमा पनि ठूलै मान्छे हुने र नेपालमा पनि नाम कमाएरै बस्ने भविष्यवाणी गरिदिएका रहेछन् ।

भर्ती छाडेयता निरन्तर पत्रकारितामै क्रियाशील उनले ०५४ मा तिलविक्रम कन्दङ्वाद्वारा प्रकाशित ‘मुक्ति आवाज’ साप्ताहिकको सहसम्पादक र सात वर्ष कार्यकारी सम्पादकको भूमिका निर्वाह गरे । त्यसपछि केही समय ‘समावेशी’ चलाए । अहिले भने झापाबाट प्रकाशित ‘यलम्बर टाइम्स’ को सम्पादकका रूपमा कार्यरत छन् ।

हजुरबुवा अवकाश हुनुभएपछि उनको मन पल्टनमा अडिएन । हजुरबुवा नेपाल फर्केपछि पल्टन नै सुनसानजस्तो लाग्यो । कतिखेर भागौँ भन्ने मात्र लागिरह्यो ।

उनलाई पत्रकारिताको यति धेरै लत किन लाग्यो ? भन्छन्, ‘०४५ को भूकम्प जाँदा इलाममा कक्षा ७ मा अध्ययन गर्दै थिएँ । भूकम्पबाट घाइते भएकालाई उद्धार गर्न आएको हेलिकोप्टरमा केही पत्रकार पनि थिए । उनीहरूले संकलन गरेको समाचार टेलिभिजन, रेडियो र पत्रिकामा प्रकाशन/प्रसारण भएको देखेँ । त्यसपछि मलाई पनि पत्रकारिता गर्ने रहर जाग्यो ।’
पत्रकारिता गर्दा थुप्रै हन्डर/ठक्कर भोग्नुपरेको उनलाई कहिले तस्करले आक्रमण गरे, कहिले राजद्रोह आरोपमा सताइए त कहिले सेनाले बंकरमा राखेर यातना दियो । ०५४ मा समाचार लेखेकै आधारमा केही इष्र्यालु अवैध व्यापार गर्नेले आक्रमण गरे । टाउकोमा २८ टाँका लगाउनुपर्यो। मेची अञ्चल र सिलगुडी अस्पतालमा ६ महिना बस्नुपर्यो । ०५८ मा समाचार लेखेकै कारण माओवादीले झापाबाट विस्थापित गर्यो । ०६२/६३ को जनआन्दोलनक्रममा राजद्रोह आरोपमा प्रेस काउन्सिलबाट पत्रिकालाई उपलब्ध गराइँदै आएको सुविधा वञ्चित गरियो । त्यतिबेलै माओवादीको मुखपत्र ‘मुक्ति आवाज’ साप्ताहिक चलाएको आरोपमा तत्कालीन शाही सेनाले झापाको चारआली ब्यारेकमा नौ दिनसम्म बंकरमा राखेर यातना दिएको थियो । त्यतिबेला दिएको यातना आज पनि घरिघरि बल्झने उनी बताउँछन् । ‘यति धेरै दुःख पाउँदा पनि भारतीय सेनाको जागिर त्यागेर पत्रकारिता अँगालेकोमा कुनै पश्चाताप छैन,’ उनी भन्छन्, ‘बरु मेरो कलमले समाज र राष्ट्र
रूपान्तरणमा धेर–थोर योगदान पुर्याएकोमा गर्व लागेको छ ।’
पत्रकारिता गरेर लाहुरेजति ‘दाम’ कमाउन नसके पनि उनले ‘नाम’ त कमाएकै छन् । कोठाभरि पुरस्कार र सम्मानपत्रको खात छ । भावुक हुँदै भन्छन्, ‘कहिलेकाहीँ पैसा नहुँदाको पीडा पुरस्कार र सम्मानपत्र हेरेर पनि भुल्ने गरेको छु ।’ उनीसँगै भर्ती भएकाहरू पेन्सन आइसके ।
ती साथीहरूले आफूले कमाएको पैसा के गर्ने ? भनेर उनीसँगै सल्लाह माग्छन् । उनी भन्छन्, ‘यसबाट पनि मैले जे गरे छु

तत्कालीन शाही सेनाले झापाको चारआली ब्यारेकमा नौ दिनसम्म बंकरमा राखेर यातना दिएको थियो । त्यतिबेला दिएको यातना हिजोआज पनि घरिघरि बल्झन्छ ।

पत्रकार राईले किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात धर्म तथा साहित्य उत्थान संघ, स्व. डिकमान विरही पत्रकारिता पुरस्कार, आदिवासी जनजाति उत्कृष्ट पत्रकारिता पुरस्कारलगायत डेढ दर्जन पुरस्कार हात पारिसकेका छन् । उनी काठमाडौंकेन्द्रित पत्रकारितालाई मोफसलमा विस्तार गर्नुको साथै समावेशी मिडिया र मिडियामा आदिवासी जनजातिको पहुँच हुनुपर्ने धारणा राख्छन् । उनले आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा संस्थापक सदस्य/केन्द्रीय उपाध्यक्ष, पत्रकार महासंघ झापाका कोषाध्यक्ष/केन्द्रीय पार्षदलगायत जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रस्तुति : युवराज राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार