नसर्ने रोगबारे पत्रकारलाई तालिम


धादिङ । हर्ट इन्टरनेसनल तथा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङद्वारा धादिङबेंसीमा नसर्ने रोगबारे पत्रकारलाई प्रशिक्षण दिइएको छ ।

पत्रकारले लेख, रचना र समाचारको माध्यमद्वारा रोगी तथा सर्वसाधारणलाई जनचेतना जगाउने, सुसूचित गर्ने भएकाले पत्रकारका लागि एकदिने प्रशिक्षण कार्यक्रम गरेको आयोजक संस्थाले बताए ।

सर्ने रोगभन्दा मुटु, मधुमेह, ब्लडप्रेसर, श्वासप्रश्वास, क्यान्सर, मिर्गौला र मानसिक रोगजस्ता नसर्ने रोगले ६२ प्रतिशत मानिस प्रभावित हुने गरेको र त्यसमध्ये २२ प्रतिशत मुटु रोगी हुने गरेकामा उच्च रक्तचाप, मधुमेह, मदिरापान, धूमपानजस्ता रोगको आपसमा अन्तरसम्बन्ध रहने भएकाले त्यसबारे प्रारम्भिक जानकारी आवश्यक पर्ने बताइएको थियो ।

डा. उमाकान्त तिवारीसहितको विशेषज्ञ टोलीले नसर्ने रोगको तीन जोखिम तत्वमध्ये पहिलोमा उमेर, लिङ्ग र पारिवारिक इतिहास, दोस्रोमा उच्च रक्तचाप, मधुमेह, कोलेस्टोरल, मोटोपना र तेस्रोमा जीवनशैली, धूमपान, मदिरापान, अस्वस्थकर खाना र निष्क्रिय जीवन रहेकाले रोग लागेर उपचार गराउनुभन्दा लाग्न नदिनेतर्फ सजगता अपनाउनु बेस हुने बताएका थिए ।

नसर्ने रोगका कस्ता लक्षण हुन्छन् ? त्यसका लागि कस्ता उपचार विधि अपनाउनुपर्ने हो, सक्रिय तथा स्वास्थ्य जीवनयापनका लागि नियमित व्यायाम तथा खानपिनप्रति दिनुपर्ने ध्यानलगायत विषयवस्तुमाथि श्रव्य दृश्यको माध्यमद्वारा समेत प्रकाश पारिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार