परिवारनियोजन गर्न महिला/पुरुषबीच प्रतिस्पर्धा


पाल्पा । जिल्लामा परिवारनियोजन गर्ने पुरुष र महिला बढ्दै गएका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म एक सय ६९ जनाले स्थायी बन्ध्याकरण गरेको पाइएको छ । जसमा महिला एकसय २१ र पुरुष ४८ रहेका छन् ।

मानिसमा शिक्षा र चेतना विकास हुँदै गएपछि पछिल्लो समय स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्या बढेको हो । आव २०७१/७२ मा दुई सय छ महिला र ९४ पुरुष गरी जम्मा तीन सयले स्थायी बन्ध्याकरण गरेका छन् भने आव २०७२÷७३ मा एक सय ४४ महिला र एक सय ३९ पुरुष गरी जम्मा दुई सय ८३ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार नेपालकै तुलनामा पाल्पामा परिवारनियोजनको अवस्था राम्रो रहेको र यहाँ स्थायी र अस्थायी दुवै परिवार नियोजनका साधन प्रयोग गर्ने महिला पुरुष उल्लेख्य रहेको छ ।

आव ०७२/७३ मा पिल्स प्रयोग गर्ने महिला सात हजार आठ सय ५५, डिपो प्रयोग गर्ने महिला चार हजार एक सय ९०, आर्इयुसीडी प्रयोग गर्ने महिला दुई हजार तीन सय ६४, इम्प्लान्ट प्रयोग गर्ने एक हजार सात सय ९१ रहेका छन् । चालु आवमा हालसम्म पिल्स प्रयोग गर्ने दुई हजार ४८, डिपो प्रयोग गर्ने तीन हजार ५३, आर्इयुसीडी प्रयोग गर्ने दुई हजार तीन सय ८२, इम्प्लान्ट प्रयोग गर्ने दुई हजार ९२ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार