निर्वाचन सफल पार्न मधेसी मोर्चाको माग सम्बोधन आवश्यक


मकवानपुर । उपप्रधानमन्त्री तथा सङ्घीय मामिला र स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चालाई राष्ट्रिय मूल प्रवाहमा ल्याउनलाई प्रमुख दलले दलीय स्वार्थ त्यागेर विवेकशील भएर निर्णय लिनुपर्ने बताएका छन् ।

पार्टी अध्यक्षसमेत रहेका थापाले राष्ट्रिय प्रजातन्त्र मकवानपुरद्वारा हेटौँडामा गरिएको बुद्धिजीवीको भेलालाई सम्बोधन गर्दै मधेसी मोर्चालाई संविधानको कार्यान्वयनक्रममा स्थानीय निर्वाचनमा सहभागी गराउन प्रमुख दलहरुले नै उपेक्षा गर्न नहुने धारणा राख्दै बाह्य शक्तिले दलहरुलाई प्रयोग गर्ने गरेकाले राष्ट्रियतामाथि खतरा उत्पन्न हुने गरेको स्पष्ट पारे ।

उनले मुलुकमा शान्ति, स्थायित्व र सुशासनक लागि स्थानीय निर्वाचन अपरिहार्य रहेको र सबै राजनैतिक दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन सरकार र प्रमुख राजनीतिक दलबीचमा समझदारी हुनु जरुरी रहेको औंल्याए । भेलामा सांसद गणेश थापा र राप्रपा नेता मधु अधिकारीले प्रमुख दलबीचमा आपसी मनमुटाव त्यागेर स्थानीय तहको निर्वाचनलाई सफल पार्न तत्काल मधेसी मोर्चाको मागलाई कार्यान्वयन गर्न सरकार र प्रमुख दलबीच समन्वय र समक्षदारीसाथ अघि बढ्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार