प्रधानन्यायाधीश कार्की अदालत हाजिर


काठमाडौं । सर्वोच्च अदालतले काममा फर्कन अन्तरिम आदेश दिएलगत्तै प्रधानन्यायाधीश सुशीला कार्की अदालत हाजिर भएकी छन् । प्रधानन्यायाधीश कार्कीले शुक्रवार साँझ अदालत हाजिर भई अदालती काम थालेको सर्वोच्च अदालत सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

प्रहरी महानिरीक्षक बढुवा विषयलाई लिएर प्रधानन्यायधीश कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव स्वतन्त्र न्यायापालिकाको मर्मविपरित भएको भन्दै शुक्रवार न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावलाई यथास्थितिमा राखी आजैदेखि काम गर्न/गराउन विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले अन्तरिम आदेश दिएपछि व्यवस्थापिका संसद् र न्यायालयबीच द्वन्द्व झन् चर्कने भएको छ । सत्तारूढ दलले कार्कीविरुद्ध संसदमा दर्ता गराएको महाभियोग प्रस्ताव अघि नबढ्दै सर्वोच्चले अन्तरिम आदेश दिएर काममा फर्किन भनेपछि द्वन्द्व झनै चर्किने भएको हो । व्यवस्थापिका संसदमा विधिवतरुपमा प्रवेश गरिसकेको महाअभियोग प्रस्तावलाई शुक्रवार सर्वोच्च अदालतले रोकेको छ । सर्वोच्च अदालतले संसदको विशेषाधिकारमाथि हस्तक्षेप गरेको भन्दै संसद सचिवालयले न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्को अवहेलनासम्बन्धी कारबाही प्रक्रिया अघि बढाउने तयारी थालेको छ ।

सर्वोच्चको आदेशपछिको अबस्थावारे प्रधानमन्त्री पुष्पकमल दाहा ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार