कोसीको पानी अचाउँदै, संस्कृति लैजाऊँ बचाउँदै

काठमाडौं । किरात समुदायको महान् चाड वैशाखे पूर्णिमा (उँभौली) भव्यतासाथ मनाइँदै छ । किरात बस्तीमात्रै नभएर काठमाडौं उपत्यकामा बसोबास गर्ने किरात समुदायले ‘कोसीको पानी अचाउँदै, संस्कृति लैजाऊँ बचाउँदै’ भन्दै ललितपुरको किरात वन  हात्तीवनमा सांस्कृतिक विधिअनुसार पुर्खा र प्रकृतिलाई पुकार्दै आशीर्वाद मागेका थिए ।

उनीहरूले पुर्खाको आशीर्वाद प्राप्त भइरहोस्, कुनै प्रकारको प्राकृतिक प्रकोप नहोस्, पुर्खाको आशीर्वाद र प्रकृतिको साथले जीवन सुखमय बनोस् भनेर शुभकामना आदाप्रदान गरिरहेका छन् । किरात बस्तीमात्रै नभएर, विभिन्न शीर्षकमा हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, दुबई, कुवेत, जापान, साउदी अरबलगायत पुगेकाले समेत धुमधामसाथ वैशाखेपूर्णिमा मनाइरहेका छन् ।

बुधवार बिहानको ११ बजे ललितपुरको नखिपोट पूर्वप्रधानमन्त्री डा. बावुराम  भट्टरार्इले  उँभौली साकेला, चासुवा तङ्नाम र फोल स्याँदरलाई सम्बोधन गरेका थिए ।

                            मानवकल्याण र शान्तिका लागि बुद्धको उपदेश र मार्गदर्शन प्रेरणादायी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २५६१औँ बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपाली, बौद्ध धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले शुभकामना सन्देश दिँदै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधता हाम्रो आकर्षण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान भएको बताएका छन् ।

मुलुकको बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान एवम् सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेको बताउँदै उनले जनताको लामो सङ्घर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै संविधानको सफल कार्यान्वयनका लागि देश अहिले स्थानीय निर्वाचनमा होमिएको स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले समाजका विविध क्षेत्रमा उठेका मागको सम्बोधन गरी प्राप्त उपलब्धिको जगमा अहिले देखिएका असन्तुष्टिको सम्बोधन गर्दै विकास र प्रगतिसहितको समुन्नत समाज निर्माण गर्न सबैको सकारात्मक भूमिकाको अपेक्षा गरेको बताए ।

नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएका गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताउँदै उनले सन्देशमा भनेका छन्, “शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानवजगत्को कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गरेको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शाश्वत रहेको छ ।”

प्रधानमन्त्रीले “बुद्ध विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उनका विचारहरु विश्वभरि नै धेरै लोकप्रिय हुन सकेका हुन्” भन्दै गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि ठूलो योगदान दिएकाले उनीप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौँ भने । ‘उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुने उनले बताए ।’

प्रधानमन्त्रीले बुद्ध जयन्तीको यस महत्वपूर्ण दिनले हामी सबैलाई बुद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गर्न र सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिल्ने बताउँदै संविधानको सफल कार्यान्वयनसहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन यो दिनले सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना गरे ।

                               ‘बुद्धको उपदेशलाई मन, वचन र कर्मले पालन गरौं’

यसैगरी,  काँग्रेस सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीका अवसरमा बौद्ध धर्मावलम्बीलाई शुभकामना व्यक्त गर्दै बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भइरहेको अन्याय, अत्याचार एवम् सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाऊन् भन्ने कामना दिएका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई कार्यान्वयन र संस्थागत गर्ने क्रममा सबै प्रयत्नरत रहेको उल्लेख गर्दै उनले दिगो शान्तिविना मुलुकको समग्र विकास सम्भव नभएकाले हिंसा, हत्या, अपहरणजस्ता मानव अधिकार विरोधी क्रियाकलाप सदाका लागि बन्द गरिनुपर्ने बताए ।

सभापति देउवाले सन्देशमा भनेका छन्, “शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालन गरौँ, अशान्ति, हत्या र हिंसाको विरोध गरौँ ।”

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार