स्वास्थ्यमन्त्री गगन थापामाथि कपनमा दुव्र्यवहार


काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आइतवार हुने स्थानीय तह निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आममतदातालाई आह्वान गरेका छन् ।

काँग्रेस प्रचार–प्रसार उपसमिति सहसंयोजकसमेत रहेका नेता थापाले शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनमा मतदान गर्ने अधिकारको पूर्ण सदुपयोग गर्न आममतदातामा आह्वान गरे ।

कुनै पार्टीका कार्यकर्ताले वाणिज्यमन्त्री रोमी गौचन थकाली र आफ्ना बारेमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको मिथ्या आरोप लगाएको सम्बन्धमा स्पष्ट पार्दै नेता थापाले भने, “निर्वाचन आयोगको निर्णयअनुसार तोकिएको समयमा मन्त्रीहरुले तोकिएबमोजिमको मात्रै काम गरेको हो ।”

उनले थपे, “मौन अवधिमा मन्त्रीहरुले पनि सरकारी सुविधाको प्रयोग नगरी अन्य नेताहरुजस्तै अनौपचारिक भेटघाट र छलफल गर्न पाउने अधिकार निर्वाचन आयोगले दिएको हो ।”

आफूहरुमाथि लागेको आरोप पुष्टि गर्न चुनौती दिँदै उनले आचारसंहिताविपरीत आफूहरुमाथि हुलहुज्जत भएको भनेर काँग्रेसले नै त्यस्ता व्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी गरेको जानकारी दिए ।

“आफूहरुको तर्फबाट आचारसंहिता उल्लङ्घन भएको भए जुनसुकै कारबाही सामना गर्न तयार छौँ,” उनले भने । निर्वाचन परिणामको पूर्वानुमानका आधारमा हतास र निराश मानसिकतामा रहेका दलका कार्यकर्ताले शनिवार बिहान काठमाडौँको कपनमा आफूमाथि दुव्र्यवहार गरेको उनको टिप्पणी थियो । उनले आइतवार हुने मतदानमा कसैबाट पनि प्रभावित नभई मतदान गर्न र कुनै पनि पार्टीका साथीहरुलाई संयमता नगुमाउनसमेत आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार