१२ विद्यार्थीद्वारा आत्महत्या


नयाँदिल्ली । भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशितपछि शुक्रवारदेखि आइतवारसम्म १२ विद्यार्थीले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेको यो सङ्ख्या भारतको मध्यप्रदेशको मात्रै भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिए। मध्यप्रदेश शिक्षा बोर्डले लिएको कक्षा १० र कक्षा १२ को परीक्षामा सन्तोषजनक नतिजा नआएकाले उनीहरुले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्ने मध्ये तीनजना एउटै बाबुआमाका सन्तान भएको बताइएको छ । भारतको सात्ना जिल्लाको छतरपुर, गुना, इन्डोर, बालाघाट, ग्वालिएर, टिकाम्गार्हा, भिन्द, जवालपुर र भोपाल जिल्लामा घटना भएको प्रहरीको भनाइ छ ।

उनीहरुमध्ये कतिपय विद्यार्थीले घरको ‘सिलिङ फ्यान’मा झुन्डिएर आत्महत्या गरेका र कतिपयले विषालु पदार्थ खाएर आत्महत्या गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

“मृत्यु भएकाको शव परीक्षणका लागि पठाइएको छ,” एक प्रहरी अधिकारीले भने। परीक्षाको नतिजा नराम्रो आएपछि यसरी आत्महत्या गर्ने घटना भारतमा यसअघि पनि हुने गरेको छ ।

प्रदेशस्तरीय परीक्षामा राम्रो नतिजा ल्याउन बाबुआमाले अतिधेरै दबाब दिने गरेकाले राम्रो नतिजा नआएपछि विद्यार्थीले आत्महत्या गरेका हुन् । पश्चिमी राजस्थान प्रदेशको कोटा सहरमा पछिल्लो पाँच वर्षमा मात्रै ७० भन्दाबढी विद्यार्थीले यस्तै अपेक्षित नतिजा नआएपछि आत्महत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार