
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको हटियामा धानबालीमा लाग्ने घाँटीमरुवा रोगबाट धान बाली सखाप भएकाले स्थानीय चिन्तित छन् । दुःख गरी लगाएको धानबालीमा घाँटी सुक्ने, कालो हुने र बोट मर्न थालेपछि स्थानीयको गुनासो बढेको हो ।
स्थानीय किरण वाग्लेका अनुसार हटियाको छमुरे फाँटमा पाँच बिघा खेतमा लगाएको धानको बोट घाँटीमरुवा सङ्क्रमणले नष्ट भएको छ । उनले यो रोगबाट किसान मर्कामा परेको भन्दै कृषि प्राविधिक नै नभएकोजस्तो भान भएको दुःखेसो पोखे। वाग्लेका अनुसार त्यहाँस्थित सातजना किसानको खेतमा यस्तो समस्या देखिएको छ ।
यस्तो समस्या केही समयअघि देखिको हो । आफ्नो पनि १० कट्ठा खेतमा लगाएको धान सबै नष्ट भएको जानकारी दिँदै उनले भने, ‘‘अब त यो खेतमा पाँच केजी धान पनि नआउलाजस्तो छ ।” स्थानीयको सल्लाह र औषधि बिक्रेताको सिफारिसअनुसारको औषधि प्रयोग गर्दा पनि समस्या समाधान नभएको वाग्लेको भनाइ छ ।