पार्टी एकता प्रस्ताव आफैँले राखेको प्रचण्डको खुलासा

 

काठमाडौँ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग पार्टी एकताको प्रस्ताव आफैंले राखेको खुलासा गरेका छन् । पार्टीको पोलिटव्युरो राजनीतिक प्रशिक्षण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।

एमाले उपाध्यक्ष वामदेव गौतमले आगामी संघीय र प्रदेशसभाको निर्वाचनमा वाम तालमेल गर्न प्रस्ताव ल्याएको र सोही प्रस्तावमाथि छलफल गर्दै जाँदा पार्टी एकतासम्मको निर्णयमा पुग्न सफल भएको उनको भनाइ थियो ।

पोलिटव्युरो सदस्यमाझ प्रचण्डले भने, “समाजवादी क्रान्तिको अभियान घिसेपिटे तवरले चल्दैन भन्नेमा हामी पनि पुगेका थियौँ । एमालेका तर्फबाट पनि वामपन्थी आन्दोलनलाई नयाँ आधारमा अगाडि बढाउने भन्ने प्रस्ताव आयो । उहाँहरू माओवादीसँग सहकार्य गर्नुपर्छ भन्ने तहमा आइपुग्नुभयो र एकता संयोजन समिति गठन भयो ।”

एमाले उपाध्यक्ष वामदेवसँग आफ्नो लामो मैत्रीपूर्ण सम्बन्ध रहेको र सो सम्बन्धले पनि एकता प्रक्रियामा सहयोग पुगेको भन्दै उनले विगतमा पनि तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल र झलनाथ खनालसँग पार्टी एकताका विषयमा पटक–पटक छलफल भएको स्मरण गरे ।

संविधानले व्यवस्था गरेको समाजवाद लागू गर्न सानोतिनो शक्तिले काम नगर्ने भन्दै उनले वहत् वाम धु्रवीकरणले मात्रै नेपाली जनताको महान् लक्ष्य प्राप्त हुने विश्वाससाथ एकता प्रक्रिया अगाडि बढाउन आफूहरू सहमत भएको स्पष्ट पारे ।

प्रचण्डले पार्टी एकतालाई समयको आवश्यकता र राष्ट्रिय चाहनाको संज्ञा पनि दिए । भने, “माओवादीभित्र कसरी भयो यस्तो सोच्दै नसोचेको काम भन्ने शंका छ । यो सफल हुन्छ त भन्ने चिन्ता र चासो पनि छ । तर, चुनौती उठाएरै एकता प्रक्रियामा सहभागी हुन लागिएको हो । यसले नेपाल र नेपाली जनताको हित गर्छ । शंका गर्नुको कुनै अर्थ छैन ।”

स्थानीय तह निर्वाचनक्रममै एमालेबाट तालमेलको प्रस्ताव आएको स्मरण गर्दै उनले चार महानगरमध्ये दुई÷दुर्ई वटा बाँडौँ भन्ने विषयमा कुरा भए पनि त्यतिखेर कुरा मिल्न नसकेको तर हाल आएर सफल भएको बताए। उनले नेपालमा छरिएर रहेका सम्पूर्ण कम्युनिस्ट शक्तिलाई एउटै केन्द्रमा ल्याएर समाजवादी क्रान्ति गर्ने लक्ष्यसाथ आफूहरू अगाडि बढेको स्पष्ट पारे । भने, “विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । तर, नेपालका कम्युनिस्टलाई जनताको अपार समर्थन र विश्वास छ । त्यसलाई मर्न दिनुहुँदैन । विभिन्न धारमा रहेका कम्युनिस्टलाई एउटै केन्द्रमा ल्याएरमात्र नेपालमा समाजवादी क्रान्ति गर्न सकिन्छ । समाजवादी क्रान्तिको तयारीमा लाग्ने वैचारिक प्रतिबद्धतासहित पार्टी एकताको तयारीमा जुटेका छौँ ।”

“पार्टी एकता कसैले कसैलाई निल्ने विषय होइन, यो त समान उद्देश्यका लागि वैचारिक एकतासहित नयाँ उचाइमा पुग्ने प्रक्रिया हो,” प्रशिक्षणमा उनले भने, “हाम्रा आ–आफ्नै मान्यता र दृष्टिकोण छन् । त्यसमा अडिएर एकता हुँदैन । एमाले–माओवादी दुवैले बहसको प्रक्रियाद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हामी आफैँ पनि रुपान्तरणको प्रक्रियामा छौँ । कम्युनिस्ट आन्दोलन र सिङ्गो राष्ट्रलाई रूपान्तरण गरेर मात्र विश्वलाई नयाँ सन्देश दिन सकिन्छ ।”

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार