विक्रम चेतनशील राई
गजल
यतै फाट्यो उतै फाट्यो टालें जिन्दगीलाई
गर्नसम्म माया गरें साले जिन्दगीलाई
हत्केलाको बारी हाली उज्यालोलाई जोगाइरहें
सफलताको कामना दियो बालें जिन्दगीलाई
नक्कल गर्न सिपालु छु लालीपाउडर क्रिम घस्न
कहाँ त्यो गोरो हुन्थ्यो कर्मै काले जिन्दगीलाई
पाहुना पो हो कि भनी सत्कार गरें जिन्दगीको
जिन्दगीकै भाडा तिर्दै पाल्नै पालें जिन्दगीलाई
जन्मेपछि मर्नैपर्छ मर्नदेखि डर लाग्दैन
यमराजलाई भेट्न जा भन्न थालें जिन्दगीलाई