
उनी रहिछन्, भरतपुर महानगरपालिका–१० की ललिता सापकोटा, ६९ । घर पुग्दा उनी भर्खर तरकारी बेचेर फर्किएकी थिइन् । उनले पटक–पटक साइकलको वर्णन गरिन् । अचम्मको कुरा, उनलाई साइकल चलाउनै आउँदो रहेनछ । डोर्याउन सिक्न मात्र दुई दिन लागेछ । “पहिला थाप्लोमै बोकेर बिक्री गर्न लैजान्थें, टाउकाले निकै सास्ती खेपेको थियो,” उनले भनिन्, “अहिले यही साइकलको भरमा बाँचेकी छु ।”
हुन पनि उनी बिहान ४ बज्न नपाउँदै उठ्छिन् । नुहाइधुवाइ गरेर पूजापाठ सक्छिन् । त्यसपछि साइकलमा सानो डोको अड्याएर उनी नारायणगढको मण्डीबाट तरकारी उठाएर भरतपुरका होटल र घर चाहर्छिन् । यही उनको दैनिकी हो ।
उनीसँग दुई घन्टा गफिने मौका मिल्यो । भोलिपल्ट तरकारी बिक्री गरिरहेको उनको फोटो खिच्नु थियो । त्यसका लागि हाकिमचोकमा बोलाइन् । मैले फोटो खिचेँ । आमाको मिहिनेत देखेर मलाई पनि तरकारी किनेर सहयोग गर्न मन लाग्यो । निगुरो समातेँ । तर, पैसा दिन खोज्दा उनले लिन मानिनन् । उल्टै ‘पैसा दिने भए मेरो फोटो क्यामेराबाट मेटाउनूस्, मेरो समाचार नलेख्नूस्’ भन्दै कड्किन थालिन् ।‘
तपार्इं मेरो छोरोजस्तो, आमाले दिएको तरकारी सम्झेर खानू’ भन्दै उनी हातमा निगुरो थम्याएर साइकल डोर्याएर अघि बढिन् । मन भारी भयो । ५० रुपियाँको निगुरो हातमा थम्याइदिँदा एक हजार रूपियाँ नै राखिदिएजस्तो भयो ।
नेपालबाट