शुभ मुकारुङ
गीत
मायाको यो बैना सम्झी औंठी राखुँला
फर्किआउनू कसम होला पर्खी बसुँला
सम्झी रोएँ अनि सहें एक्लोपनको पीडा
कसको मन पो ढुंगा बन्ला विछोडिने बेला
यति धेरै माया दियौ साँचिरहुँला
फर्किआउनू कसम होला पर्खी बसुँला
पाइला सार्नु हतार होला हिँडिजानेलाई
त्यही हतार चोट बन्छ पर्खिबस्नेलाई
गोरेटोमा आँखा टोलाई आँसु पुछुँला
फर्किआउनू कसम होला पर्खी बसुँला