खोटाङ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका १० राजनीतिक दलसम्बद्ध उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रदेशसभा–१ काङ्ग्रेसबाट सुवासकुमार पोखरेल र प्रदेशसभा–२ बाट विष्णुकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् ।
पूर्वसांसद सरस्वती बजिमयले काँग्रेसबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको एमालेले प्रदेशसभा–१ का लागि एमालेका राजन राई र प्रदेशसभा–२ का लागि माओवादी केन्द्रका पूर्वसांसद रामकुमार राई ‘पासाङ’ को उम्मेदवारी परेको छ ।
एमाले–माओवादी केन्द्रका साझा उम्मेदवार विशाल भट्टराईले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी, संघीय समाजवादी फोरमबाट प्रदेशसभा १ र २ का लागि क्रमशः नवीन राई र टंक थापाका साथै प्रतिनिधिसभाका लागि डा. कृष्णकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् ।
नयाँ शक्ति नेपाल प्रदेशसभा–१ र २ बाट क्रमशः मोहन गुरुङ, मणि राई र प्रतिनिधिसभाका लागि कृषिविद् मदन राईले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा–१ र २ बाट मालेका क्रमशः नेत्रबहादुर कटुवाल र पूर्वसांसद कुलप्रसाद शर्मा फुयाँलको उम्मेदवारी परेको छ भने उसले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएको छैन ।
त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभाका लागि विश्वास राई, राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट धर्मराज पोखरेल र राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राईले उम्मेदवारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलका अनुसार, मङ्गोलियन नेसनल अर्गनाइजेसनबाट वीरलाल राईले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका हुन् ।
आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काँग्रेस, माओवादी केन्द्र, एमाले, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति, माले, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति र मङ्गोल नेसनल अर्गनाइजेसनको सहभागिता रहेको छ ।