गोलभेंडाको भाउ बढ्यो भनेर तनावमा हुनुहुन्छ ? रक्तचाप बढ्ला नि !

बलराम चौलागार्इं

हाम्रो शरीरको महत्वपूर्ण अंग मुटुको नियमित रूपमा खुम्चने र फुक्ने प्रक्रियालाई धड्कन भन्ने गरिन्छ । मुटुलाई मानव जीवनको चक्र चलाइरहने भित्री पम्पका रूपमा लिने गरिन्छ । यस प्रणालीद्वारा प्राणी मात्रको विभिन्न अंगमा शुद्ध रगत पुर्याउने र त्यहाँस्थित प्रदूषित रगतलाई मुटुसम्म ल्याएर पुनः शुद्धीकरण गर्ने कार्य जन्मदेखि मृत्युपर्यन्त चलिरहन्छ । खुम्चने प्रक्रियालाई सिस्टोलिक र फुक्ने प्रक्रियालाई डाइस्ट्रोलिक भनेर चिकित्साविज्ञानले परिभाषित गरेको छ ।

सिस्टोलिकमा रक्तचाप पारोको ९० मिमिदेखि १३० मिमिसम्म र डाइस्ट्रोलिकमा पारोको ६० मिमिदेखि ८० मिमिसम्मको नाप चिकित्साविज्ञानले कायम गरेको छ । यो एउटा स्वस्थ मानिसमा देखिने औसत नाप हो । योभन्दा तलको नापलाई न्यून रक्तचाप र बढी भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ । यी मापहरू औसत भएकाले यसमा घटबढसमेत हुने हुँदा एकपटकको सामान्य नपाइमै कसैलाई रक्तचाप घट्यो वा बढ्यो भनेर भन्न मिल्दैन । तनावमा बढ्ने र शान्त वातावरणमा रहँदा रक्तचाप घट्ने गर्छ ।

के रक्तचाप केही तल–माथि हुँदैमा आत्तिनुपर्छ त ?

छोटो उत्तरमा भन्नु पर्दा पर्दैन । हिजोआज प्राकृतिक जीवनशैलीबाट विलासी एवम् सहर, तडकभडकपूर्ण जीवनशैली अँगाल्ने मानिस दिनानुदिन बढ्दै गएको तथ्य हामीसामु छर्लंग छँदै छ । शारीरिक कसरतको खडेरी, विषाक्त तेल, मासु आदिको अधिक सेवन, धेरै किसिमका नुनिला पदार्थ सेवन, अत्यधिक तनावमा रहनाले यदाकदा रक्तचाप माथि उठ्न सक्छ । यस अतिरिक्त मोटोपना, वंशाणुगत, रक्तनलीहरूमा कडापन देखापर्नु जस्ता कारण पनि रक्तचापका कारक तत्व बन्न पुग्छन् । चिकित्साविज्ञानले आजसम्म ९० प्रतिशतभन्दा बढी उच्च रक्तचापका कारण यही हो भनेर भन्न सकेको छैन । मृगौला र कण्ठग्रन्थी (गलगाँड) का रोगीका अतिरिक्त रक्तनली साँघुरिएको अवस्थामा पनि रक्तचाप उच्च हुन पुग्छ । यसका साथै गर्भावस्थामा आमालाई टक्सिमिया नामक रोग लाग्दा पनि रक्तचाप उच्च हुन्छ ।

रक्तचाप नापको

रक्तचापको नाप लिन थालेको धेरै लामो अवधि भइसक्दा पनि यसको विश्वसनीयता र व्यक्ति–व्यक्तिमा भिन्नता पाइने गरेको हुँदा यस विषयमा अझै चर्चा–परिचर्चा हुने गर्छ । रक्तचाप नाप लिने सवालमा लिने मानिसको श्रवणशक्तिको दोष, यान्त्रिक गडबडी र लिने बेलामा वातावरणीय प्रभाव, नापिनुपर्ने व्यक्तिमा विद्यमान डर, त्रास, चिन्ता आदिका कारण पनि रक्तचापको नाप तल–माथि देखिन सक्छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार तीन मिनेट अवधिमा सिस्टोलिक र डाइस्ट्रोलिक दुवैको नाप कम्तीमा पनि तीनपटक लिनुपर्ने हुन्छ ।

रक्तचाप घटबढको सामान्य तालिका निम्नानुसार छ ।

उच्च रक्तचापका लक्षण के–के हुन् ?

धेरै–धेरै उच्च रक्तचाप हुने मानिस पनि विनाशारीरिक लक्षण भेटिने गर्छन् । यसको मतलब उनीहरू रोगमुक्त भएकै हुन्छन् भन्न सकिन्न । यसलाई सुषुप्त ज्यानमारा रोग भनेर पनि व्याख्या गर्ने गरिन्छ । अतः हामी सबैले समयमै होश पुर्याएर सावधानी अपनाएको खण्डमा यो रोगबाट आत्तिनु पर्दैन । झनक्क रिस उठ्नु, टाउको दुख्नु, रिंगटा लाग्नु आदिलाई उच्च रक्तचापको पूर्वानुमानका रूपमा लिन सकिन्छ । यसो भए पनि रक्तचाप हुनेमा यी लक्षण नदेखिन सक्छन् । तपाईं–हामीमध्ये कसैलाई बिहानीपखतिर बढी टाउको दुख्न थाल्यो, नाकबाट रगत बग्न सुरु भयो, रिंगटा लागेर आँखा मिर्मिराउन थाल्यो भने कतै रक्तचाप पो बढ्यो कि भनेर चिकित्सकसँग सल्लाह लिनु राम्रो हुन्छ ।

रक्तचाप व्यवस्थापन

(१) नुनको मात्रा कम गर्ने (२४ घन्टाभित्रमा पाँच ग्रामभन्दा कम) ।
(२) तौल बढी भएमा शारीरिक व्यायाम गरेर, तेलको मात्रा घटाएर, कार्बोहाइड्रेडयुक्त खानाको मात्रा घटाएर प्रोटिनयुक्त खाना सेवन गरेर तौल घटाउने ।
(३) धूमपान र मद्यपान रोक्ने ।
(४) गर्भनिरोधक खाने चक्की र तीनमहिने सुई पनि रोक्ने ।
(५) चिकित्सकको सल्लाहअनुसार आवश्यक औषधि सेवन गर्ने ।
(६) रक्तचाप बढी तर चिकित्सकले औषधि खानु आवश्यक छैन भनेमा पनि महिनाको कम्तीमा एकपटक तीन महिनासम्म चिकित्सकको सल्लाह लिने ।

व्यवस्थापनको मुख्य लक्ष्य भनेको उच्च रक्तचापलाई १३०/८० र १४०/९० को बीचमा राख्नु हो । रक्तचाप १८०/११० पारोको मिमि वा सोभन्दा माथि गएको खण्डमा मृगौला, मुटु, आँखामा आघात पुर्याउनुको अतिरिक्त हृदयाघातसमेत हुन सक्ने सम्भावना रहने हुँदा उच्च रक्तचापको जोखिममा रहेका व्यक्तिले सावधानी राख्नुपर्छ ।

समस्याका रूपमा उच्च रक्तचाप

हुन त उच्च रक्तचाप नसर्ने रोग हो । तापनि यो हालका केही वर्षयता जनस्वास्थ्य समस्याकै रूपमा अगाडि बढिरहेको छ । मूलतः खानपान र जीवनशैली परिवर्तनका कारण रक्तचाप बढ्न गई मनोवैज्ञानिक असर पर्न गएर मानसिक तनावको स्थितिसमेत आउने गर्छ । अतः मानसिक तनावले उच्च रक्तचाप निम्ताउने र उच्च रक्तचापले पुनः मानसिक तनाव बढाउने हुँदा यी दुवैलाई एक–अर्काका परिपूरकका रूपमा समेत हेर्ने गरिन्छ । बजारमा गोलभेंडाको भाउ बढ्यो भने पनि तनाव, छोराछोरीले राम्रोसँग पढ्न नसके पनि तनाव, जता हेर्यो त्यतै तनाव, अनि रक्तचाप नबढोस् किन ? यी सबै समस्याको समाधान हामीसँग छ । सकारात्मक सोच–विचार राख्ने, ध्यान, योगा आदि गर्ने, सागपात र फलफूलजस्ता रेसायुक्त खाद्यपदार्थ खाने, संगीत सुन्ने, जोसँग पनि खुलेर बोल्ने, हँसिलो मुहार राख्ने आदत बसाल्नु रक्तचापलाई टाढा राख्ने मन्त्र हुन् । ठुल्ठूला साधनसम्पन्न अस्पताल, डिग्रीवाल डाक्टरको भीडमा जानुभन्दा पहिले जीवनशैलीमा परिवर्तन ल्याउनु रक्तचाप घटाउन उपयोग मानिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार