राजुविक्रम चाम्लिङ
बीसौं शताब्दीको विश्वसमाज, विकासलाई आधार मानेर लम्केको छ । तर, एक्काइसौं शताब्दीको समाज भने विकासमात्र होइन, पहिचानसहितको विकासमा अगाडि बढिरहेको छ । चाहेर होस् वा नचाहँदा पनि विश्वसमाजले अभ्यासमा ल्याइरहेका छन् । सबै समाजले विकाससँग पहिचान स्थापित गर्न थालेका छन् । पहिचानविनाको विकासको अर्थ रहँदैन । यसको प्रभाव विकासोन्मुख राष्ट्र नेपालमा पनि परेको छ ।
नेपालमा जातीय हिसाबले अग्रस्थानमा रहेका ब्राह्मण र क्षेत्रीले पनि आफ्नो नेतृत्व, क्षमता र विकासका आधारमा नेपालको प्रथम र दोस्रो जातिगत समुदाय भए पनि उनीहरुलाई त्यतिले पुगेन । यसकारण उनीहरुले पछाडि पारिएका समुदाय आदिवासी जनजाति, दलित, मधेसीहरु जस्तै पहिचानसहितको विकासमा अग्रसर भएका छन् । यसको प्रत्यक्ष अभ्यास ब्राह्मण समाज, क्षेत्री समाज साथै त्यसभित्रको पनि गौतम, कटुवाल समाजलगायत गोत्र, थरअनुसारको समुदाय गठन गर्दै आफ्नो पहिचान स्थापित गर्दै संगठित हुँदै अगाडि बढेको छ ।
जातीय तथा विकासको हिसाबले प्रगतिशील समुदाय मानिने जाति पनि आफ्नो पहिचान स्थापित गर्न तल्लीन छन् भने विकासको हिसाबले पछाडि रहेको पूर्वको कर्णाली भनेर चिनिने खोटाङ त्यसको पनि कर्णाली क्षेत्र मानिने हलेसी क्षेत्र, हरेक हिसाबले पछाडि रहेको छ । यसै यथार्थतालाई मनन गर्दै हलेसी क्षेत्रको विकास गर्न, त्यस क्षेत्रमा रहेको आदिवासी समुदाय जो आफ्नो मौलिक परम्परा आधुनिकतासँग हराउँदै गएको अवस्थामा त्यस भेगअन्तर्गत हलेसी–तुवाचुङ नगरपालिकाका समुदाय त्यस क्षेत्रको विकासका लागि हातेमालो गर्दै पाइला चाल्ने प्रयत्नमा छन् ।
कुनै समय किराती राजासमेत रहेको त्यस क्षेत्रमा हाल कथामा मात्र सीमित रहेको छ । राज्यको पहुँच र विकासबाट धेरै टाढा रहेको त्यस क्षेत्रमा त्यहीँको स्थानीय समुदायबीच आपसमा सहकार्य गरेर त्यस क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक, भाषिक, राजनीतिक, भौगोलिक विकासका लागि तथा आफ्नो पहिचान स्थापनाका लागि सामूहिक रुपमा संगठित हुँदै लागिपरेका छन् । जसलाई होलैसुङ (पितृ पुर्खा राजा) समूहको नामले पचिरित हुँदै अगाडि बढिरहेको छ । यस समूहले आफ्नो पहलमा तथा अन्य सबैको सहयोगमा हालको हलेसी–तुवाचुङ नगरपालिका–५ छापडाँडा दलश्वर राई चोकदेखि उदयपुर जिल्लासँग जोडिने ख्रोपा बतासेसम्मको १३.२७ किलोमिटरको सडक निर्माण गर्न सफल भएको छ । समूहको पहलमा निर्माण गरिएको उक्त सडक उदयपुर तथा अन्य छिमेकी जिल्लाबाट हलेसी दर्शन गर्न, काठमाडौंबाट जिल्ला फर्कन सजिलो भएको छ । यसैगरीु होलैसुङ राजाको सन्तानको नामावलीसहितको खुला चौतारी, होलैसुङ पार्क आदि निर्माणकार्य सम्पन्न गरिसकेको छ । समूहको पहलमा स्थानीयको सहयोगमा निर्माण गरिएको काम ज्यादै उदाहरणीय छ । यसको प्रत्यक्ष प्रभाव अन्य जिल्ला तथा समुदायमा समेत परेकाले जनताको सामूहिक प्रयासबाट अन्य विकासे काम अगाडि बढिरहेको छ ।
समूहले समूहमा रहेका सदस्यले आफ्नो निश्चित क्षेत्रमा विज्ञता प्राप्त गर्न तथा सबै क्षेत्रलाई समेट्नेगरी पहिचानका साथै समाज
विकासमा टेवा पुग्ने हिसाबले काम अगाडि बढाउन प्रयत्नरत छन् । यसले हलेसी–तुवाचुङ नगरपालिकाको ११ वटै वडामा विकासे काम गर्ने योजना बनाइरहेको छ । जसमा सामाजिक विकासका लागि जनकराज राईले नेतृत्व गर्नेगरी जिम्मेवारीसाथ अगाडि बढिरहेको छ । राईको नेतृत्वमा १३.२७ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ ।
विषादी प्रयोग गरेर उत्पादित खाद्यान्नले मानव स्वास्थ्यमा असर गर्ने भएकाले परम्परागत खेतीप्रणालीलाई आधुनिकीकरण गर्दै नरेन्द्र राई अर्गानिक उत्पादनमा लागिपरेका छन् । समूहकै हेमबहादुर राईले बाबुआमा गुमाएका तथा सडक बालबालिका लागि शिक्षा तथा बास व्यवस्थापन सामाजिक संस्थामार्फत समाजसेवा गर्दै आएका छन् ।
त्यतिमात्रै होइन, नेपालीका जातिविशेषको पहिचान राई चाम्लिङसँग सम्बन्धित मुन्धुम जुन चाम्लिङ परम्परागत रुपमा पुस्ता हस्तान्तरण हुँदै आए पनि हाल युवा पुस्ताले बेरोजगारीका कारण यसलाई बेवास्ता गर्दै आएको र मुन्धुम हराउँदै गएकाले यसलाई खोज अनुसन्धान गर्ने काम भोगीराज चाम्लिङले गर्दै आएका छन् । चाम्लिङ, राई, किराती जातिभित्र मात्र नभएर अन्य आदिवासी जनजाति, दलित, मधेसीलगायत सबै नेपाली समुदायमा आफ्नो पहिचान, मुन्धुमलगायत अन्य पहिचान संरक्षण गर्न अनुसन्धान गर्दै संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।
भाषिक क्षेत्रमा आफ्नो योग्दान पुर्याउँदै आएका तिलक चाम्लिङले चाम्लिङ भाषामा पत्रिका सितिमी चलाउँदै आएका छन् । यसले चाम्लिङ भाषा संरक्षण गर्दै देशको भाषा संरक्षणमा योग्दान तथा उदाहरण प्रस्तुत गरेको छ ।
साहित्यिक क्षेत्रमा विक्रम चेतनशील राई लोभलाग्दो नाम हो । राईले लामो समयदेखि साहित्य लेख्दै आएका छन् । उनको हालै ‘तुवाचुङ’ नामक गजलसंग्रह प्रकाशित छ । तुवाचुङमा समेटिएका गजल नेपाली, चाम्लिङ राई, अंग्रेजी र किरात लिपिमा प्रकाशित छ । प्रकाशित गजलसंग्रहमा समेटिएका गजलले मूल्यमान्यतालाई कम आँक्न मिल्दैन ।
झन्डै बीस वर्षदेखि पत्रकारिता गर्दै आएका दीपेन्द्र राईसमेत होलैसुङ समूहमा छन् । जनआस्था साप्ताहिकदेखि थालेको राईको यात्रा गोरखापत्र दैनिक र रातोपाटी डटकमसम्म जारी छ । पत्रकारिता क्षेत्रमा उनले राष्ट्रियस्तरमै योगदान पुर्याउँदै आएका छन् ।
शैक्षिक क्षेत्रमा माध्यमिक, उच्चमाध्यमिकदेखि स्नातक तहसम्म वाणिज्यशास्त्रलगायत विषयको पाठ्यपुस्तक लेखनमा रहेका कैलाश राई होलैसुङ समूहको लोभलाग्दो नाम हो । राईले समूहको आर्थिक पाटो सम्हाल्नेछन् ।
वास्तवमा जनताको अधिकार राज्यसँग जोडिएको हुन्छ । राज्यसँगको अधिकार स्थापित गर्न राज्यको कर्मचारीतन्त्रमा समेत आफ्नो पहुँच राख्न आवश्यक छ । यसकारण यस समूहका प्रतिनिधिहरु अधिकृतस्तरसम्मका पहुँच पुगिसकेका छन् । जसमा भूपेन्द्रकुमार राई, जीवनचन्द्र राई, शकुन्तला राई, नवीन राईलगायत सरकारीस्तरमा कार्यरत छन् ।
राज्यसँगको प्रत्यक्ष सम्बन्ध राजनीतिक पार्टीसँग नै रहेको हुनाले यस समूहका पंक्तिकार (राजुविक्रम चाम्लिङ) सहित युवापुस्ता राजनीतिक सहभागितामा समेत लागिपरेका छन् । यसकारण होलैसुङ समूहले सांगठनिक रुपमा सहकार्य गर्न सुरु गरेको पाँच वर्षमा सामूहिक प्रयास तथा प्रयत्नलाई मूल्यांकन गर्दा सोचेजति सफलता हात पार्न नसके पनि सकारात्मक कामको थालनी गर्दै छलाङ मार्न सफल भएकोमा समूहसम्बद्ध तथा स्थानीय खुसी छन् । त्यसैलाई बल पुग्नेगरी कवि तथा गजलकार विक्रम चेतनशील राईको हालै प्रकाशित गजलसंग्रहमा समेटिएको गजलले यसो भन्छ :
धेरै हेरियो कालो, सेतो रङहरू अब रातो देखाउँछु
मेरो गाउँ आउनूस् है म तपाईंलाई बाटो देखाउँछु ।
सरकार कुर्दैन मेरो गाउँ ठोस परिवर्तनका लागि
विकास र आत्मनिर्भरताको एउटा पाटो देखाउँछु ।
आस्था फरक होला गन्तव्य एउटै छ गाउँलेहरूको
वैमनस्यता कुट्ने ढिकी, पिस्ने जाँतो देखाउँछु ।
कलेजोलाई अन्याय छ सहरको रासायनिक खानाले
ताजा छ, स्वस्थ छ मेरा गाउँको गाभा आँटो देखाउँछु ।
अनार, नासपाती, सुन्तलाले सुन फलाउँछु भन्छ
अन्नसँगै सद्भाव फल्ने दुर्छिमको माटो देखाउँछु ।