ताप्लेजुङ । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धन लोकतन्त्र विरोधी शक्तिका रूपमा एक भएको आरोप लगाएका छन् ।
काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले ताप्लेजुङबाट काँग्रेसको चुनावी अभियान सुरु गरेका छन् । उनले शनिवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा काँग्रेस ताप्लेजुङद्वारा आयोजित आमसभा सम्बोधन गर्दै वाम गठबन्धन लोकतन्त्र, जनता र संघीयताविरोधी रहेको जिकिर गरे । उनले कम्युनिस्ट शासन स्थापना भए जनताको दिनचर्या त्रासदीपूर्ण हुने बताए ।
‘काँग्रेसबाहेक कुनै शक्ति प्रजातान्त्रिक पक्षधर नभएको भन्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लोकतन्त्रको रक्षार्थ कम्युनिस्टलाई पराजित गर्न उनले सुझाए ।
‘निर्वाचन लोकतन्त्र र साम्यवाद रोज्नेबीचको प्रतिस्पर्धा हो,’ उनले भने, “जनता लोकतन्त्रविरोधी छैनन् । त्यही भएर साम्यवाद उनीहरूको रोजाइमा पर्दैन, त्यसैले काँग्रेसको जित सुनिश्चित छ ।”
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख बालकृष्ण खाँणले यसपटक काँग्रेस एकताबद्ध भएर चुनावमा होमिएकाले आफ्नो पार्टीको जितलाई कसैले रोक्न नसक्ने दाबी गरे।
ताप्लेजुङबाट काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार केशवप्रसाद दाहाल र प्रदेशसभा उम्मेदवार लीलादेवी बोखिमले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा आफूहरुले जित हासिल गर्ने भन्दै ढुक्क भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गरे।
प्रधानमन्त्री देउवाले आमसभा सम्बोधन गर्नुअघि पाथीभराको दर्शन गरेका थिए ।